• १४ फागुन २०८०, सोमबार

विश्वकै पृथक् झन्डा

blog

नेपालको झन्डाको आकार र बनावट विश्वका अन्य देशका झन्डाभन्दा पृथक् छ । तत्कालीन राजा महेन्द्रको पालामा वास्तुविद् शङ्करनाथ रिमालले डिजाइन गर्नुभएको यो झन्डाका बारेमा अस्तित्व व्यवस्थापन (एक्जिस्टेन्सियल म्यानेजमेन्ट)का अध्येता डीपी आत्रेयले वास्तुशास्त्रीय दृष्टिकोण, मौलिकता, पौराणिकताको कसीमा यसलाई अध्ययन र व्याख्या गर्नुभएको छ ।

नेपालका झन्डाका विविध आयामका बारेमा गहन अध्ययन गरी पुस्तक तयार गरिरहनुभएका आत्रेयका अनुसार नेपालको राष्ट्रिय झन्डामा प्रयोग भएका नीलो, रातो र सेतो रङको संयोजनलाई ‘अर्यमा’ भनिन्छ । यो कुरा वास्तुशास्त्र, रङविज्ञान र पृथ्वीको दिशागत ऊर्जाको सिद्धान्त तथा प्रणालीको आधारमा पुष्टि हुने उहाँको भनाइ छ । उहाँका अनुसार वास्तुशास्त्रमा ब्रह्मस्थल (केन्द्र)बाट पूर्वको भित्री महाऊर्जालाई अर्यमा, दक्षिणलाई विवश्वान, पश्चिमलाई मित्र र उत्तरलाई पृथ्वीधर (भूधार) भनिन्छ । तद्अनुसार अर्यमा भनेको ईशान, आग्नेय र केन्द्रको संयोजनको क्षेत्रीय स्थिति हो । यसलाई केन्द्र (ब्रह्म)को सापेक्षतामा पूर्व दिशा वा पृथ्वीको ध्रुवीय सापेक्षतामा म्याग्नेटिक नर्थ ४५ डिग्रीदेखि १३५ डिग्रीसम्मको अवस्थिति पनि भन्न सकिन्छ ।

सूर्यको सापेक्षतामा एक वार्षिक समयको १२ खण्डमध्येको प्रथम खण्ड अर्थात् काल र समयको पहिलो हिस्सा पनि अर्यमा नै हो । संसारमा जति पनि जोड्ने वस्तु, पदार्थ, व्यक्ति, नीति, सिद्धान्त आदि छन्, ती पनि अर्यमा नै हुन् । हाम्रा दिवङ्गत पूर्वजको बसोबास गर्ने भनिएको पितृलोकको मूल व्यवस्थापक पनि अर्यमा नै हो ।

वास्तुशास्त्रका अनुसार इशान दिशा जलतत्व प्रधान, आग्नेय दिशा अग्नितìव प्रधान र केन्द्र (बह्मस्थान) आकाशतìव प्रधान हुन्छ । वास्तुशास्त्रअन्तर्गत पञ्चतìवको सिद्धान्तले अङ्गीकार गरेका रङ विज्ञानका अनुसार जलतत्वलाई गाढा नीलो, अग्नितìवलाई रातो, आकाशतìवलाई सेतो रङद्वारा सङ्केत गरिन्छ । यसरी नीलो, रातो र सेतो रङ मिलेर पूर्वी दिशा अर्थात् अर्यमा महाऊर्जा बन्छ । 

अमेरिका, रुस, बेलायत, अस्ट्रेलियालगायत अन्य देशका राष्ट्रिय झन्डा पनि नीलो, रातो, सेतो गरी तीनवटै रङबाट बनेकाले झट्ट हेर्दा अर्यमामय नै छन् तर नेपालकोे राष्ट्रिय झन्डाको ती रातो, नीलो र सेतो अर्थात् अर्यमा चाहिँ विधाताको इच्छाबाट नै अनुमोदित छ । यस्तो अनुमोदन अन्य देशको अर्यमामय प्रतीत हुने राष्ट्रिय झन्डालाई प्राप्त रहेको तथ्य र प्रमाण फेला परेको पाइँदैन ।

त्यस्तै यो झन्डाको ज्यामितीय आयाम निर्धारणकर्ता इन्जिनियर शङ्करनाथ रिमाल हुनुहुन्छ । यही झन्डाको स्वरूपलाई लिएर गोपालप्रसाद रिमालले ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो, जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो’ भन्ने लोकप्रिय राष्ट्रिय गीतमार्फत आफूलाई विधाताको क्रियात्मक उपदेश (फङ्सनलन डिरेक्सन)का कारण रङ परिवर्तन नगरेको बताउनुभएको छ । 

अध्येता आत्रेयले भन्नुभयो, “आजभन्दा एक हजार छ सय वर्षअघि राजा मानदेवबाट प्रचलनमा ल्याइएको लिच्छविकालीन मानाङ्क मुद्राको अग्र भागमा सिंहले आफ्नो दायाँ खुट्टा उचाली अगाडिको द्विपताकायुक्त त्रिकोणात्मक ध्वजालाई अभिवादन गरिरहेको दृश्य टङ्कण गरिएको छ ।” यो मानाङ्क मुद्रालाई अहिले पनि सुरक्षित राखिएको छ । यसबाट एक हजार छ सय वर्ष पुरानो नेपालको राष्ट्रिय झन्डासमेत द्वित्रिभुजाकार रहेको थियो भन्ने प्रमाणित भएको छ । संसारमा अत्यन्त पुरानो र त्रिकोणाकार झन्डा नेपालबाहेक अन्य कुनै पनि मुलुकसँग रहेको पाइँदैन । त्यसैले त्रिभुजीय आबद्धता नेपालको मौलिक र अति प्राचीन विज्ञान र दर्शन भएको उहाँको भनाइ छ ।

लघु पाराशरीका केही सिद्धान्तमा ग्रहको युक्ति सम्बन्ध, दृष्टिसम्बन्ध लगायतका चार प्रकारका अन्तरसम्बन्ध र योगकारक अवस्थितिलाई दर्शाइएको छ । ती सम्बन्धलाई केलाउँदा ग्रहहरू एकै ठाउँमा रहेर बनाउने युक्ति सम्बन्धभन्दा भिन्न र टाढा स्थानमा रहेर पनि घर साटासाटलगायतका अन्तरसम्बन्ध र सहचर्यता कायम गरिनुलाई अझ प्रबल योगकार स्थिति भनी ज्यातिषशास्त्रमा मानिएको पाइन्छ । यसबाट एकताभन्दा आबद्धता अझै बढी शक्तिशाली र योगकारक हुन्छ भन्ने दर्शन र ज्ञानलाई इङ्गित गर्छ । 

आबद्धताको सिद्धान्त र दर्शन नेपालको प्राग्वैदिक कालकै ज्ञान र दर्शन हो । यो दर्शनलाई नेपालको राष्ट्रिय झन्डाको द्वित्रिकोणीय बनावट र ती दुुई त्रिभुजमध्ये एउटा माथिल्लो र अर्को थोरै खप्टिएर निर्माण गरेको आवद्वीय सम्बन्धले निरन्तरता र प्रमाणीकरण गर्छ । 

ध्वजाहृत ऊर्जाशक्ति

अध्येता आत्रेयका अनुसार ध्वजाहृत शब्दको शब्दकोषीय अर्थ धेरै सङ्कुचित रहेता पनि यो शब्दलाई अस्तित्व व्यवस्थापन शास्त्रले अलि बृहत् रूपमा अथ्र्याउँछ, परिभाषित गर्छ । वास्तु ऊर्जा र शक्तिको प्रयोग पनि हाल संसारकै अभ्यासको विषय हो तर यसबारेमा केही कुनै विषयगत विवेचना यसपूर्व कहीँ कतैबाट उठाइएको देखिँदैन । 

ध्वजाहृत वस्तु व्यक्ति र ऊर्जा शक्तिको ज्ञान पूर्वीय दर्शनको एक प्रमुख महìवपूर्ण तर नितान्त गोपनीय ज्ञान र पक्ष हो । बाइसे र चौबिसेजस्ता राज्यमा विभाजित नेपाल भूमिलाई पृथ्वीनारायण शाह (गोरखा)ले एकीकरण गर्ने क्रममा भक्तपुरमाथि विजय हासिल गरेपछि भक्तपुरले अभ्यास, प्रचलन गरिरहेको झन्डालाई नेपाल (गोरखा)ले आफ्नो राष्ट्रिय झन्डा कायम गरेको हो भन्ने कुरा विभिन्न इतिहासकारले उल्लेख गरेका छन् । भक्तपुरको राष्ट्रिय झन्डालाई आफ्नो अर्थात् एकीकृत नेपाल (गोरखा)को राष्ट्रिय झन्डाका रूपमा ग्रहण, प्रचलन एवं मानसम्मान गरिएको कार्य ध्वजाहृत वास्तु ऊर्जाशक्ति एवं परिभाषाभित्र पर्छ । ध्वजाहृत व्यक्ति वस्तु र ऊर्जाशक्ति अत्यन्त शुभ, गुणकारी र तीव्र शक्तिशाली हुन्छन् । भिक्टोरिया क्रसदेखि कोहिनुर हीराजस्ता वस्तुहरू र द्रौपदीदेखि रुक्मिणीसम्मका आदर्श नारीलगायतलाई उदाहरणका रूपमा केलाएर मनन गर्दा हाम्रो राष्ट्रिय झन्डामा ध्वजाहृत ऊर्जाशक्तिको माङ्गलिकता, शुभ र सकारात्मकता विद्यमान रहेको तथ्य रहस्योद्घाटित हुन्छ । 

संसारमा किनारायुक्त राष्ट्रिय झन्डा नेपालबाहेक अन्य मुलुकको नभएको अध्येता आत्रेयको भनाइ छ । यसको किनाराको उपादेयता पनि आफ्नै किसिमको रहेको उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार किनाराले गर्दा सीमाङ्कित आकाशबाट उत्पन्न हुने वास्तु ऊर्जा प्रभावकारी रूपमा क्रियाशील हुन पाउँछन् । त्यस्तै किनाराले नारी र पुरुषलाई इङ्गित गर्ने चन्द्र र सूर्यरूपी दुई केन्द्रबीचको अविभाज्यता र सहअस्तित्वको अपरिहार्यताको सन्देश प्रवाहित गरेको छ । अतिलाई आवश्यकताबाट अलग्याउने काम सिमानाले गर्छ । सम्पूर्ण मानवीय क्रियाकलाप सीमायुक्त हुन्छन् र हुनुपर्छ । नेपालको तीन प्रमुख पहिचानलाई शान्ति, वीरता र ज्ञानलाई प्राथमिकता प्रदान गर्न झन्डाको किनाराले सघाउ पु¥याएको छ । 

सत्यं–शिवं–सुन्दरम्को प्रतीक

अध्येता आत्रेयले नेपालको झन्डामा सत्यं, शिवं र सुन्दरम् विद्यमान रहेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय झन्डाको तल्लो पताकाको कोणीय स्थितिले ९, ९, ९ र माथिल्लोले ३, ६, ९ को स्थितिलाई निर्माण गर्छ भन्ने पुष्टि गरेको पाइन्छ । अङ्कहरूमध्येमा १, २, ३, ४, ५, ७, ८ गरी छवटा अङ्क लौकिक र ३, ६, ९ गरी तीनवटा अङ्क पारलौकिक प्रकृतिका रहेका छन् । तत् पारलौकिक अङ्कहरू ३, ६ र ९ मध्ये ३ ले शिव र ९ ले सुन्दरलाई अभिव्यक्त गर्छ । ती तीन अङ्कको संयोजनबाट बन्ने ३६९, ३९६, ६९३, ६३९, ९३६, ९६३ आदि अङ्कले सच्चिदानन्दमय स्वरूप अर्थात् सत्यं, शिवं र सुन्दरम्को स्थितिलाई निर्माण गर्छ ।” गत हप्ताको शुक्रबार पाँचौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झन्डालाई औपचारिक मान्यता दिएको दिनको स्मरण गर्दै यो दिवस मनाउन थालिएको हो ।