• १० साउन २०८२, शनिबार

मानसरोवर–कैलाश यात्रा कठिन तर रोमाञ्चक

blog

कैलाशबारे विभिन्न पुराणमा अद्भुत वर्णन गरिएको छ । कैलाशका चार मुखमा स्फटिक, माणिक, सुन र नीलम रहेको बयान भेटिन्छ । कैलाशको पूर्वमा घोडाको, पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणतिर मयूरको मुख जस्तो भान हुन्छ । वरिपरिको पर्वतका रूप, रङ पनि विलक्षण छन् । 

मानसरोवर–कैलाश यात्राको आकर्षण दिनानुदिन बढ्दो छ । हिन्दु धर्मावलम्बीका लागि मानसरोवर–कैलाशको यात्रा महत्त्वपूर्ण हुने नै भयो । बौद्ध, जैन, सिख तथा बोन धर्मावलम्बी पनि मानसरोवर र कैलाशको यात्रा भनेपछि मरिहत्ते गर्छन् । साहसी पर्यटन रुचाउनेका लागि समेत कैलाश परिक्रमा मुख्य गन्तव्य बनेको छ । शिवपुराण, विष्णुपुराण, स्कन्दपुराण आदि विभिन्न पुराणमा मानसरोवर तथा कैलाश पर्वतबारे विशद वर्णन गरिएको छ । कुबेरको नगरी मानिने कैलाशलाई महादेवको निवासस्थान मानिन्छ । 

शिव–पार्वतीको क्रीडास्थल चाहिँ मानसरोवर हो । पौराणिक साहित्यका अनुसार यस मानसरोवरमा शिव, पार्वती राजहंसका रूपमा विचरण गर्छन् । मानसरोवरका सम्बन्धमा वाल्मीकि रामायणमा यस्तो उल्लेख पाइन्छ :

कैलासपर्वते राम मनसा निर्मितं सरः ।

ब्रह्मणा नरशार्दूलं तेनेदं मानसं सरः ।।

अर्थात्, हे राम, कैलाश पर्वतमा ब्रह्माजीले आफ्नो मनबाट एउटा सरोवर बनाउनुभयो । हे नरशार्दूल (राम) !, मनले बनाइएका कारण यसको नाम ‘मानसरोवर’ हुन पुग्यो । 

‘कूर्मपुराण’ अनुसार मानसरोवरमा स्नान गर्दा इन्द्रको अर्धासन प्राप्त हुन्छ । उत्तर मानस तीर्थको यात्रा गर्नाले उत्तम सिद्धि प्राप्त हुन्छ ।

मानसे सरसि स्नात्वा शक्रस्यार्धासनं लभेत् ।

उत्तरं मानसं गत्वा सिद्धिं प्राप्नोत्यनुत्तमाम् ।।

श्रीमद्देवीभागवतको छैटौँ स्कन्धमा पनि मानसरोवरसित सम्बन्धित रोचक कथा छ । यस अनुसार वहिष्ठ ऋषिको श्रापले विश्वामित्र ‘बकुला’ र विश्वामित्रको श्रापले गर्दा वशिष्ठ ऋषि ‘आडी’ (पक्षी) भए । श्रापवश चरा बनेका ऋषिले मानसरोवरको किनारमा नङ तथा चुच्चोले एकअर्कालाई प्रहार गर्दै १० हजार वर्ष बिताए । मानसरोवर धार्मिक, सांस्कृतिक आदि विविध दृष्टिकोणले अनुपम छ । यहाँ सतीदेवीको दायाँ हत्केलो पतन भएको कथन पनि छ । तिब्बती मान्यता अनुसार मानसरोवर स्वर्गकी देवीको स्थान र कैलाश पिताको स्थान हो । उहिले यक्ष, किन्नर आदिको आवासस्थल रहेको यस मानसरोवर क्षेत्रमा ‘उर्वशी–पुरुरवा’ को मिलन भएको उल्लेख पनि पाइन्छ । ऋषिमुनिका लागि आराध्यस्थल ‘मानसरोवर’ पितृकार्यका लागि पनि प्रसिद्ध छ । 

अपार जलस्रोत

तिब्बती भाषामा ‘मापाम युम शो’ भनिने मानसरोवरलाई पतितपावन मानिन्छ । समुद्री सतहबाट चार हजार छ सय मिटर उचाइमा रहेको मानसरोवरमा ससाना माछा, हाँस, चखेवा, चखेवी आदिले थप आनन्द बर्साइरहेको पाइन्छ । झन्डै ९० किलोमिटर परिधिको मानसरोवर विशाल छ, पैदल परिक्रमा गर्ने हो भने चार दिन लाग्ने भनाइले यसको इयत्ता आँकलन गर्न सकिन्छ ।

मानसरोवरलाई विभिन्न नदीको स्रोत मान्ने गरिए पनि यहाँबाट कुनै नदी प्रत्यक्षतः बगेको देखिँदैन । मानसरोवर क्षेत्रबाट चाहिँ कैयन् नदी बगेका छन् । ब्रह्मपुत्र, सिन्धु, शतलज र कर्णालीको पनि उद्गम स्थल यहीँ हो । ‘माप्चोचोङ्गो’ बाट निस्किई मानसरोवर क्षेत्र हुँदै प्रवाहित हुने नदी ‘माप्चा खम्बाब’ अर्थात् कर्णाली नदी हो । यही कर्णाली ‘घाघरा’ भनिँदै अयोध्यामा ‘सरयू’ कहलाएको हो । ब्रह्माद्वारा बनाइएको ‘ब्रह्मपुत्र’ लाई पुरुषसूचक नदीका रूपमा हेरिन्छ । तिब्बती भाषामा ब्रह्मपुत्रको नाम ‘यार्लुङ त्संगपो’ हो, भारतमा ‘शोणित’ हुँदै ‘ब्रह्मपुत्र’ कहलाई बङ्गलादेशमा ‘जमुना’ नामले चिनिन्छ यो । 

उज्यालो र अँध्यारो

‘गोलाकार’ मानसरोवरनजिकै ‘अर्धचन्द्राकार’ राक्षसताल छ । मानसरोवरको पानी मिठो, राक्षसतालको पानी चाहिँ नुनिलो ! मानसरोवरमा थरी थरीका पन्छी, माछा आदि जीव देखिन्छन्; राक्षसतालमा चाहिँ न पशुपन्छी देखिन्छन्, न त वनस्पति । यिनै विविध कारणले मानसरोवरलाई उज्यालो (सकारात्मकता) र राक्षसताललाई अँध्यारो (नकारात्मकता) को प्रतीक मानिएको हुनु पर्छ । तिब्बती भाषामा ‘ल्हानाग त्सो’ भनिने राक्षसतालको पानी विषालु भएकाले त्यता जान रोक लगाइएको छ । राक्षसताल शतलज नदीको मुहान पनि हो । राक्षस तालमा लङ्केश रावणले महादेवको कठोर तपस्या गरेको भनाइ छ । खराब प्रवृत्तिका रावणले नुहाएका कारण तालको पानी विषाक्त बनेको तर्क पनि सुनिन्छ । रावणले १० हजार वर्ष कडा तपस्या गर्दा प्रतिहजार वर्ष एक÷एक शिर चढाएका थिए रे । अन्तिम १० हजार वर्षमा १० औँ शिर चढाउन लाग्दा शिव प्रकट भई रोकेको वर्णन पाइन्छ । रावणले शिवजीलाई प्रसन्न तुल्याई कैलाशसहित श्रीलङ्का लग्न खोजेका रहेछन् । त्यो सम्भव नभएपछि उनी शिवजीको ज्योतिर्लिङ्ग लिई फर्केछन्, बाटोमा कतै बिसाउन नहुने थियो, यहीबिच उनलाई पिसाबले च्याप्यो । एक ब्राह्मणलाई जिम्मा लगाई पिसाब फेर्न गए । ती बैजनाथ ब्राह्मणले ज्योतिर्लिङ्ग तल राखिदिएछन् । लाखौँ, प्रयास गर्दा पनि रावणले उचाल्न सकेनन् । त्यही ज्योतिर्लिङ्ग भारतस्थित झारखण्डमा पर्ने बैजनाथ बाबा, वैद्यनाथ बाबा वा बाबाधामका रूपमा प्रसिद्ध बन्यो । वैद्यनाथधामका बारेमा मतान्तर पनि छन् । कसैका भनाइमा परली, महाराष्ट्रमा रहेको वैजनाथधाम (परल्यां वैद्यनाथ) सक्कली हो । नेपालको अछाम जिल्लामा रहेको बुढीगङ्गा र सरस्वती नदीको सङ्गममा अवस्थित वैजनाथधाम पनि यसबखत अविस्मरणीय बनेको छ । कैलाशमा तपस्या गरी शिर चढाएका रावणको शिर जोड्ने ‘वैद्यनाथ बाबा’ शिवको स्मरणमा यहाँ प्राचीन वैजनाथ मन्दिर निर्मित छ । 

अद्भुत छटा 

मानसरोवरबाट झन्डै ४० किलोमिटर दुरीमा कैलाश पर्वत छ । कैलाशलाई परिवारसहित भगवान् शिवको वासस्थान मानिन्छ । कैलाश पर्वतको स्वरूप शिवलिङ्ग जस्तै छ । अनेक पुराण, तन्त्र आदि साहित्यमा मानसरोवर झैँ कैलाशको पनि महिमागान गरिएको छ । स्कन्दपुराणका अनुसार त यसको नाम स्मरण मात्रैले पनि ठुलो फल प्राप्त हुन्छ । बौद्ध धर्मावलम्बीहरू कैलाशलाई सम्पन्न हिमालको द्योतक ‘काङ रिम्पोचे’ भन्दछन् । कैलाशलाई ब्रह्माण्डको उत्पत्ति र शक्तिको केन्द्र मान्ने बोन धर्मावलम्बीहरू उत्तिकै श्रद्धाभाव राख्दछन् । कैलाश पर्वतकै शृङ्खलामा रहेको ‘अष्टपद पर्वत’ जैन धर्मावलम्बीका लागि अति पवित्र स्थल हो । यही थलोमा जैन धर्मका प्रथम तीर्थङ्कर ‘आदिनाथ’ ऋषभदेवले तपस्या गरेका थिए । कैलाशको ‘अष्टपद क्षेत्र’ उनको मोक्षस्थान हो । सिख धर्मका प्रवर्तक गुरु नानकले पनि मानसरोवर तथा कैलाश यात्रा गरेको इतिहास छ । कैलाशबारे विभिन्न पुराणमा अद्भुत वर्णन गरिएको छ । कैलाशका चार मुखमा स्फटिक, माणिक, सुन र नीलम रहेको बयान भेटिन्छ । कैलाशको पूर्वमा घोडाको, पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणतिर मयूरको मुख जस्तो भान हुन्छ । वरिपरिको पर्वतका रूप, रङ पनि विलक्षण छन् । 

उहिले मानसरोवर मात्र पुगी कैलाशको टाढैबाट दर्शन गरिन्थ्यो, अचेल समर्थजन कैलाशको परिक्रमा नगरी फर्कन चाहँदैनन् । छ हजार ७१४ मिटर उचाइमा रहेको कैलाश पर्वतको आरोहण गर्ने अनुमति चाहिँ निषेध गरिएको छ । विगतमा कोही कैलाश चढेको तथ्याङ्क पनि छैन । कैलाश आरोहणका लागि प्रयत्न नभएको होइन तर सफलताको पगरी कसैले गुथेको पाइँदैन । कैलाशको शिखर ज्यादै जटिल र भिरालो भएकाले पनि दुर्लङ्घ्य बनेको हुन सक्छ । 


सिद्ध मिलारेपा

तिब्बती सन्त, तान्त्रिक, बौद्धगुरु मिलारेपा (सन् १०५२–११३५) ले कैलाशको सफल आरोहण गरेको किंवदन्ती चाहिँ छ । सिद्ध मिलारेपा व्यापारीका सन्तान भए पनि बाबुआमा बितेपछि निकै दुःख पाएका, तन्त्रसाधनामा पारङ्गत बनेका र प्रतिशोधसूचक ८० जनालाई कालको मुखमा पुर्‍याउन सक्षम मिलारेपा कालान्तरमा आध्यात्मिक खोजीमा लाग्छन् र बुद्धत्व प्राप्त गर्छन् । मिलारेपा नेपाली सन्दर्भमा पनि आदरणीय, श्रद्धेय पात्र हुन् । यिनले नेपालका मनाङ, गोरखा, हेलम्बु, भक्तपुरका गुफामा रही साधना गरेको इतिहास पाइन्छ । दोलखाको बिगुमा पर्ने लप्चीमा मिलारेपाको सिद्धस्थल रहेको छ ।  आध्यात्मिक ऊर्जा प्राप्तिका लागि महत्वपूर्ण मानिने कैलाशलाई ‘एक्सिस मुन्डी’ अर्थात् ब्रह्माण्डको ध्रुव वा संसारकै केन्द्रविन्दु पनि भनिन्छ । स्वर्ग र पृथ्वीको मिलनस्थलका रूपमा समेत कैलाशको व्याख्या गरिएको छ । कैलाशलाई ज्यादै रहस्यमयी पर्वतका रूपमा हेर्नेहरू पनि उत्तिकै छन् । कैलाशकै शृङ्खलागर्भमा ‘सम्भाला’ रहेको हुन सक्ने अनुमानसमेत लगाइएको छ । 

तीर्थपुरी

मानसरोवर–कैलाश यात्रामा ‘तीर्थपुरी’ पनि समेटिएको छ । यसका लागि हरेकले पाँच सय युआन (करिब १० हजार रुपियाँ) अतिरिक्त भाडा तिर्नु पर्छ । दार्चेनबाट गरिने झन्डै तीनघन्टे यात्रा हो यो । लगभग ४,३१० मिटर उचाइमा रहेको तीर्थपुरी पुराणप्रसिद्ध भष्मासुरसित सम्बन्धित छ । वृकासुर नै भष्मासुर हो । असुर शकुनिको छोरो वृकासुर महाकुटिल तर शिवभक्त थियो । वरदाता शिवजीलाई नै खरानी पारेर पार्वतीलाई ‘सुइँक्याउने’ सुरमा लाग्दा शिवजी ‘विष्णु’ पुकार्दै भाग्न विवश भए । विष्णुले सुन्दरी मोहिनीको रूप लिई नृत्य गरेको देखी मुग्ध वृकासुरले त्यही हावभाव अनुसार नाच्दै शिरमा हात राख्दा खरानी हुन पुगेको कथा सर्वविदितै छ । प्रकारान्तर कथा अनुसार वृकासुर शिवजीको खोजीमा रहँदा विष्णु ब्राह्मणको भेषमा देखा परे । ‘बहुलट्ठीको कुरो पनि पत्याउने, त्यस्ताले दिएको न श्राप लाग्छ, न वरदान ! नपत्याए एकचोटि जाँचे भैगो नि’ भन्दा उसले जसै शिरमाथि हात राखेर परीक्षण ग¥यो, भष्म हुन पुग्यो । पहाडको बिचमा खोपिल्टो परेको ठाउँलाई वृकासुर भष्म भएको स्थान मानिएको छ ।  तीर्थपुरीमा गुरु रिम्पोछे (पद्मसम्भव) तथा मिलारेपाको साधनास्थल पनि छ । गुम्बानजिकै रातो, रातो एउटा सानो थुम्को छ, यो भष्मासुरको रगत हो रे ! त्यतै, तल्लो कैलाश पनि छ । यहाँ तीन पटक घुम्दा कैलाश परिक्रमाको फल पाइने जनविश्वास छ । तीर्थपुरीनजिकै पार्वतीको तपस्यास्थल गुफा रहेको छ । अलि पर सडकसँगै तातोपानी बगिरहेको छ । त्यहीँ पल्तिर मनोहारी सिन्धु नदी देखिन्छ । 

अर्थतन्त्रलाई टेवा

नेपालका विभिन्न स्थानबाट कैलाशको यात्रा गर्न सकिन्छ । चीनसित जोडिएका सबै नाकाबाट त्यहाँ जान पाइँदैन । धेरै जसो यात्रु रसुवागढी नाका वा हिल्साबाट जाने गर्छन् । रसुवागढीको बाटो अवरुद्ध हुँदा तातोपानी नाका सहायक बनेको छ । यसपालि भारतबाट सोझै यात्रुहरू उत्तराखण्ड तथा नेपाली भूमि ‘लिपुलेक’ हुँदै मानसरोवर–कैलाश पुगे । सिक्किमको ‘नाथुला’ मार्ग चाहिँ कठिन भएकाले रोजाइमा पर्दो रहेनछ । नेपालको सिमाना जोडिएका भारतीय तथा प्रवासी भारतीय नेपाल भएर यात्रा गर्न रुचाउँदा रहेछन् । भारतबाट यात्रा गर्दा ‘लटरी’ मा नाम निस्कनुपर्ने र रकम पनि साढे पाँच लाखभन्दा कम नहुने भएपछि सरल, सुलभ एवं सुपथ यात्राका लागि नेपालको बाटो उत्तम हुने रहेछ । भारतीय तथा प्रवासी भारतीयलाई ध्यानमा राखी मानसरोवर–कैलाश यात्राको विशेष कार्यक्रम प्रचारप्रसारमा ल्याउन सके नेपालको अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने छ ।

लिमीबाटै दर्शन

कैलाशको दर्शन नेपालकै भूमिबाट हुनु अर्को उल्लेख्य पाटो हो । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमीबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिन्छ । हुम्लाको सिमकोटबाट झन्डै १०५ किलोमिटर दुरीमा रहेको लिमीबाट कैलाश छर्लङ्ङ देखिने भएकाले नै भारतीय सद्गुरु ‘जग्गी वासुदेव’ आफ्ना अनुयायीसहित यहाँ साधना गर्न पुगेका हुन् । लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा पनि छ । लिमीलाई कैलाश दर्शनका लागि पर्यटकीय गन्तव्यस्थल बनाउन सके गाउँ छाड्ने प्रवृत्तिमा कमी आउने र थलो नै गुलजार हुने पक्का छ । 

दसदिने कार्यक्रम

पहिलो दिन काठमाडौँबाट टिमुरे, दोस्रो दिन टिमुरेबाट केरुङ, तेस्रो दिन केरुङबाट सागा र चौथो दिन सागाबाट मानसरोवर (४,६०० मिटर) पुगिन्छ । पाँचौँ दिन मानसरोवरबाट दार्चेन (४,७०० मिटर), छैटौँ दिन दार्चेनबाट बस चढी करिब सात किलोमिटर पर ‘यमद्वार’ पुगिन्छ । कैलाशको कोरा वा परिक्रमा गर्न नचाहनेहरू यहीँबाट तीन पटक परिक्रमा गरी फर्किएर ‘दार्चेन’ बस्छन् । परिक्रमा गर्नेहरू ‘यमद्वार’ बाट देरापुक (५,२१० मिटर) तिर लम्कन्छन् । कतिपय असमर्थ यात्रु देरापुकबाट पनि दार्चेन फर्कन्छन् । सातौँ दिन देरापुकबाट तर्पे, तर्पे बाटो हुँदै दुई उकालो नाघेपछि डोल्माला (५,६२० मिटर) को सर्वाधिक उचाइ पार गरी गौरीकुण्ड दर्शनपछि जुथुलपुक (४,७९० मिटर) झरिन्छ । आठौँ दिन जुथुलपुकबाट चारपाँच घण्टा हिँडी बसमार्फत दार्चेन हुँदै सागा र क्रमशः केरुङ भई १० औँ दिन नेपाल फर्किने क्रम रहन्छ । केरुङको बाटो अवरुद्ध हुँदा सागाबाट नेलम, खासा भई तातोपानीबाट फर्किइन्छ । हिल्साबाट जानेहरू ताक्लाकोट भई स्वदेश आउँछन् । 


देरापुकबाट डोल्माला पाससम्म घोडामार्फत जान सकिन्छ । यसका निम्ति ८० हजार रुपियाँ जति लाग्दो रहेछ । भारतीयहरू घोडामा गएका देखिन्छन् । लेक लागी वा थकाइले हिँड्नै नसकिने भए फर्कन आपत्कालीन सवारीको व्यवस्था रहेको छ । यसका लागि प्रतिव्यक्ति कम्तीमा पाँच सय युआन अर्थात् झन्डै नेपाली १० हजार रुपियाँ पर्दछ । 

दमका रोगी नजानु

केरुङदेखि लेक लाग्न सक्ने भए पनि मानसरोवरसम्म उस्तो गाह्रो हुँदैन । लेक नलागोस् भनी केरुङदेखि नै साँझ, बिहान आधा, आधा ‘जेलामाइड’ चक्की खाँदा केही आश्वस्त होइन्छ । दमका रोगीले यात्रा नगर्नु बेस हुने छ । अन्य कुनै कडा रोग नभएका र घुँडा नदुख्नेका हकमा कैलाशको परिक्रमा कठिन छैन । परिक्रमापूर्व, अक्सिजनको तह ७० भन्दा माथि हुनेले आँट गर्दा फरक नपर्ने रहेछ । अलि अलि पनि धुकचुक हुँदा परिक्रमा नगर्नु जाती, अन्यथा अलपत्रिने अवस्था रहन्छ । जहाँसम्म अक्सिजन आफूसितै लाने कुरो छ, त्यो केवल १२/१५ मिनेटका लागि राहत दिन हो । 

सरोकारी निकाय जाग्नै पर्छ

मानसरोवर–कैलाश यात्राका लागि सबैभन्दा अन्योलको विषय सही ‘यात्रा सञ्चालक’ छनोट गर्नु हो । नेपाली यात्रुसित प्रतिव्यक्ति एक लाख १० हजारदेखि एक लाख ५५ हजार रुपियाँसम्म असुल्ने गरिएको छ । यसरी हेर्दा ४५ हजार रुपियाँ कम वा बेसी लिएको देखिन्छ । त्यति कम रकमले उही, उस्तै र उत्तिकै दिनको यात्रा पूरा हुन्छ, बढी रकम किन लिइएको ? र बढी रकम नै चाहिने हो भने कसरी कम्तीमा लगिएको जस्ता प्रश्न अनुत्तरित छन् । अधिक सेवा, सुविधा दिने भएकाले अतिरिक्त रकम लिने गरिएको दाबी पनि व्यावहारिक धरातलमा सही ठहर्दैन । तिनले भने जस्तो सेवासुविधा नदिएको गुनासो व्यापक छ । हुन पनि त्यही ‘रुट’ मा चल्ने बसबाट सिमानासम्म ल्याउने, लैजाने परिपाटी सबैको उही छ, चिनियाँ भूमिमा सबैले उही सरकारी बसकै सेवा लिनुपर्छ । होटेल, लजको सेवामा पनि अन्तर छैन । भोजन पनि फरक छैन र परिक्रमाका बखत दिइने ‘प्याकेट’ मा नि बरु कम रकम उठाउनेले म्याद खुस्किएका जुस बाँडेको देखिएन । यस्ता कैयन् फट्याइँ छन्, जसको समयमै उपचार जरुरी छ । अक्सिजन र बिमाको अनिवार्य व्यवस्था हुनुपर्छ । यस दिशामा सरोकारी निकाय आँखा चिम्लिएर बस्नु ठिक होइन, अन्यथा आमयात्रु उत्पीडनको सिकार भइरहने छन् ।  

Author
निर्मलकुमार आचार्य

उहाँ गोरखापत्र दैनिकको पूर्व नि. प्रधानसम्पादक हुनुहुन्छ ।