हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ६ गते । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्षित गरी मर्मत तथा सुविधा थपमा ढिलाइ भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले तयार गरेको डिपिआरअनुसार पुरातत्व विभागमा प्रस्ताव गरिएको लामो समय बितिसक्दा समेत अनुमति नदिएकाले काम हुन नसकेको हो ।
बर्षेनी लाखौं हिन्दु तथा बौद्ध धर्मालम्बीहरू पुग्ने मन्दिरको १०८ धारामा उचाइँ बढाउने, कपडा परिवर्तन गर्ने स्थान, शौचालय निर्माण, विशिष्ट ब्यक्तिहरूका लागि कक्ष, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाउण्ड वाल निर्माण, बर्षात र हिमपाको समयमा बस्ने छाप्रो, बगैचा, गुम्बा मर्मत, मन्दिरको माथिल्लो क्षेत्रको संरक्षण लगायतका प्रस्तावहरू गरिए पनि अनुमति नपाउन रोकिएको वारागुङ मुक्तिक्षेत्र १, का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरूङले बताउनुभयो ।
प्रबक्ता गुरूङले भन्नुभयो, ‘‘मन्दिरको बाहिरी क्षेत्रमा पर्याप्त संरचना नहुँदा तिर्थालुलाई असहज भएको छ, पुरातत्व विभागबाट स्वीकृति पाएलगत्तै काम अगाडि बढाउँछौ ।’’ मन्दिरमा एकै पटक ५० हजार तीर्थालुले दर्शन गर्न आवश्यक संरचना बनाउन समितिले निरन्तर पहल गरिरहेको छ । करिब ९ करोड लागत बराबरको संरचना थपको प्रस्ताव गरिएको छ ।
मन्दिरको पछाडि रहेको धारामा स्नान गर्ने क्रममा तीर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइँ बढाउनेसहित अन्य पुरातत्व विभागमा प्रस्ताव गरिएको संरचनाहरू साधारणसभाबाटै निर्णय गरिएको कोषाध्यक्ष गुरूङको भनाइ छ ।
पुरातात्विक तथा धार्मिक क्षेत्रमा नयाँ संरचना थप तथा पुनःनिर्माणको काम गर्दा पुरातत्व विभागसँगको अनुमतिबिना काम गर्न पाइँदैन । प्रमुख जिल्ला अधिकारी अजिता शर्मा अध्यक्ष रहेको समितिमा सरकारी निकाय, स्थानीय गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिको टोलीले पुरातत्व विभागमा समेत पुगेर प्र्रस्तावित योजनाको डिजाइनलाई स्वीकृति दिन अनुरोध गरेको छ ।
विभागबाट अनुमति आएलगत्तै निर्माणको कामलाई तीव्रताको साथ अघि बढाउने मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । जमिनमाथि र जमिनमुनि रहेका ऐतिहासिक संरचनामा कुनै असर नगर्ने तथा पुरातात्विक र ऐतिहासिक महत्वको स्वरुपलाई समेत परिवर्तन हुन नदिनेगरी संरचना थप गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
मन्दिरको महिमालाई कायम राख्नेगरी संरचना बनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति, सहरी विकास तथा भवन डिभिजन कार्यालयसहितको सहभागितामा पूर्वाधार निर्माण उपसमिति बनाइएको छ ।
नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने धार्मिक भक्तजन मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँचवटा दानपेटिका, नगद रसिद काटेर गरिएको दानबाट सङ्कलन गरी मन्दिर परिसर, १०८ धारा र कुण्डमा ३ हजार १४० स्क्वायर फिट ढुङ्गा बिछइएको छ । २ सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्स, स्नानस्थल सुरक्षित बनाउन राख्न रेलिङ निर्माण गरिएको छ ।
कागबेनी, दामोदर कुण्डलगायतका क्षेत्रमा समेत भौतिक संरचना बनाउन सहयोग गरिन्छ । वि.सं. २०६३ सालमा समिति गठन भएपछि मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग भइरहेको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी बार्षिक करिब ८ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ ।