• २४ वैशाख २०८१, सोमबार

महिला घरमूलीको सङ्ख्या वृद्धि

blog

काठमाडौँ, चैत ११ गते । नेपालमा बिजुलीको प्रयोग गर्ने जनसङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार बिजुली प्रयोगलगायतका केही सामाजिक पक्षमा निकै सुधार भएको देखिएको छ । नेपालमा १० वर्षअघि ६७.३ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् प्रयोग गर्दै आएकोमा अहिले ९२.२ प्रतिशतले विद्युत् प्रयोग गर्न थालेका छन् । 

त्यस्तै परिवारले उपयोग गर्दै आएका साधन र सुविधामध्ये स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत देखिएको छ । त्यस्तै ४९.३७ प्रतिशतले टेलिभिजन र ३५.२१ प्रतिशतले इन्टरनेटको सुविधा लिएको पाइएको छ । व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशतले शौचालयको सुविधा उपभोग गरिरहेको पाइएको छ । जब कि अघिल्लो जनगणनामा यस्तो सुविधा करिब ३८ प्रतिशतमा सीमित थियो ।  

महिलाको नाममा घरजग्गा हुनेको सङ्ख्या पनि बढेको छ । अहिले २३.८ प्र्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा वा घर जग्गा दुवै रहेको छ । यो १० वर्षअघिको तुलनामा १.१ प्रतिशत विन्दुले बढेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ । महिला परिवारमूली हुनेको सङ्ख्या पनि बढेको छ । ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत घरमूलीमा महिला रहेका छन् । यो अघिल्लो जनगणनाको भन्दा ५.८२ प्रतिशत विन्दुले बढेको हो ।

साक्षरताको अवस्थामा पनि सुधार देखिएको छ । अहिले ५ वर्ष वा सोभन्दा बढी उमेरका जनसङ्ख्यामा ७६.३ प्रतिशत साक्षरता रहेको छ । पुरुषको साक्षरता ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता ६९.४ प्रतिशत रहेको छ । १० वर्षअघि साक्षरता ६५.९ प्रतिशतमा सीमित थियो । त्यस्तै एसएलसी वा सो सरह मात्र उत्तीर्ण गर्नेको सङ्ख्या ९.५ प्रतिशत छ भने त्योभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेको सङ्ख्या १९.५ प्रतिशत रहेको छ । 

महिलाको प्रजनन अवस्थालाई हेर्दा भने २० देखि २४ वर्ष उमेर समूहका महिलाबाट ३६.८ प्रतिशत बच्चा जन्मेको देखिन्छ । त्यस्तै जन्मेका शिशुमध्ये छोरीको तुलनामा छोराको जन्म प्रतिशत बढी देखिएको छ । १५ देखि ४९ वर्ष उमेरका ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन् । त्यसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत रहेको छ । कुल जीवित जन्मेका शिशुमध्ये ३.२ प्रतिशतको मृत्यु भएको थियो । 

   

यो पनि पढ्नुहोस

पहाडमा विदेशीको बसोबास बढ्दो

यो पनि पढ्नुहोस

छोरीभन्दा छोरा धेरै जन्मिए