राजन रावत
हुम्ला चैत ७ गते । चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ ।
यसवर्षका लागि निर्धारित कोटाको नुन अपुग हुने भएपछि जिल्लामा बसेको सर्वपक्षीय बैठकले थप कोटाका लागि माग गर्ने र आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि वार्षिक कोटाको नुन माग गर्ने निर्णय गरेको हो ।
जिल्लाका सात वटा गाउँपालिकाका लागि एक हजार पाँच सय क्विन्टल आयोडिन युक्त नुन माग गरिएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो ।
यसमा ताँजाकोट र अदानचुली गाउँपालिका गरि पाँच सय क्वीन्ट, चङ्खेली र सर्केगार्ड गाउँपालिका गरि पाँच सय क्विन्टल र खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका गरि पाँच सय क्विन्टल नुन थप माग गरिएको हो ।
चालु आर्थिक वर्षका लागि कर्पोरेसनले जिल्ला कै लागि चार हजार ३१९ दशमलव ६८ क्विन्टल नुनको कोटा निर्धारण गरेको थियो ।
उक्त नुन ढुवानी भएर आधिकांश बिक्री भई सकेको बताउँदै उहाँले अब बाँकी चार महिनाका लागि नुन अपुग हुने भएको कारण थप कोटाको नुन माग गरिएको बताउनुभयो ।
त्यसैगरी बैठकले आगामी आर्थिक ०८३।०८४ का लागि जिल्लाको माग अनुसार नुनको कोटा माग गरिएको छ । उक्त आर्थिक वर्षका लागि सिमकोट खार्पुनाथ गाउँपालिकाका लागि दुई हजार पाँच सय क्विन्टल, नाम्खा गाउँपालिकाका लागि ६३० क्विन्टल, सर्केगार्ड बिक्री केन्द्रका लागि एक हजार पाँच सय क्वीन्टल र श्रीनगर बिक्री केन्द्रबाट अदानचुली र ताँजाकोट गाउँपालिकाका लागि एक हजार पाँच सय क्विन्टल गरि जम्मा छ हजार १३० क्विन्टल नुन कोटा माग गरिएको प्रमुख लामाले बताउनुभयो ।
हुम्ला जिल्लामा कर्पोरेसनको ढुवानी अनुदान भएको कारण प्रतिकेजी नौ रुपियाँमा हुम्लावासीले नुन खरिद गर्दै आउनु भएको छ ।