- नेपाली विज्ञापनको स्वरूप अहिले होर्डिङ बोर्ड, डिजिटल माध्यम तथा विशेष इभेन्ट (आयोजन/कार्यक्रम) मा व्यापक हुँदै गएको छ ।
- नेपालमा विज्ञापनको क्षेत्र मात्रै फराकिलो भएको छैन, दक्षता र स्तरीयता पनि बढ्दो छ ।
- विज्ञापनकर्मीका सिर्जनशीलताले यहाँका सञ्चार माध्यममा मात्रै होइन, विदेशमा समेत ठाउँ पाउन थालेका छन् ।
- ‘विज्ञापनको छपाई १ बाजिमात्र छपाउन्यालाई १ पंक्तिको ।ऽ (चार आना) दोश्रो बाजिलाई = (तीन आना) धेरै बाजि छपाउन्याले बन्दोवस्त छापाखानामा सूचना दी दर्याफ्त गर्नु होला ।’
- गोरखापत्रको ग्राहक बन्न, समयमै शुल्क तिर्न, बन्दव्यापार बढाउन अनेक खालका विज्ञापन प्रकाशन हुँदै जाँदा नेपालभित्र तथा बाहिरबाट पनि विज्ञापन आउन थालेका हुन् ।
- विसं १९६१ भदौ २६ गते प्रकाशित ‘बाइसिकल ! बाइसिकल !!’ शीर्षकको रु .१८० पर्ने सेन्टिनल स्पेसियल साइकल र रु .१५० पर्ने मन्ट्रोस नाम साइकलसम्बन्धी विज्ञापन यतिखेर स्मरणीय बनेको छ ।
नेपाली पत्रकारिताको यात्रामा गोरखापत्रको ऐतिहासिक विशिष्ट स्थान छ । आज पनि अखबारको पर्यायका रूपमा गौरवान्वित गोरखापत्र नेपाली विज्ञापनको इतिहासमा पनि उत्तिकै महìवपूर्ण छ । अझ भन्ने हो भने गोरखापत्र र नेपाली विज्ञापनको सम्बन्ध नङमासु सरह रहेको छ ।
गोरखापत्रको प्रकाशनकालदेखि पत्रकारिता तथा विज्ञापन दुवै लामो दुरीका सहयात्री बनेका छन् । गोरखापत्रले आफ्नो प्रकाशनकालदेखि पत्रकारिता र विज्ञापन दुवैलाई समयानुकूल आयाम उपलब्ध गराउँदै आएको छ ।
नेपाली पत्रकारिताको मुहान बनेको गोरखापत्र नेपाली विज्ञापनको पनि ऐतिहासिक स्रोत हो । विज्ञापनका लागि गोरखापत्र स्रोत मात्र नभई निरन्तर प्रवाहशील सुरम्य नदीसमेत बनेको छ । उदारमना प्रधानमन्त्री देवशमशेर राणाको सदीक्षा र सक्रियताका कारण विसं १९५८ वैशाख २४ गते मुलुकमा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो ।
तत्कालीन परिवेशमा नेपालमा अखबार प्रकाशन हुनु युगान्तकारी पक्ष थियो । जनतालाई शिक्षा, चेतना र देश दुनियाँको खबरबाट टाढै राख्न चाहने त्यतिखेरको शासकीय प्रवृत्तिविपरीत देवशमशेरले अभूतपूर्व काम गरेकै हुन् । वर्तमानमा उभिएर हेर्दा त झन् गौरवशाली पाटो दृश्यमान हुन्छ । त्यतिबेला दक्षिण एसियामा छापिने गरेका अखबारमध्ये अहिले हातका औँलामा गन्न मिल्ने जति मात्रै जीवन्त छन्, तिनमा गोरखापत्र पनि एक हुनु राष्ट्रिय कीर्तिको विषय बनेको छ ।
प्रकाशनका दृष्टिले गोरखापत्र नेपालको पहिलो प्रकाशन भने होइन । यसअघि १९५५ साउनमा ‘सुधासागर’ नामक साहित्यिक मासिक प्रकाशन भएको थियो । केही कालमै बन्द भएको ‘सुधासागर’ पत्रिकाको एक प्रतिसमेत नपाइए तापनि छापिएको प्रमाण भने भेटिएको छ ।
‘सुधासागर’ पत्रिकाका सम्बन्धमा ‘पण्डित नरदेव, मोतीकृष्ण शर्माका आज्ञानुसार पं. कपिलदेव शर्माले अत्यन्त शुद्धता गरी छापी १९५६ सालमा प्रकाशित भयो’ भन्ने लेखिएको ‘नलोपाख्यान’ पुस्तकको कभरपृष्ठमा यस्तो उल्लेख छ :
‘यो बडो खुशीको बात भयाको छ की हाम्रा गोर्खा भाषामा पनि ५५ सालका श्रावण मैना देखीन ‘सुधासागर’ भन्या मासीकपत्र निस्क्याको छ जस्मा अनेक तरहका बिघ्नआनन्द दिन्या श्लोक–कथाहरू समेत हाली प्रकाश हुन्छ । यसमा हाम्रो गोर्खाली षज्जन माहाशयहरूले आफ्नो देश आफ्नो भाषाको उन्नतिका निमित्त अवस्य दया दृष्टि गर्नु हुन्येछ । मदिसेहरूका हजार पत्रिका निस्कन्छन् तापनि एक २ अखबार दसहजार बार हज्जार ग्राहक छन भन्या हाम्रा गोर्खामा फगत एक मात्र छ झन यसमाता सबै हाम्रा स्वदेसीय माहाशयहरू सबैले जाबो कमपनि १।। रूपैयाँ मात्र देशोन्नती भाषाको उन्नती गर्नाका निमित्त ग्राहक श्रेणीमा अवस्य नाम लेखाउनु पर्छ किन भन्या यो मासिक पत्र तपाइहरूबाट मददत नगर्दिनाले कथंकदाचित बन्द भयो ग्राहक कम भया भन्या मेरो मात्र नोक्सान पान्र्या होवैन की तपाइहरूलाई पनि केहि सरम हुन जाला । विदेशी पनि यहि भन्नन की नेपालबाट एक मासिक पत्र निस्क्याको थियो सो पनि ग्राहक कम हुनाले बन्द भयो गोर्खालीहरू वर्ष दिनको जाबो १।। रू दिनलाई पनि गाहारो मान्या रह्या छन तस्मात हे स्वदेसीय बुद्धिवन्त माहाशयहरू यो कुरा सबै विचार गर्नु हवस यस फगत एकलो अनाथ ‘सुधासागर’ का उपर दया राखी आफ्ना देश भाषाको उन्नति गर्नु हवस’ (स्रोत : नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास/ग्रीष्मबहादुर देवकोटा)
पण्डित नरदेव मोतीकृष्णद्वारा पशुपत प्रेसमा छापिएको ‘नलोपाख्यान’ कृतिको आवरण पृष्ठमा उल्लिखित बेहोराले ‘सुधासागर’ पत्रिका प्रकाशनसम्बन्धी प्रमाण त भेटिएको छ नै, साथै यसमा नेपाली विज्ञापनको स्वरूप पनि झल्किएको छ ।
‘सुधासागर’ साहित्यिक पत्रिका तथा ‘गोरखापत्र’ अखबार प्रकाशनमा नेपाली वाङ्मयका मूर्धन्य साधक मोतीराम भट्टको विशेष उत्प्रेरणा रहेको पाइन्छ ।
नेपालका ‘भारतेन्दु’ मानिने मोतीराम भट्टकै प्रयासमा विसं १९५० ताका बनारसमा ‘गोर्खा भारत जीवन’ मासिक प्रकाशन भएको थियो । संस्कृत, हिन्दी, बङ्गाली, उर्दु, अङ्गे्रजी पत्रपत्रिकाको भिडमा नेपाली भाषाको पत्रिकाले पनि झुल्कने अवसर पाउनु सामान्य कुरो थिएन नै । नेपालबाहिर प्रकाशन भए तापनि अहिलेसम्मको अध्ययनका आधारमा यही पत्रिका नेपाली भाषाको पहिलो पत्रिका मानिएको छ ।
नेपालमा पनि पत्रिका छाप्न हुटहुटिएका जीवनीकार, समालोचक, गजलकार, पत्रकार मोतीराम भट्टको प्रयासस्वरूप ‘सुधासागर’ र केही वर्षपछि ‘गोरखापत्र’ जन्मन पुग्यो ।
नेपाली पत्रकारिताको जग बसाउने श्रेय प्राप्त गरेका मोतीराम भट्ट (विसं १९२३–१९५३) को अल्पायुले गर्दा ‘सुधासागर’ तथा ‘गोरखापत्र’ प्रकाशनको मुहार चाहिँ उनले देख्न पाएनन् ।
मोतीरामकै सत्प्रयासस्वरूप ‘सुधासागर’ प्रकाशन भएयता गोरखापत्र (१९५८), ‘शारदा’ (१९९१ फागुन/मासिक), ‘उद्योग’ (१९९२ भदौ १/पाक्षिक), ‘साहित्यस्रोत’ (२००४/मासिक), ‘घरेलु इलम पत्रिका’ (२००४ जेठ २/पाक्षिक), ‘काठमाडौं म्युनिसिपल पत्रिका’ (२००४ मङ्सिर १४/पाक्षिक), ‘आँखा’ (२००५ असोज/मासिक), ‘पुरुषार्थ’ (२००६ पुस/मासिक), ‘नेपाल शिक्षा’ (२००५ असोज १५/मासिक), ‘जागरण’ (२००७ फागुन ४/साप्ताहिक), ‘आवाज’ (२००७ फागुन ८/दैनिक), हालखबर (२०१३ कात्तिक २८/दैनिक), नेपाल गार्जियन (२०१०/मासिक), ‘दी कमनर’ (२०१२/दैनिक), ‘दी राइजिङ नेपाल’ (२०२२/दैनिक) आदि नेपाली तथा अङ्गे्रजीका अनेक पत्रपत्रिका निस्किए । २०४६ सालयता त ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण’, ‘नेपाल समाचारपत्र’, ‘हिमालय टाइम्स’, ‘राजधानी’ आदि अखबारको सङ्ख्या ह्वात्तै बढ्न पुग्यो ।
‘गोर्खा भारत जीवन’ बाट थालिएको नेपाली प्रकाशनको इतिहासमा नेपालबाहिर छापिएका पत्रपत्रिकाले ठुलो भूमिका निर्वाह गरेका छन् । दीर्घजीवी नभए तापनि तिनका योगदानलाई बिर्सन मिल्दैन । यसरी सरसर्ती तिनको सम्झना गर्न सकिन्छ :
‘गोर्खे खबर कागत’ (सन् १९०१ जनवरी/दार्जिलिङ/मासिक), ‘उपन्यास तरंगिणी’ (१९५९ साउन/वनारस/मासिक), ‘सूक्तिसुधा (१९६१/संस्कृत/वनारस/मासिक), ‘सुन्दरी’ (१९६३ असार/वनारस/मासिक), ‘माधवी’ (१९६५ कार्तिक पूर्णिमा/बनारस/मासिक), ‘चन्द्र’ (१९७१/वनारस/मासिक), ‘गोर्खाली’ (१९७२ असोज ११/वनारस/साप्ताहिक), ‘चन्द्रिका’ (१९७२ पुस/ दार्जिलिङ/ मासिक), ‘गोर्खा संसार’ (१९८३/देहरादुन/साप्ताहिक), ‘गोर्खा सेवक’ (१९९२/शिलाङ/साप्ताहिक), ‘उदय’ (१९९३ माघ/वनारस/मासिक), ‘युगवाणी’ (२००४ माघ १३/वनारस/साप्ताहिक), ‘नेपाल पुकार (२००५/कात्तिक २१/कोलकाता/साप्ताहिक) आदि ।
नेपालमा प्रकाशनको इतिहास कोट्याउँदा जङ्गबहादुर राणाको शासनकालमा पुग्नु पर्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमण गरेर फर्कंदा एउटा हातेप्रेस ल्याएका थिए । विसं १९०८ मा उनकै थापाथली दरबारमा सो पे्रस स्थापना गरिएको थियो । छाप्ने मेसिनमा गिद्धको आकृति रहेकाले ‘गिद्धे प्रेस’ कहलाएको यो ‘टाइप छापाखाना’ छाउनीस्थित सङ्ग्रहालयमा अद्यापि देख्न सकिन्छ । ‘भी. एन्ड जे. फिज्जिन्स मेकर्स’ उल्लिखित ‘गिद्धे प्रेस’ बिग्रिएको अवस्थामा निकै पछिसम्म गोरखापत्रको छिँडीमा रहेको थियो ।
‘गिद्धे प्रेस’ को प्रवेशसँगै मुलुकमा छापाखानाको इतिहास प्रारम्भ भयो । ‘गिद्धे प्रेस’ बाट हुलाकपत्र, लिफाफा, टिकट आदि छापिँदा यहाँ बेग्लै रौनक देखिएको हुनु पर्छ । ‘गिद्धे प्रेस’ पछि ‘मनोरन्जन छापाखाना’ (नेपाल मनोरञ्जन यन्त्रालय) नेपालको दोस्रो प्रेस हो । ‘छोटा बडालाई एकै इन्साफ हवस भन्ना निमित्त १९०८ सालदेखि बनाइबक्स्याको आइन’ १०३८ पन्ने नेपाली ऐनको ठेली पनि यही प्रेसमा तीन वर्ष लगाई छापिएको थियो । यो प्रेस विसं १९१९ सालअगावै सञ्चालनमा रहेको थियो । ‘मनोरन्जन छापाखाना’ (प्रेस) ठँहिटीबाट १९१९ सालमा प्रकाशित ‘मोक्षसिद्धि’ पुस्तकको आवरण पृष्ठमा रहेको विज्ञापन उदाहरणीय बनेको छ :
कृष्ण गिरि कृत मोक्ष सिद्धि १ के ... ... ... ... ... ...।
कृष्ण गिरि स्मार्त धर्म संग्रह १ के ... ... ... ... ३।।।
स्तोत्र संग्रह के ... ... ... ... ... ... ... .. .. .. .. ।।।
औ तल लेखिएका किताब पनि छापिन तयार छ ।
श्रीधरी टीकासहित श्री मद्भागवत् गीता ।
‘गिद्धे प्रेस’ र ‘मनोरन्जन छापाखाना’ पछि १९३३ सालमा अर्को थपिन पुग्यो– नारायणी प्रेस । भनिन्छ, वीरशमशेर जबराको निवासस्थल नारायणी हिटीमा स्थापना गरिएकाले ‘नारायणी छापाखाना’ नामकरण भयो ।
मुलुकमा छापाखानाको महìव बढ्दै आयो, जसको फलस्वरूप यही धर्तीमा फलामेप्रेस बनाउने जाँगर चल्यो । यसको प्रथम श्रेयका हकदार पोखल्ड्याङ, काठमाडौँ निवासी कुवेररत्न (दुरुकाजी) वज्राचार्य बने । विसं १९४९ मा बनाइएको यो ‘बुद्धप्रेस’ झन्डै ३० वर्ष चालु रह्यो । यही प्रेसको धरातलमा लिथोको र टाइपको प्रेस राखी ‘अन्नपूर्ण प्रेस’ स्थापना गरियो । कुवेररत्न वज्राचार्यले आफ्नै प्रेस चलाएको झन्डै १८ वर्षपछि विसं १९६७/६८ मा ओमबहाल, काठमाडौँ निवासी पं. निष्टानन्द वज्राचार्यले ‘लिथो मेसिन’ बनाएको उल्लेख पनि पाइन्छ ।
१९५६ सालमै ‘ढोकाटोल प्रेस’ पनि थियो । विसं १९७१ तथा ७२ सालमा ‘भगवती प्रेस’ र ‘सरस्वती प्रेस’ स्थापना भए । समयक्रममा मुलुकका अधिकांश ठाउँमा आधुनिक प्रेस स्थापना हुँदै गए ।
‘पशुपत छापाखाना’ नेपाली छापाखानाको इतिहासमा निकै गर्विलो छ । निजीस्तरमा खोलिएको पहिलो व्यावसायिक प्रेस हो यो । पण्डित नरदेव मोतीकृष्ण धीरेन्द्रद्वारा ठँहिटी, काठमाडौँमा विसं १९५० सालमा स्थापना गरिएको यस प्रेसले नेपाली वाङ्मयको विकासमा ठुलो गुन लगाएको छ ।
स्वनामधन्य मोतीराम भट्टले पण्डित कृष्णदेवसँग मिली पशुपत प्रेस स्थापना गरेको उल्लेख कमल दीक्षितको ‘यस्तो पनि’ पुस्तकमा भेटिन्छ । ठँहिटीमा स्थापित यो प्रेस विसं १९५९ मा वटु फसिकेव टोलमा सारियो । नक्साल हुँदै यही प्रेस कालान्तरमा जुद्धसडक पुग्यो ।
नेपालको पहिलो पत्रिका ‘सुधासागर’ (१९५५) छाप्ने यश प्राप्त गरेको ‘पशुपत छापाखाना’ लाई नेपालको पहिलो अखबार ‘गोरखापत्र’ प्रकाशन गर्ने कीर्ति पनि प्राप्त छ । श्री नरदेव मोतीकृष्ण शर्माद्वारा श्री पशुपत प्रेस ठँहिटी आढत नेपालमा १९५८ साल जेष्ठ वदी ३ (१९५८ वैशाख २४ गते) हप्तैपिच्छे हरेक सोमबार छापिने गरी गोरखापत्रको ‘श्रीगणेशाय नमः’ भएको हो ।
गोरखापत्र छाप्ने काममा सघाउन ‘पशुपत छापाखाना’ लाई ‘नारायण प्रेस’ तथा १९४९ सालपूर्व वसन्तपुरमा सञ्चालित ‘जंगी लिथोग्राफी छापाखाना’ दिइयो । हाते प्रेसद्वारा छापिँदै आएको ‘गोरखापत्र’ १९६९ देखि बिजुलीबाट चल्ने छापाखानाबाट प्रकाशन हुन थाल्यो ।
प्रारम्भमा ठँहिटी अनि नक्सालमा छापियो गोरखापत्र । २०९० सालको भूकम्पका बेला नक्सालमै गोरखापत्र छापिन्थ्यो, त्यतिखेर बारीमा पे्रस राखेर गोरखापत्र छपाइएको उल्लेख छ । १९९५ सालसम्म त्यहीँ चालु रही १९९६ देखि जुद्धसडकबाट छापिन थाल्यो ।
प्रारम्भमा हरेक हप्ता सोमबार छापिने गोरखापत्र १९९१ वैशाख १५–२२ देखि प्रत्येक शुक्रबार छापिन थाल्यो । २००० असोज २९ देखि अर्धसाप्ताहिक (मङ्गलबार र शुक्रबार) बनेको गोरखापत्र २००३ पुस ८ देखि त्रिसाप्ताहिक (सोमबार, बुधबार र शुक्रबार) बन्यो भने २०१७ फागुन ७ देखि दैनिक समाचारपत्र बनेको हो । स्मरणीय छ, २०१९ कात्तिक २ देखि २०२२ असोज २२ सम्म बिहान र बेलुकी गरी दुई पटक गोरखापत्र प्रकाशन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएको दिन २०६१ माघ १९ गते पनि साँझ गोरखापत्र प्रकाशन भयो ।
‘गोर्खापत्र’ छापिँदै आएकोमा १९८३ जेठ ४ देखि ‘गोरखापत्र’ भयो । २०६१/६२ मा पनि ‘गोर्खापत्र’ बनाइयो र २०६३ वैशाख १८ देखि पुनः ‘गोरखापत्र’ बन्यो । १९८४ वैशाख १३ गते पहिलो पटक तस्बिर (ब्लक) छापियो । जसमा श्रीचन्द्र कामधेनु चर्खाबाट धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठनीको तस्बिर छ । यसपछि १९८५ साउन २ मा प्रधानमन्त्री चन्द्रशमशेर र सोही साल विज्ञापनसम्बन्धी ‘मास्टर मनहर बर्बे’ को तस्बिर छापियो ।
२०१६ सालमा ‘मोनो टाइप कास्टर’ अटोमेटिक सिलिन्डर मेसिन, २०२२ मा ‘लाइनो टाइप’ मेसिन हुँदै २०३६/३७ ताका ‘वेब अफसेट’ मेसिनद्वारा गोरखापत्र छापिन थाल्यो । त्यसपूर्व ‘होयरफेडल’, ‘अटोमेटिक मेली’ र ‘वहाइडल वर्ग प्रेस’ उल्लेख्य रहे । २०५९ असार १० देखि श्यामश्वेतबाट रङ्गीन बनेको गोरखापत्र २०७१ असोजदेखि अत्याधुनिक वेब अफसेटबाट छापिन थाल्यो । २०७३ जेठमा ‘सीटुपी’ (कम्प्युटर टु प्लेट) प्रविधि अँगालिएपछि झन् सुसज्जित भयो ।
विश्व पत्रकारिताको इतिहासमा गोरखापत्रको स्थान उति लामो नदेखिएला तर १२४ वर्ष पुगेको अखबारको पङ्क्तिमा आफ्नो नाम दराउन यो सफल भएको छ । दुनियाँका बहुभाषिक अखबारमा पनि यसको कीर्ति रहेको छ । २०६४ असोज १ देखि बहुभाषिक बनेको गोरखापत्रमा ४५ मातृभाषाका सामग्री प्रकाशित भइरहेका छन् । गोरखापत्रका सहप्रकाशनमध्ये ‘दी राइजिङ नेपाल’ (२०२२ पुस १), ‘मधुपर्क’ (२०२५ जेठ), ‘युवामञ्च’ (२०४५ वैशाख) र ‘मुना’ (२०४७ पुस) पनि निरन्तर छापिइरहेका छन् ।
विश्व पत्रकारिताको प्रारम्भ इसापूर्व १३१ मा रोमको ‘एक्टा डिउर्ना’ (दिनका घटना) बाट भएको मानिन्छ । यो अखबार जुलियस सिजरले निकालेका हुन् । ढुङ्गा वा धातुका पट्टीमा हस्तलिखित अखबार हो यो । विभिन्न सूचना उल्लिखित यो अखबार रोमका प्रमुख नगरमा राखिन्थे । यसैलाई विश्वको ज्ञात पहिलो समाचारपत्र मानिएको छ ।
छैटौँ शताब्दीमा चीनमा प्रकाशित ‘त्सिंगपाओ’ लाई विश्वकै प्रथम मासिक पत्र मानिएको छ भने ‘पेकिङ गजट’ (सन् ६१८–९०५) ले अग्रगामिताको झन्डा फहराएको छ ।
काठ, माटो, ढुङ्गा, धातु आदिमा खोपेर त्यसको चित्र उतार्ने काम चीनमा इसापूर्व ११२२–२५८ तिरै भएको देखिन्छ भने जापान, कोरियातिर पनि यसका रूप भेटिएका छन् । चिनियाँ बौद्ध गुफामा पाइएको ‘हीरकसूत्र’ त्यसै गरी मुद्रित किताब हुनु पर्छ ।
वर्णैपिच्छे ‘टाइप’ बनाई कीर्तिमानी काम चाहिँ जर्मनीका व्यापारीपुत्र, स्वर्णकार जोहान गुटेनवर्ग (सन् १३९८–१४६८) ले गरेका हुन् । यसपूर्व ब्लकमा अक्षर कुँदेर छपाइको काम गरिन्थ्यो । सन् १४३९ मा धातुको टाइप (अक्षर) आविष्कार हुनुलाई आधुनिक मुद्रण कलाको प्रस्तावनाविन्दु मानिएको छ । उनले सुरुमा तीन वर्ष लगाएर १८० थान ‘बाइबल’ छापे । उनको आविष्कार युरोपभरि प्रसिद्ध हुँदै संसारमै पुग्यो ।
युरोपमा प्रकाशित ‘रिलेशन’ (१६०५) लाई प्रथम मुद्रित समाचारपत्र मानिएको छ । इटालीको ‘नोटिजी स्कुते’ (ई. १५५६), नेदरल्यान्डको ‘न्युजाइटुङ’ (ई. १५२६), संयुक्त अधिराज्य (बेलायत) को ‘विकली न्युज’ (ई. १६२२), बेलायतकै ‘दी लण्डन डेली करेन्ट’ (ई.१७०२), अमेरिकाका ‘पब्लिक अकरेन्सेस’ (ई.१६९०) र ‘मिनर्वा’ दैनिक (ई.१७९३), रुसका ‘गजेट अफ मस्को’ (ई.१७०२) र ‘प्रावदा’ (ई.१९१२) रहेका छन् ।
छिमेकी भारततर्फ हेर्ने हो भने जेम्स अगस्ट हिकीको अङ्गे्रजी अखबार ‘बंगाल गजेट’ (ई. १७८०), बङ्गाली भाषाको पहिलो समाचारपत्र ‘संवाद कौमुदी’ (ई. १८१९), गुजरातीको ‘मुम्बईना समाचार’ (ई. १८२२) तथा हिन्दीको प्रथम अखबार ‘उदन्त मार्तण्ड’ (ई. १८२६), ‘संवाद प्रभाकर’ (ई. १८३१), ‘वनारस अखबार’ (ई. १८४६), ‘कविवचनसुधा’ (१८६८), ‘समाचार सुधावर्षण’ (१८५४) आदि उल्लेख्य छन् ।
समग्रमा आमसञ्चारको सन्दर्भ नियाल्दा मानव सभ्यता प्रारम्भ भएदेखि नै पत्रकारिताको सूत्र फेला पार्न सकिन्छ । त्यहीभित्र विज्ञापनको पनि तत्व भेटिन्छ । भाषा, लिपिको विकास हुनुपूर्वको कुरो गर्ने हो भने पनि साङ्केतिक सञ्चारको आफ्नै महìव थियो । वीरता बखान्न होस् वा खतराबाट जोगिन अथवा जोगाउन सञ्चारका अनेक उपाय अँगालिएका हुन्थे । सञ्चार माध्यमका सम्बन्धमा योद्धाबाहेक घुमन्ते, सन्देशवाहक तथा प्रापक, चिठी, दूत, गुप्तचर, भत्करु, गाइने, कवि, बाज, परेवा आदिलाई सम्झन सकिन्छ ।
कालान्तरमा शासकीय विधिविधान पालना गराउन, युद्धमा सामेल गराउन अथवा वस्तु विनिमय वा क्रयविक्रयका लागि अनेक माध्यम प्रयोगमा आए । चीन, ग्रिस तथा रोममा चित्रात्मक विज्ञापनका बगे्रल्ती नमुना भेटिएका छन् । सुरु सुरुमा छापिएका इस्तिहार, पर्चा, हुलाक टिकट, धार्मिक पुस्तक आदिमा पत्रकारिता तथा विज्ञापन दुवैका पूर्वस्वरूप देख्न सकिन्छ । अधिकांश देशमा झैँ नेपालमा पनि पहिले सरकारी उर्दी, सनद, ऐन, धार्मिक पुस्तक आदि छापिए । ऐतिहासिक शिलालेख, ताम्रलेख, स्वर्णपत्र, भोजपत्र, स्तम्भ आदिमा पनि पत्रकारिता एवं विज्ञापनका सुन्दर झलक रहेका छन् ।
पौराणिक ग्रन्थले पनि अनेक पाटो दर्साएका छन् । कतिपय पुराणमा नेपालका कुश, कम्बल, कस्तूरी, गण्डक, कोशी, शालिग्राम आदिको विज्ञापन गरिएको छ । आदिकाव्य ‘रामायण’ तथा ‘हिमवत्खण्ड’ मा मात्रै होइन, वेदमै पनि पत्रकारिता र विज्ञापनका तत्व रहेका छन् । यस अर्थमा ‘महाभारत’ का पात्र ‘सञ्जय’ लाई महायुद्धको प्रत्यक्ष प्रसारण गर्ने अग्रणी पत्रकारभन्दा फरक परोइन ।
मानव सभ्यताको उदयसँगै आफू र आफ्नाबारे सम्पे्रषण गर्ने क्रममा थालिएको विज्ञापनको प्रसङ्ग उक्याइँदा नेपाल पनि कोहीभन्दा पछाडि देखिँदैन नै । यस परम्परालाई झ्याली पिटाई (झ्याम्टा बजाएर), तोप पड्काई, कटुवाल प्रथा, बिगुल फुकाई, ढोल पिटाई आदिले अग्रगति दिएको इतिहास छ । आफ्नो उत्पादन कराएर बेच्ने चलन त अझै पनि हराइसकेको छैन ।
इजिप्टमा प्राप्त तीन हजार वर्ष पुरानो विज्ञापनलाई आधुनिकताका हिसाबले पहिलो विज्ञापन मानिएको छ । ‘ब्रिटिश म्युजियम’ मा राखिएको सो विज्ञापनमा ‘शीम’ नामक भगुवा ‘दास’ फर्काउनेलाई सुनको एक सिक्का इनाम दिइने उल्लेख छ । सन् १६५० मा बेलायतका अखबार नियमित रूपमा निस्कन थालेपछि विज्ञापन पनि बढ्न थाले । सञ्चार क्षेत्रको उन्नति र औद्योगिक क्रान्तिले परम्परागत विज्ञापनको शैलीलाई नयाँ रूप दिई व्यावसायिक पनि बनाउँदै ल्यायो ।
नेपालको परिपे्रक्ष्यमा ‘गिद्धे प्रेस’ को आगमनपछि सञ्चार क्षेत्रमा आधुनिकताको जग बसेको हो । उदारवादी देवशमशेरलाई अखबारको महत्व थाहा हुनुका साथै विज्ञापनको उपादेयताबारे पनि हेक्का रहेको उदाहरण गोरखापत्र निकाल्न जारी गरिएको ‘उर्दि सवाल’ मा पाउन सकिन्छ ।
विसं १९५८ वैशाख वदी ११ रोज २ का दिन प्रधानमन्त्री देवशमशेरद्वारा जारी भएको ‘उर्दि सवाल’ मा ‘यो अखबार हप्ता हप्तामा १००० थानका हिसाबले छापी सो अखबार जस्जस्ले लिनामा दर्कार गर्छन वर्ष १ को अखबार थान १ को मोहरू ३ का दर्ले लिने गरी दिनु ।’ उल्लेख गर्नुका साथै ‘कसैले मैले यो काम लियाको छु नोकरी पाउ भन्या र यस ठाउमा मैले धाउ पाया भनी जाहेर गर्न आयाको दामली छापी दिनु’ भन्ने पनि छ । गोरखापत्रमा के छाप्ने र के नछाप्ने विषयवस्तुसमेत उल्लिखित यस सवालमा ‘हाम्रो तारीफका कुरा नछापनु’ भन्ने अंश अर्थपूर्ण त छँदै छ, आजका लागि समेत सामयिक एवं सान्दर्भिक बनेको छ । यसलाई त्यतिखेरको ‘पत्रकारिताको आचार संहिता’ संज्ञा पनि दिइएको छ ।
गोरखापत्रको प्रथम प्रकाशनदेखि नै विज्ञापनले उचित ठाउँ पाएको छ । विज्ञापन विषयक एक नमुना हेरिहालौँ ! :
‘विज्ञापनको छपाई १ बाजिमात्र छपाउन्यालाई १ पंक्तिको ।ऽ (चार आना) दोश्रो बाजिलाई = (तीन आना) धेरै बाजि छपाउन्याले बन्दोवस्त छापाखानामा सूचना दी दर्याफ्त गर्नु होला ।’
गोरखापत्रको ग्राहक बन्न, समयमै शुल्क तिर्न, बन्दव्यापार बढाउन अनेक खालका विज्ञापन प्रकाशन हुँदै जाँदा नेपालभित्र तथा बाहिरबाट पनि विज्ञापन आउन थालेका हुन् ।
विसं १९६१ भदौ २६ गते प्रकाशित ‘बाइसिकल ! बाइसिकल !!’ शीर्षकको रु .१८० पर्ने सेन्टिनल स्पेसियल साइकल र रु .१५० पर्ने मन्ट्रोस नाम साइकलसम्बन्धी विज्ञापन यतिखेर स्मरणीय बनेको छ ।
१९६४ चैत २५ गते प्रकाशित विज्ञापनमा नेपाली तथा धार्मिक किताबसम्बन्धी बनारसको विज्ञापन छ । यससँगै रहेको सरसामानसम्बन्धी कोलकाताको विज्ञापन यसप्रकार छ :
‘कलकत्तामा पाइने माल छाडि कोट कमिज बास्टकोट चक्कु कैचि विसाति बाज कपडा जिरा मरिच मसाना हरू जेजे माल चाहिन्छ बहूत किफाइत साजथ जाँचिबुझि खरिद गरि पठाइनेछ सूचीपत्र मगाइ हेर्नु होस्
पत्ता ठेगाना
पं. विश्वराज हरिहर शर्मा एण्ड सन्स
१७ नं. रुपचन्द्र रायस्ट्रीट कलकत्ता’ रहेको छ ।
गोरखापत्रले विज्ञापनलाई समयसुहाउँदो ठाउँ दिन प्रयास गर्दै आएको दृष्टान्त १९६८ वैशाख १० को गोरखापत्रमा यसप्रकार देख्न सकिन्छ :
‘सरकारको र दुनिञाको फाइदा हुन्या कुरा छपाउन ल्याया छापिदिनेछौं कसैले यो काम जानेको छु यस ठाउँमा कुनै विशेष वस्तु पाया भनी भन्न आया छापि दिन्छौं कसैले ञहाँ जाहेर नभयाको नचल्याको नायाँ काम मैले तजबिज गरेको छु, मैले मात्र पाउ भन्या र त्यस्तै माल ल्यायाको, अरु ठाउँ २ मा पनि ज्यादा दर्कार भया पनि म पुर्याउन सक्तछु मैले मात्र बिक्री गर्न पाउने सनद जारी गरी पाउँ भन्ने सरकार्मा जाहेर हुने बिन्तिपत्र छपाउन ल्याया छापिदिन्छौं ।’
बनारस, दार्जिलिङ आदि ठाउँमा प्रकाशित कैँयौ पुस्तकमा विज्ञापन रहेको पाउन सकिन्छ । आजभन्दा झन्डै १०४ वर्षअघि विसं १९७७ सालताका ‘गोर्खा हितैषी कार्यालय, गोरखपुर’ बाट प्रकाशित ‘कान्छीनानी’ कृतिको पछाडिपट्टि कभरपृष्ठमा रहेको विज्ञापनलाई नै हेर्दा हुन्छ । यसमा नेपाली तथा हिन्दी पुस्तकको विज्ञापनका साथै हिमालयका जडीबुटीले बनेका औषधी, दन्तमन्जन, नेपाली धागो, छाप, टीका, कपडाका जुत्ता, टोपी, बुटवलको छिट र डोटीका रङ्गीनसम्बन्धी आकर्षक विज्ञापन रहेको छ ।
१९८४ वैशाख २० गते गोरखापत्रमा छापिएको एउटा विज्ञापन निकै चर्चित भयो । यस विज्ञापनको भाषा, शैली, विषयवस्तु आदिबारे अनेक विद्वान्ले कलम चलाएका छन् ।
कृष्णप्रसाद मोदनाथ आचार्य (डिल्लीबजार नेपाल) को ‘सस्तो ! राम्रो !! अनौठो !!!’ शीर्षकको विज्ञापनमा देशी, विदेशी शृङ्गारिक सामान, पेट्रोल, मोबिल आयल, ग्रिजको विज्ञापनका साथै विदेशबाट सरसामान झिकाइदिनेलगायतका बेहोरा रहेका छन् ।
पुतलीसडक, नेपाल ठेगाना रहेको निजहरूकै अर्को विज्ञापन ‘नेपाल प्राइभेट कम्पनी कानूनबमोजिम रजिष्टड भएको शारदा–भवन भोजनालय छात्रावास (सूचना)’ पनि छ । २००५ भदौ ८ गते गोरखापत्रमा प्रकाशित यस विज्ञापनले छात्रावासको इतिहास खोतल्नेलाई मद्दत गरेको छ ।
नेपालमा विधिवत् कानुन व्यवसायको थालनी नहुँदै कानुन व्यवसायीको प्रशिक्षणसम्बन्धी उनै पं. कृष्णप्रसादको २०१३ मङ्सिर ४ गते गोरखापत्रमा प्रकाशित ‘न्याय सम्पादन’ शीर्षकको विज्ञापन समेत ध्यातव्य बनेको छ । यसरी हेर्दा विज्ञापनले व्यापार, व्यवसाय वा सेवा प्रवर्धन गर्ने काम मात्र गरेको छैन, तत्तद् विषयवस्तुका इतिहास पनि अङ्कन गर्दै आएको छ ।
विज्ञापनको शुल्क तथा कमिसन तोक्ने काम गर्नुका साथै यसलाई नियमन तुल्याउनेतर्फ पनि गोरखापत्र उहिलेदेखि सचेत रहेको पाइन्छ । २००५ सालताका प्रकाशित विज्ञापनको नियमसम्बन्धी एक बेहोरा यस्तो छ :
‘हात हेरेर चिना बनाउने, नारी छामेर भूतको नाउँ ठेगाना पत्ता लाउने, मानिसको निश्चित भाग्यको निर्णय गर्ने, बूढालाई दुई चार मात्रा औषधिले युवक बनाउने, संसारका सब प्राणीलाई वश गर्न सक्ने इतयादि ठगीको उद्देश्य भएका र अश्लील विज्ञापनहरू गो.प.मा छापिंदैनन् ।’
छापा हुँदै बढेको विज्ञापन व्यवसाय यत्तिमै सीमित रहेन । नेपालमा रेडियो (विसं २००३ मङ्सिर), टेलिभिजन (विसं २०४१ माघ १७) हुँदै आजको डिजिटल युग अझ भन्ने हो भने ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (कृत्रिम बौद्धिकता) को जमानामा आमसञ्चारका माध्यम झैँ विज्ञापन पनि ‘बहुआयामिक’ बनेको छ ।
२०१७ सालमा थालिएको विज्ञापन एजेन्सीको सङ्ख्या विसं २०८१ मा झन्डै एक हजार पुगेको छ । सङ्घमा आबद्ध एजेन्सीको सङ्ख्या चाहिँ दुई सय जति मात्रै छ । २०४७ जेठ ३१ गते ‘नेपाल विज्ञापन सङ्घ’ विधिवत् स्थापना भएको हो । उक्त सङ्घका अनुसार नेपालको विज्ञापनको बजार अहिले रु. १२ अर्बभन्दा बढी छ ।
भनिन्छ, डेढ दशकअघिसम्म यहाँ विज्ञापनको बजार एक अर्ब रुपियाँ मात्र थियो । यसले थोरै समयमै फड्को मारेको छ । ‘कोरोना’ को कुचक्रपूर्व त १५ अर्ब रुपियाँ जति पुग्नुलाई उपलब्धि मान्नै पर्छ ।
हो, नेपाली विज्ञापनको संसार कमीकमजोरीबाट मुक्त छैन, तिनलाई सच्याई बढ्न सके सम्भावना प्रचुर छन् । गोरखापत्र, रेडियो, टेलिभिजन हुँदै अघि बढेको नेपाली विज्ञापनको स्वरूप अहिले होर्डिङ बोर्ड, डिजिटल माध्यम तथा विशेष इभेन्ट (आयोजन/कार्यक्रम) मा व्यापक हुँदै गएको छ । नेपालमा विज्ञापनको क्षेत्र मात्रै फराकिलो भएको छैन, दक्षता र स्तरीयता पनि बढ्दो छ । विज्ञापनकर्मीका सिर्जनशीलताले यहाँका सञ्चार माध्यममा मात्रै होइन, विदेशमा समेत ठाउँ पाउन थालेका छन् । यो सुखद एवं सकारात्मक पक्ष भए तापनि यसमा सरोकारी सबैको सामूहिक प्रयासको खाँचो टड्कारिएको छ । रहेभएका विसङ्गति मेटाई पङ्ख फैलाउने हो भने बृहदाकाश टाढा छैन । सञ्चार माध्यम र विज्ञापन एक अर्काका पूरक भएकामा शङ्कै छैन । जहाँसम्म ऐतिहासिक गोरखापत्रको प्रश्न छ, जन्मिएदेखि निरन्तर यसमा विज्ञापन अभिन्न रूपमा रहँदै आएको छ भने प्रादेशिक प्रकाशन, अनलाइन संस्करण आदि हुँदै यसले सामयिकताको कसीमा आफ्नो आवश्यकता र औचित्य साबित गर्दै अघि बढेको छ । यो जति, जति जनमुखी बन्दै जाने छ, त्यही अनुपातमा यसको गरिमा चुलिँदै जाने छ र विज्ञापनका लागि पनि अपरिहार्य आधारशिला बनिरहने छ ।
लेखक गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘प्रकाशनको इतिवृत्तमा गोरखापत्र र विज्ञापन’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।