• २८ मङ्सिर २०८२, आइतबार

मुस्ताङमा लुलु गाईको सङ्ख्या बढाउन १० लाख बजेट

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरमा लुलु गाई चरन क्षेत्रतर्फ लैजादै गरेका मिग्मा गुरूङ । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २८ गते ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरका ६३ वर्षीय मिग्मा गुरूङसँग अहिले तीनवटा लुलु गाई छन् । कुनै जमनामा गोठभरी लुलु गाई पालेका गुरूङको गोठ विस्तारै रित्तिदै छ । गुरूङजस्तै छोसेरकै ७० वर्षीय पुन्चो गुरूङले पनि विस्तारै लोपोन्मुख लुलु गाई पालन छोड्ने योजना बनाउनुभएको छ । गाउँमा दुध, मल, खेत जोत्नको लागि उपयोग गरिने रैथाने गाई लुलु अहिले मुस्किलले भेटिन्छ ।

छोसेरका चरन क्षेत्रमा फाटफुट भेटिने लुलु गाईको महत्त्वका बारेमा स्थानीयलाई जानकारी भए पनि वैदेशिक रोजगारी, पर्यटन तथा अन्य व्यवसाय र धेरै दुध दिने होलिस्टिक रजर्सी गाईपालनमा बढ्दो आर्कषणले ह्वात्तै घटेको लोमान्थाङ–१ छोसेरकी वडा सदस्य एवम् पर्यटन व्यवसायी छिरिङ युटिन गुरुङले बताउनुभयो ।

वडा सदस्य गुरूङ भन्नुहुन्छ, ‘‘पहिले गोठ र चरन क्षेत्रमा लुलुको ताँती देखिन्थ्यो, अहिले धेरैले पाल्न छोड्नुभएको छ।’’चिसो हावापानीमा सीमित व्यवस्थापनमा पाल्न सकिने लुलु गाईले औसत दैनिक एकदेखि दुई लिटरसम्म दुध दिने गरेपनि केही कृषकले ४ लिटरसम्म दुध दिने गरेको बताउने गरेका छन् । अन्य रैथाने जातका गाईभन्दा गर्भधारण अवधि कम हुने लुलु गाईको औसत आयु करिव २० वर्ष हुन्छ भने एक वेतदेखि अर्को वेतको अन्तर १ देखि २ वर्ष हुने अध्ययनले देखाएको छ ।

कृषि तथा पशु विकास कार्यालय प्रमुख डा.लालमणी अर्यालले जुरो नभएको रैथाने प्रजातिको लुलु गाईको सङ्ख्या घट्दै जान थालेपछि हरेक वर्ष संरक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिएको बताउनुभयो । कार्यालय प्रमुख डा.अर्यालले भन्नुभयो, ‘‘लुलु गाई मुस्ताङको पहिचान भएकाले पशुपालक कृषकलाई प्रोत्साहन गरेपनि सङ्ख्या ढाउन सकिएको छैन ।’’मुस्ताङको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा हाल बैसत्ती सयको संख्यामा लुलु गाई रहेको कार्यालय प्रमुख डा.अर्यालको भनाइ छ । एक दशक अगाडीसम्म १३ हजारको सङ्ख्यामा लुलु गाई थिए ।

मुस्ताङमा हिउँ चितुवा लगायत अन्य बन्यजन्तुबाट भेडाच्याङ्ग्रापछि बस्ती र गोठमा बाच्छाबाच्छी खाइदिंदा पनि समस्या भइरहेको छ । चालु आर्थिक बर्ष २०८२/०८३ सालमा लुलु गाई संरक्षणका लागि १० लाख रुपियाँ र स्थानीय नश्ल सुधारबाट १२ लाख रुपियाँ रहेको छ । मुस्ताङमा होलिस्टिक र जर्सी गाईपालनका लागि मात्रै कृतिम गर्भाधान सेवा रहेको छ भए पनि स्थानीय लुलु गाईको सङ्ख्या बढाउन नश्ल सुधारका अन्य कार्यक्रमहरू सञ्चालित रहेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ । अहिले रहेका लुलुमा बाच्छाबाच्छीको सङ्ख्या न्यून रहेको छ ।  

जिल्लाका स्थानीय तहले समेत लुलु गाई संरक्षणको नीति बनाएपनि सङ्ख्या घट्दै जान थालेपछि चिन्तित छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीकाअध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले लुलु गाईपालनमा आर्कषित हुने कृषकलाई अनुदान तथा प्रोत्साहन गरिने बताउनुभयो ।

गाउँघरमा लुलु गाईलाई तयार गरिएका सानो आकारको गोठ समेत विस्तारै भत्काउने र भत्किन थालेका छन् । खुल्लाचौरमा चारैतिर ढुङ्गाको घेरा बनाएर समेत स्थानीयले लुलु गाई पाल्ने गरेका थिए । मुस्ताङ उद्योग वाणिज्य संंघका अध्यक्ष राजु लालचनले लुलु गाई हिमाली क्षेत्रको सुन्दर उपहार भएकाले कृषकलाई पाल्नै पर्ने गरी सरकारी निकायबाट सुविधा दिन सकेमा पर्यटकलाई समेत आर्कषित गर्न सकिने बताउनुभयो । मुस्ताङमा घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लुलु गाई आर्कषण मानिन्छ । पछिल्लो समय तल्लो मुस्ताङका थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा क्रस होलिस्टिक र जर्सी गाईपालनका कारण लुलु गाई निकै कम छन् । लुलु गाईमा प्रोटिनयुक्त दुध पाइन्छ ।