• २६ फागुन २०८२, मङ्गलबार

गुल्मीमा ३७ उमेदवारको जमानत जफत

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मीको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन २६ गते ।
गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी कृषिराम घिमिरेका अनुसार मनोनयन दर्ता गरेका ४३ जनामध्ये दुई निर्वाचन क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का छ जना बाहेकको जमानत जफत भएको छ । मुख्य पार्टीमध्ये नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, जनमोर्चासहितका उम्मेदवारको जमानत जफत भएको हो ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरे जमानत जफत हुने घिमिरेले बताउनुभयो । त्यस्तै, गुल्मीमा चार हजार १४० मत बदर भएको छ । क्षेत्र नं १ मा एक हजार ९४२ र क्षेत्र नं २ मा दुई हजार १९८ मत बदर भएको छ । समानुपातिक तर्फको बदर मत विवरण अझै आएको छैन ।

रास्वापाको आशा र पुराना दलको नाताका कारण धेरै मत बदर भएको एमालेका नेता गणेश श्रीपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैले दुई र केहीले तीन दलका चुनाव चिन्हमा मत दिएको समेत पाइयो । यो नयाँको आशा र पुरानाको नाताको कारण हो ।” उहाँले मतदाता शिक्षा पनि प्रभावकारी नभएका कारण बदर मत बढेको बताउनुभयो । २०६४ सालको निर्वाचनमा ३.०८ प्रतिशत बदर मत रहेको थियो । त्यस्तै २०७० सालको निर्वाचनमा २.६८ प्रतिशत मत बदर भएको थियो ।

०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा ३.०४ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो । ०७९ सालको निर्वाचनमा प्रदेश सभा तर्फ २.५९ र प्रतिनिधी सभामा २.८८ प्रतिशत मत बदर भएको थियो ।

गुल्मीमा समानुपातिक तर्फ पनि रास्वपा पहिलो बनेको छ । जिल्लामा समानुपातिक तर्फको मतगणना सकिएको छ । गुल्मीका दुई निर्वाचन क्षेत्रमा कुल मतदाता दुई लाख २९ हजार ७७७ मध्ये एक लाख १९ हजार ६२५ मत खसेको थियो । सदर मत एक लाख १६ हजार ५४७ मध्ये रास्वपा (घण्टी) ले ५१ हजार ८४८, नेकपा एमाले (सूर्य) ले २८ हजार ४४५ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेस (रुख) ले २५ हजार २९१, नेपाली कम्युनिस्ट पार्टी (तारा) ले पाँच हजार ७८५, राष्ट्रिय जनमोर्चा (गिलास) ले एक हजार २८७, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले एक हजार ८५ र श्रम संस्कृति पार्टी (माटो) ले  ९३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।