• २८ मङ्सिर २०८२, आइतबार

आठौँ पटक चुनाव लड्ने तयारीमा देउवा

blog

अघिल्लो निर्वाचनमा मतदान गर्नुहुँदै शेरबहादुर देउवा ।

अमरगढी समाचारदाता

डडेलधुरा, मङ्सिर २८ गते ।  प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भावना बढेको छ । 

२०४८ सालदेखि चुनाव जित्दै आउनुभएका सभापति देउवा आठौँ पटक त्यहाँबाट चुनाव लड्ने तयारीमा रहनुभएको जिल्लाका नेताहरू बताउनुहुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सो क्षेत्रबाट कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाको एकल नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बसेको कांग्रेस डडेलधुराको बैठकले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेर सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

डडेलधुरा कांग्रेसका नेतासँग यसअघि नै देउवाले अन्तिम पटक प्रतिनिधि सभा निर्वाचन लड्ने बताइसक्नुभएको थियो । देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा डडेलधुराबाटै विजयी भइसक्नुभएको छ । यस्तै समानुपातिकमा नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, वसन्ती भण्डारी र ईश्वरी चन्दको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । नरभान कामी २०७० को निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य रहनुभएको थियो । 

राष्ट्रिय सभा सदस्यमा नाम सिफारिस हुनुभएका भीमबहादुर साउद कांग्रेस डडेलधुरा सभापति हुनुहुन्छ । २०७४ को स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिकामा उम्मेदवार भएर उहाँ नगरप्रमुख भइसक्नुभएको थियो । यस्तै रघुवर भट्ट कांग्रेस डडेलधुराका पूर्वसभापति हुनुहुन्छ । उहाँ तत्कालीन जिल्ला विकास समितिको सभापति पनि हुनुहुन्थ्यो भने २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि क्षेत्र ‘क’ बाट उम्मेदवार हुँदा पराजित हुनुभएको थियो । 

कञ्चनपुरबाट तेत्तिस जनाको नाम सिफारिस

बेलौरी समाचारदाताका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेसले कञ्चनपुर क्षेत्र नं. १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताउनुभयो । यसै गरेर क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट भएका छन् । क्षेत्रीय सभापति उपाध्यायले पार्टी केन्द्रको निर्णय अनुसार उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाइएको बताउनुभयो । 

यसै गरेर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पूर्वमन्त्री एनपी साउद, हरि बोहोरा र दलबहादुर बोहोरा सिफारिस गरिएका छन् । कांग्रेस केन्द्रीय सदस्य साउद २०७९ को आमनिर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । 

यसै गरेर समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस भएका छन् । राष्ट्रिय सभामा पुस्करराज ओझा, देवराज पाठक र ईश्वरी खाती सिफारिस भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकसहित तीन जना सिफारिस भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षमा लेखकसहित प्रेमबहादुर विष्ट र शङ्करबहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिसमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिस भएका छन् । पूर्वगृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति केशव चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको बताउनुभयो । यसै गरेर प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर सिफारिस गरिएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ३ नम्बरबाट १३ जना आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केन्द्रीय समितिको परिपत्र अनुसार केही निर्वाचन गरेर तथा केही सर्वसम्मत रूपमा उम्मेदवारका नाम छनोट गरिएको हो । सरकारको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारण गरिएको छ ।