• २८ मङ्सिर २०८२, आइतबार

सहकारी व्यवस्थापन समिति आफैँ ‘समस्याग्रस्त’

blog

काठमाडौँ, मङ्सिर २८ गते । बैसट्ठी हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको संस्था नै भद्रगोल छ । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका २७ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आफैँ ‘समस्याग्रस्त’ भएको हो । 

समस्याग्रस्त घोषित केही सहकारीले एक लाख रुपियाँभन्दा कम बचत रकम फिर्ता गरे पनि अधिकांश सहकारीका बचतकर्ताको बचत फिर्ता गरी हिसाब मिलान गर्ने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । मङ्सिर ४ र ५ गते सहकारीपीडितले समितिको कार्यालयअगाडि प्रदर्शन र घेराउ गरेपछि पदाधिकारी कार्यालय आउनै छाडेका छन् । समितिका अध्यक्ष श्रीमणकुमार गौतमसहित सदस्य उद्ववप्रसाद तिमल्सेना, काशिचन्द्र बराल, ललिताकुमारी महर्जन, ध्रुव आचार्य, महेशप्रसाद काफ्ले रहनुभएको छ । सदस्यसचिव टीकामणि नेउपानेले समितिको कार्यालयमा अध्यक्ष र सदस्य आउन छाडेको पुष्टि गर्नुभयो । 

पीडित बचतकर्ता 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी विभागमा दर्ता भएका सहकारीको मात्रै नियमन गर्छ । सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन, सहकारीपीडित नागरिकको बचत फिर्ताको काम अघि बढाउनुपर्ने भए पनि समिति आफैँ भद्रगोल स्थितिमा पुगेको छ । कार्यालयका शाखा अधिकृत डम्बरु दाहालका अनुसार सहकारीपीडितको आन्दोलनपछि कार्यालयको कामकाज प्रभावित भएको छ । उहाँले भन्नुभयो, “नियमित काम भइहाल्छ तर सहकारीको बचत राफसाफ गर्ने काम प्रभावित छ । अध्यक्ष नै नआएपछि मुख्य काम नहुनु स्वाभाविक हो । चेकमा अध्यक्ष र सदस्यसचिवको हस्ताक्षर चल्ने भएकाले पनि काम अघि बढाउन समस्या भएको हो ।” 

सहकारीपीडितका अगुवा खगेन्द्र काफ्लेले सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता गरे पनि सहकारी सञ्चालकले १० वर्षदेखि बचत फिर्ता नगरेको बताउनुभयो । उहाँका अनुसार २०७२ देखि समस्यामा परेका सहकारीविरुद्ध २०७४ मा उजुरी दिएर निरन्तर धाइरहेका बचतकर्ता आफ्नो जीवनभरिको कमाइ फिर्ता हुने आशामा छन् । उहाँले भन्नुभयो, “तर विभिन्न बहाना देखाएर सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । एक लाख रुपियाँभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता भए पनि एक लाखभन्दा बढी बचत गर्नेको रकम फिर्ता भएको छैन । एक लाख रुपियाँभन्दा बढी बचत गर्नेको सङ्ख्या अत्यधिक छ । यो काम देखाउन गरिएको प्रपञ्च मात्रै हो ।”

केही सहकारीको हिसाब मिलान 

शाखा अधिकृत दाहालका अनुसार केही सहकारीका ऋणी सदस्य र बचतकर्ताबिच हिसाब मिलान पनि भएको छ । उहाँले हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, स्टान्डर्ड सेभिङ एन्ड व्रmेडिट को–अपरेटिभ लिमिटेडको हिसाब मिलान भएको छ । 

त्यसै गरी शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडको हिसाब मिलान भएको छ । यससँगै ती सहकारीमा बचत गरेका केही बचतकर्ताले रकम फिर्ता पनि पाएका छन् तर धेरै जसो सहकारी सञ्चालक बचत रकम फिर्ता गर्न तयार छैनन् । 

शाखा अधिकृत दाहालले भन्नुभयो, “सहकारीभित्र अनेक समस्या देखिएका छन् । सहकारीको बचत रकम कम्पनी खोलेर लगानी गरेका छन् । बैङ्कले भौतिक संरचना लिलाम गर्दा समितिले त्यहाँ रहेका सामग्री लिलाम गरिरहेको छ तर मूल्य निर्धारणदेखि अन्य धेरै प्राविधिक विषय रहेकाले काम गर्न साँच्चै अप्ठ्यारो परेको छ ।”