सिन्धुली, मङ्सिर २८ गते । कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।
कला बनाउने कुनै औपचारिक शिक्षाबिना उहाँले तयार पार्नुभएका सयौँ कला अहिले देश विदेशका कलाप्रेमीका नजरमा उत्कृष्ट र अद्वितीय साबित भइरहेका छन् । विश्वम्भर भन्नुहुन्छ, “कसैले मलाई यो कला मन प¥यो यस्तै अर्को बनाइदेऊ न भने म बनाउन सक्दिनँ । यहाँका हरेक कला ‘वान पिस’ हुन्छन् । उस्तै अर्को बनाउन सक्ने सामथ्र्य ममा छैन । किनकि यी कला मैले बनाएका होइनन्, प्रकृति सृजित हुन् । मेरो मनमस्तिष्कले ती बोटबिरुवाका प्राकृतिक जरा तथा हाँगामा विम्ब मात्र भरेको हुन्छ ।” उहाँ कुनै बोटबिरुवाको जरा हाँगाबिँगा पाएपछि त्यसमा आफ्नो सोच, त्यस समय मनमा उब्जेका भाव र चिन्तनलाई विम्बात्मक रूपमा प्रस्तुत गरेर कलालाई सुन्दर रूप दिन तल्लीन रहनुहुन्छ ।
विश्वम्भरको सङ्ग्रहालयमा राखिएका जर्बुटा कलाले साँच्चै प्रकृतिको गहिराइ, मानव जीवन चक्रका आयाम, मानव मनका जटिलता, आवेगलाई समेटेको अनुभूति गर्न सकिन्छ । ती कलामा दृश्यात्मक सौन्दर्य मात्र नभई जीव र प्रकृतिबिचको अटुट सम्बन्ध र भावनात्मक अन्तर्क्रियालाई पनि आत्मसात् गरे झैँ लाग्छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ ढकाल गाउँमा रहेको उहाँको आफ्नै निवासमा बनाइएको सङ्ग्रहालयमा राखिएका वनमाराको जरा होस् वा चियाबोटका जरादेखि विभिन्न ठुलासाना रुख बोटबिरुवाका जरा र हाँगालाई नियाल्दा भिन्न भिन्न भावात्मक अवस्था, सोच चिन्तन, आशा, अपेक्षा जडित भएको देख्न सकिन्छ ।
माक्र्सवाद विज्ञानसम्मत भएकाले आफू त्यसबाट अभिप्रेरित भएको बताउने विश्वम्भरका अधिकांश कलाले इतिहासको कथा बोकेको व्याख्या गर्नुहुन्छ । पेसाले कानुन व्यवसायी उहाँका कतिपय कलामा वर्तमानको चेतनालाई उजागर गरे झैँ लाग्छ छ भने समाजशास्त्रको अध्येताको हिसाबले भविष्यको आशा र भरोसा, सम्भावनालाई समेत उजिल्याउने प्रयास गरेको देखिन्छ ।
सङ्ग्रहालयमा कला हेर्न पुग्ने जोसुकैलाई पनि एक पटक प्रकृतिको सौन्दर्यलाई नियाल्दै मानव र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई पुनः खोज्न प्रेरित गरिरहेको हुन्छ । उहाँका यो फरक किसिमका कलालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पनि मान्यता दिएको छ । कलाकारिताको यो फरक विधालाई राष्ट्रिय रूपमा पहिचान बनाउने प्रयास भइरहेकोमा विश्वम्भर गर्व गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय अमेरिका र इटालीमा समेत यसको चर्चा हुन थालेको छ । यी कलाका बारेमा डकुमेन्ट्री बनाएर प्रचारप्रसार भइरहेका छन् ।”
विश्वम्भरको निजी निवास नै जर्बुटा कला केन्द्र स्थापना गरेर सङ्ग्रहालय बनेको छ । करिब सात दशकको उमेरमा पुग्नुभएका उहाँ भन्नुहुन्छ, “मसँग ३५० पिस कला तयार छन् । अझै पाँच सय पिस बन्ने जरा, हाँगाबिँगा सुरक्षित छन् । हेरौँ कहिलेसम्म शरीरले साथ दिन्छ ।”
निजी निवासमा नै सङ्ग्रहालय विस्तार गर्ने योजनामा रहनुभएका विश्वभर बिहानदेखि बेलुकासम्म कला हेर्न आउनेलाई कलामा कँुदिएका विम्बको व्याख्या गर्दै समय व्यतीत भएको चाल नै नपाउने उहाँकी श्रीमतीको भनाइ छ । उहाँ यो सङ्ग्रहालयलाई विस्तार गर्ने योजनामा नयाँ भवन बनिरहेको पनि बताउनुहुन्छ ।