बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर २८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार हुने भएका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा कांग्रेसका उम्मेदवार छनोट भएका छन् । पहिलो चरणमा हरेक निर्वाचन क्षेत्रबाट प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिले निर्णय गरेर जिल्लालाई नाम पठाउँदा अधिकांश पुरानै अनुहार दोहोरिएको कांग्रेसका स्थानीय नेताले गुनासो गर्नु भयो ।
प्रतिनिधि सभातर्फ सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ क्षेत्रीय कार्यसमितिले पूर्णबहादुर खड्काको एकल नाम जिल्लालाई सिफारिस गरेको छ । कांग्रेसको कार्यवाहक सभापतिसमेत रहनु भएका खड्का गत निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनु भएको थियो ।
यसै गरी सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि पुरानै नेता हृदयराम थानी आगामी उम्मेदवारका लागि सिफारिस हुनु भएको छ । यद्यपि यस पटक थानीको एकल नाम भने सिफारिस गरिएको छैन । उहाँसहित अन्य पाँच जना पनि सिफारिसमा परेका छन् । जसमा थानी सबैभन्दा पुराना नेता हुनु हुन्छ । कांग्रेसको पूर्वकेन्द्रीय सदस्य उहाँले छ पटक संसदीय चुनाव लडिसक्नु भएको छ । २०५१ यताका सबै संसदीय निर्वाचनमा उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसको उम्मेदवार बन्नु भएको छ । जसमा तीन पटक जित्नु भएको छ ।
थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भीष्मराज हमाल र वसन्ती बस्नेतका नाम पनि सिफारिस गरिएको छ । सुर्खेतमा जस्तै कर्णालीका अन्य जिल्लामा पनि धमाधम उम्मेदवार सिफारिस भइरहेका छन् ।
दैलेखका दुई वटै निर्वाचन क्षेत्रका लागि नाम टुङ्गो लगाइएको नेपाली कांग्रेस दैलेख जिल्ला सभापति मणिराम रेग्मीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं. १ का लागि १३ जनाको नाम सिफारिस गरिएको छ । जसमा सभापति मणिराम रेग्मीसहित खेमराज ओली, खेमराज केसी, गणेश उपाध्याय, नरसिंह मल्ल, पदम मल्ल, नगेन्द्रबहादुर मल्ल, मनोज थापा, सुशील देउजा, वासना थापा, देवेन्द्र थापा, बखतबहादुर कटुवाल र भूपेन्द्रबहादुर शाही रहनु भएको छ । समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै दैलेखकै निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस भएको छ । सीताकुमारी राना, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल र रञ्जना शाहीको नाम सिफारिस गरिएको हो । समानुपातिकतर्फ जानकी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्यबहादुर विकलाई सिफारिस गरिएको प्रदेश सभापति टङ्कप्रसाद रिमालले बताउनु भयो ।