• २६ फागुन २०८२, मङ्गलबार

सप्तरीका चार क्षेत्रमा ८९ उम्मेदवारको जमानत जफत

blog

देवराम यादव
सप्तरी, फागुन २६ गते ।
सप्तरीमा प्रतिनिधिसभा सदस्य पदका १ सय २ उम्मेदवारमध्ये ८९ जनाको जमानत जफत भएको छ ।जिल्लाका चारवटै निर्वाचन क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी, स्वाभिमान पार्टीका सुमित साह र एमालेका सुमनराज प्याकुरेल बाहेक अन्य सबै १८ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साह, जनमत पार्टीका नेता डा. जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्खनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजितकुमार झा, नेपाल जनता पार्टीका दीपेन्द्रप्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भुप्रसाद देवलगायतको पनि जमानत जफत भएको छ ।

क्षेत्र नं. २ मा रास्वपाका रामजी यादव, जसपा नेपालका उमेशकुमार यादव र जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत बाहेक अन्य ३१ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली कांग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय निर्माण दलका अफरोज आलम, नेकपा (एमाले) का मो. जियाउल रहमान, नेकपाका सूर्यनाथप्रसाद यादव, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी, जनअधिकार पार्टीका डा. शरदसिंह यादव, जनता लोकतान्त्रिक पार्टी नेपालका बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिश अन्सारी, नेपाल जनता पार्टीकी रञ्जुकुमारी झा (ठाकुर), नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव, सार्वभौम नागरिक पार्टीका दीपककुमार मण्डल, आम जनता पार्टीका सुनिलराज दास, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ता र श्रम संस्कृत पार्टीका त्रिभुवन खंगलगायतको पनि जमानत जफत भएको छ ।

यसैगरी क्षेत्र नं. ३ मा रास्वपाका अमरकान्त चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरी बाहेक अन्य १८ उम्मेदवारको जमानत जफत भएको छ । नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जनमत पार्टीका सुरेन्द्र शर्मा, उज्यालो नेपाल पार्टीका परमेश्वरप्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभुप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वरप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्रकुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमनलगायतको जमानत पनि जफत भएको छ ।

क्षेत्र नं. ४ मा रास्वपाका सिताराम साह, नेपाली कांग्रेसका तेजुलाल चौधरी र जसपा नेपालकी बबीकुमारी सिंह यादव बाहेक अन्य २२ उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (एमाले) का गंगाप्रसाद चौधरी, नेकपाकी रुबीकुमारी कर्ण, जनमत पार्टीका जितेन्द्रकुमार साह, नेपाल जनता पार्टीका कोशलकिशोर दास, उज्यालो नेपाल पार्टीका बिशोकुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साहलगायतको जमानत जफत भएको छ ।

निर्वाचन निर्देशिकाअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको मात्र जमानत जोगिने व्यवस्था छ । जिल्लाका चारवटै क्षेत्रमा खसेको मतमध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो । उक्त मतको १० प्रतिशत मत ल्याउन नसक्दा ८९ जना उम्मेदवारले जमानत गुमाएका हुन् ।