पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, मङ्सिर २८ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र मिष्ठान भण्डार कारबाहीमा परेका छन् । संयुक्त जिल्ला बजार अनुगमन समितिले भारतीय नागरिकद्वारा दर्ता नगरी सञ्चालनमा रहेको एनदिव्या हेल्थ क्लिनिक र उक्त स्थानमा दर्ता नगरी सञ्चालनमा रहेको एक मिष्ठान भण्डारलाई कारबाहीको गरेको हो ।
संयुक्त जिल्ला बजार अनुगमन समितिका अनुसार दुबै पसलका सञ्चालकलाई तोकिएको समयभित्र दर्ता नगरे कडा कानुनी कारबाही गरिने छ । समितिले १५ दिनभित्र अनिवार्य दर्ता प्रक्रिया पूरा गर्न अल्टिमेटम दिएको छ । दुबै पसलका सञ्चालकलाई तोकिएको समयभित्र दर्ता नगरे कडा कानुनी कारबाही गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारसमेत सहभागी संयुक्त अनुगमन टोलीले उजैनीसहित पाल्हीनन्दन गाउँपालिकाको बेलाशपुर र महेशपुर बजार क्षेत्रका पसलहरूमा पनि निरीक्षण गरेको थियो । अनुगमनका क्रममा धेरै खाद्यान्न पसलहरूबाट म्याद गुज्रेका अखाद्य वस्तुहरू फेला परेको थियो ।
संयुक्त जिल्ला बजार अनुगमन समितिका अनुसार खाद्यान्न, होटल–रेस्टुरेन्ट, मिठाइ, कपडा लगायतका विभिन्न प्रकृतिका १४ वटा पसल अनुगमन गरिएको थियो । दर्ता बिनै सञ्चालन हुने र उपभोक्तालाई गुणस्तरहीन वस्तु बिक्री गर्ने पसलहरूमाथि निगरानी बढाइएको प्रशासनले जनाएको छ ।