• ७ चैत २०८२, शनिबार

शान्त योद्धाको बिदाइ

blog

लुम्बिनीमा सबै देखेँ

देखिनँ केवल एउटै कुरा

जो लुम्बिनीमा जन्मेका थिए

बस्, उनै बुद्धलाई देखिनँ 

सुरेश किरणका अनेक व्यक्तित्व थिए । बस्, यही एक टुक्रा कविताले उहाँको वैचारिकता प्रस्टै झल्काउँथ्यो । बुद्धको शिक्षालाई भुसुक्क बिर्सेर ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने दाबीमाथि उहाँको चरम असहमति थियो । उहाँ भन्नुहुन्थ्यो, “लुम्बिनीमा होइन, बुद्धलाई तिम्रो छातीमा जन्माऊ ।”

प्रख्यात कवि, व्यङ्ग्यकार, पटकथा लेखक, पत्रकार, नेपाल भाषा आन्दोलनकर्मी र नेपाल मण्डल सभ्यताका व्याख्याता । खासमा उहाँका हरेक भूमिका संस्थापन र सत्ताविरुद्ध शान्त युद्ध थिए । एक शान्त योद्धा भाषिक अधिकारको लडाइँ लड्दालड्दै फागुन २५ गते शान्तिपूर्वक बिदा हुनुभयो । आफन्तको बिहेवारीमा सरिक हुँदा उहाँलाई हृदयाघात भएको थियो । शान्त योद्धा, जसको निधनले मेटिनै नसक्ने नीलडाम छाडेर गयो ।

सुरेश किरण मूलतः नेपाल भाषामा लेख्नुहुन्थ्यो । नेपालीमा लेख्दा तुलनात्मक रूपले व्यापक चर्चा हुन्थ्यो । उहाँ लोकप्रियता र द्रुत ख्यातिको लोभमा फसेको मैले कहिल्यै देखिनँ । उहाँले सदैव नेपाल भाषालाई नै प्राथमिकता दिनुभयो । मातृभाषामा लेख्दा आफ्नो कुरा धक् फुकाएर व्यक्त गर्न सकिन्छ भन्ने उहाँको धारणा थियो । संसारका धेरै लेखक आफूले सपना देख्ने भाषामै लेख्नु भन्छन् । उहाँको धारणा त्यही थियो । तथापि उहाँले नेपाली भाषामा पनि ठुला दैनिक अखबार तथा मेगजिनमा समानान्तर लेखिरहनुभयो । नेपाल भाषामा जति नेपालीमा लेख्न आफूलाई सहज नहुने उहाँ बताउनुहुन्थ्यो । जब नेपालीमा लेख्नुहुन्थ्यो, नेपालीमै लेख्ने हामीभन्दा धेरै राम्रो लेख्नुहुन्थ्यो ।

सुरेश किरणले सम्भवतः सबैभन्दा बढी नेपाल भाषामा अखबारी लेख लेख्नुभयो, जो भाषिक तथा पहिचान आन्दोलन, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यकको अधिकारमा केन्द्रित हुन्थे । विगतमा ‘इनाप’, ‘विश्वभूमि’, ‘सन्ध्या टाइम्स’ र पछिल्लो समय ‘नेपाल भाषा टाइम्स’ र ‘गोरखापत्र’ दैनिकको नयाँ नेपाल अन्तर्गत नेपाल भाषा पृष्ठमा उहाँ नियमित समसामयिक लेख लेख्नुहुन्थ्यो । गोरखापत्रको नयाँ नेपाल पृष्ठ स्थापनाकालदेखि लामो समयसम्म उहाँ त्यसको सहसंयोजक हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ बागमती प्रदेशको प्रतिनिधित्व गर्दै भाषा आयोगका सदस्य हुनुभएको थियो । भाषा आयोगका अर्का सदस्य मातृका पोखरेलका अनुसार सुरेश किरणले बागमती प्रदेशमा खस नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा स्थापित गर्न काम गरिरहनुभएको थियो । त्यसै अनुरूप बागमती प्रदेशले दुई वर्षअघि कानुन पनि बनाइसकेको थियो ।

सङ्घर्षशील पत्रकार

नेपाल भाषा तथा नेपालीका यी ख्यातिप्राप्त लेखकको पृष्ठकथा सम्झँदा धेरैलाई प्रेरणा मिल्छ । नेपाल भाषा एकेडेमीका कुलपति तथा पूर्ववामपन्थी राजनीतिकर्मी मल्ल के. सुन्दर २०४० सालवरपर नेपाल भाषा साप्ताहिक ‘इनाप’ का सम्पादक हुनुहुन्थ्यो । बाङ्गेमुडास्थित उहाँकै घरको छिँडीमा छापाखाना थियो । आधुनिक प्रेसमा पत्रिका छापिएको देख्ने अधिकांश पत्रकारलाई पुरानो जमानाको छापाखानाको सुसेधन्दा सुन्दा अचम्म लाग्छ । अहिले जस्तो पत्रकारले कम्प्युटरमा लेख्ने, कम्प्युटरमै सम्पादन गर्ने, कम्प्युटरमै डिजाइन गरी कम्प्युटरबाटै एक क्लिकको भरमा छापिने त्यतिबेला कल्पनासमेत गर्न सकिन्नथ्यो । पत्रकारले कागजमा लेखेर दिएको आलेख वा समाचारलाई सम्पादकले रातो कलमले सच्याएको हुन्थ्यो । कम्पोजिटरले पत्रिकाको आकार अनुसार ब्लक बनाई त्यही कागज हेरेर अनेक अक्षर भएका केसबाट अक्षर निकाल्दै जोड्ने काम गथ्र्यो । त्यो अक्षर पनि उल्टो हुन्थ्यो । अनि त्यो ब्लक मेसिनमा राखी कागजमा छाप्दा सुल्टो भएर छापिन्थ्यो । कहिलेकाहीँ ब्लकबाट कुनै अक्षर खस्दा अक्षर छुट्न जान्थ्यो । प्रुफरिडरले सच्याए अनुसार फेरि त्यसमा अक्षर फेर्नुपथ्र्यो । खासमा कम्पोजको काम अत्यन्त जटिल र झिजोलाग्दो हुन्थ्यो ।

‘इनाप’ साप्ताहिकको छापाखानामा दीपक शाक्य नामका दक्ष कम्पोजिटर थिए जसले एक दिन दुब्लो कायाका गोरो र अबोध एक किशोरलाई लिएर आए । सम्पादकले राख्न नसकिने भन्दाभन्दै दीपकले उनलाई बिनातलब काम लगाए । एक महिनामै किशोरले कम्पोजमा बेजोड प्रगति गरे, शुद्धाशुद्धि उत्तिकै राम्रो । त्यसपछि उनलाई पनि तलब पाउने गरी जागिर दिइयो । एक दिन तिनै किशोरले सम्पादक मल्ल के. सुन्दरलाई एउटा लेख थमाए । लेखनमा भरपुर प्रतिभाको पुट थियो । सम्पादकले छापिदिए र लेखिरहन हौसला दिए । उनले लेखिरहे । ‘इनाप’ कै प्रेसबाट निस्कने ‘विश्वभूमि’ दैनिकमा पछि उनलाई रिपोर्टिङको काम दिइयो । कुनैबेलाका लजालु र अबोध तिनै किशोर पछि सुरेश किरणका नामले कवि, लेखक, पत्रकार, भाषा आन्दोलनकर्मीका रूपमा प्रख्यात हुनुभयो ।

विसं २०४६ मा जनआन्दोलनका कमान्डर गणेशमान सिंह प्रहरीको कडा निगरानीमा वीर अस्पतालमा उपचार गराइरहनुभएको थियो । त्यसैबेला सुरेश किरणले अस्पतालमै सिंहसँग अन्तर्वार्ता गर्नुभएको थियो । सुरेशका दौतरी पत्रकार विजयकृष्ण श्रेष्ठका अनुसार ‘विश्वभूमि’ दैनिकमा छापिएको त्यो साहसिक अन्तर्वार्ता निकै चर्चित भएको थियो । सम्पादक अशोक श्रेष्ठले काँटछाँट नगरी छाप्नुभएको थियो । सुरेश किरण स्मित हास्यसाथ यसबारे हामीलाई रोचक पाराले सुनाउनुहुन्थ्यो । डाक्टरहरूसँग साँठगाँठ गरेर साथी सुजीव वज्राचार्यसँगै डाक्टरकै भेषमा प्रवेश गरी उहाँले अन्तर्वार्ता लिनुभएको थियो । अलिपछि उहाँ ‘विश्वभूमि’ कै सम्पादक हुनुभयो । पछि ‘सन्ध्या टाइम्स’ र ‘नेपाल भाषा टाइम्स’ मा समेत सम्पादकका रूपमा काम गर्नुभयो ।

समाचार, रिपोर्टिङका अतिरिक्त उहाँले थुप्रै प्रबन्ध लेख्नुभएको थियो । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयमा नेपाल भाषा पाठ्यक्रम अनिवार्य गर्ने क्रममा उहाँले 

‘यः म्हसिका’ (काठमाडौँको परिचय) पाठ्यपुस्तक शृङ्खलासमेत तयार पार्नुभएको थियो ।

कवि व्यक्तित्व

सुरेश किरणको पहिचान पत्रकार र नेपाल भाषा अधिकारकर्मीका रूपमा बढी भए पनि उहाँको सबैभन्दा उँचो व्यक्तित्व म कवितामै भेट्छु । हाम्रो समय र वयका सम्भवतः सबैभन्दा प्रतिभाशाली कवि हुनुहुन्थ्यो, उहाँ । कवितामा समसामयिकतालाई उच्च शिल्पसहित अद्भुत व्यङ्ग्यात्मक पुट दिने प्रवृत्तिमा उहाँलाई भेट्ने कवि सायदै भेटिएलान् । 

सम्भवतः २०५६ सालमा मैले उहाँको कविता प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा पहिलो पटक सुनेको थिएँ । प्रगतिशील लेखक सङ्घले आफ्नो स्थापना दिवसका अवसरमा अन्य प्रगतिशील कविसहित मूलतः नेपाल भाषामा लेख्ने सुरेश किरण, राजभाइ जःकमी र योगेशराजलाई समेटेको थियो । सुनेर यी तिनै जनाको म प्रशंसक भएको थिएँ । सुरेशको कविताले सबैभन्दा बढी छोएको थियो । ‘फगत तिमीलाई नाङ्गो पार्न’ शीर्षकको कविता उहाँले वाचन गर्नुभएको थियो । जनतालाई विश्वासघात गरेको जनप्रतिनिधिविरुद्ध अहिंसक कारबाहीको बेजोड अभिव्यक्ति थियो कवितामा । “तिम्रो अनुहारले यति घोचेको रहेछ कि, पाउमा बिझेको काँडा पनि बिर्सेछु,” कविताको एक ठाउँमा उहाँले भन्नुभएको थियो । त्यसपछि मैले उहाँको कविता, अखबारी लेख, व्यङ्ग्य र प्रहसन निरन्तर पछ्याइरहेँ । मैले आफू सम्बद्ध साहित्यिक संस्थाका थुप्रै कार्यव्रmममा प्रमुख कविका रूपमा उहाँलाई निम्त्याएँ । दैनिक अखबारको प्रधान सम्पादकको गहन जिम्मेवारीमा रहेर पनि मेरो निम्तामा उहाँ निरन्तर आइरहनुभयो । मेरो अनुरोधमा मैले काम गरेका अखबारहरूमा निरन्तर लेख लेखिरहनुभयो । अनुपम बान्कीका उहाँका कविता हँसिलो, आकर्षक व्यक्तित्व, हल्का नेवारी टोन आउने उहाँको वाचन सुनेर नेपाली कविहरू मोहित हुन्थे । भक्तपुर साहित्य प्रतिष्ठान, सँझ्या अनि दोस्रो जनआन्दोलनताका पुतलीसडकस्थित सङ्गीतकार प्रदीप बमजनको स्टुडियोमा हामीले गर्ने कविता पाक्षिकीमा उहाँले आफ्ना कविता मात्र सुनाउनुभएन, नेपाली कविमाझ नेपाल भाषाका कविताको खास पहिचानसमेत दिनुभयो ।

हालसम्म उहाँको एउटै मात्र कविता प्रकाशित छ, ‘थौं घन्टाघरं जिके ई न्यानाच्वन’ (आज घन्टाघरले मसँग समय सोधिरहेछ) । शीर्षकबाटै कविताको बान्की र सार थाहा हुन्छ । बिब्ल्याँटो समयप्रति उहाँको व्यङ्ग्य अत्यन्त सानदार हुन्थ्यो । नेपालीमा कवितासङ्ग्रह निकाल्न मैले उहाँलाई धेरै आग्रह गरेको थिएँ । उहाँले मलाई पाण्डुलिपि थमाउने वचन दिनुभएको थियो । व्यस्त दिनचर्याबिच ती सब थाती राखेर केवल ५९ वर्षमा उहाँ सदाका लागि बिदा हुनुभयो ।

एउटा प्रसङ्ग, काठमाडौँ बसेर काठमाडौँलाई गाली गर्ने कविहरूको प्रवृत्तिविरुद्ध उहाँले सदैव शान्त प्रतिवाद गरिरहनुभयो । प्रस्ट छ, काठमाडौँबाट आज स्वयम् काठमाडौँ, यहाँको स्वःनिग र नदी सभ्यता विस्थापित हुँदै छ । पाको न्युरोडमा जन्मे पनि विस्थापित भएर स्वयम् उहाँको परिवार बत्तिसपुतली पुग्यो । त्यहाँबाट फेरि बल्खु पुग्यो ।

सर्वस्वीकृत व्यक्तित्व

सुरेश किरणको निधनले मलाई एक्कासि रुसी आख्यानकार भासिलेई सुक्सिनको एउटा प्रसङ्ग सम्झाइदियो । सुक्सिनको मृत्यु त्यतिखेर भएको थियो जब उहाँ कुनै सिनेमामा अभिनय गरिरहनुभएको थियो । छायाङ्कनका बेला संवाद बोल्दाबोल्दै मृत्यु भएको थियो । लेनिन पुरस्कार विजेता सुक्सिनको जीवनमा कैयन् विडम्बना थिए । मास्कोका सम्भ्रान्त उहाँलाई असभ्य गाउँले ठान्थे । आफ्नै गाउँले चाहिँ सम्भ्रान्त मान्थे । साहित्यकारहरू उहाँलाई फिल्मका मानिस ठान्थे । फिल्मका मानिस साहित्यकार भन्थे । लेखक र पत्रकारको दोहोरो भूमिकामा रहेका हामीमध्ये धेरैले यही विडम्बना भोग्नु परेको छ ।

मैले बुझेसम्म सुरेश किरणले यो विडम्बना भोग्नु परेन । उहाँ पत्रकार, स्तम्भकार, व्यङ्ग्यकार, कवि, पटकथा लेखक, मातृभाषा आन्दोलनकर्मी, वामपन्थी विचारक सबै भूमिकामा उत्तिकै स्वीकृत हुनुहुन्थ्यो । नेपाल मण्डल सभ्यता र काठमाडौँको अन्तर्य बुझाउने संस्कृतिसम्बन्धी उहाँका लेख अत्यन्त रुचिकार हुन्थे । पत्रकार दीपक सापकोटाका अनुसार उहाँ काठमाडौँका हरेक गल्लीका विकास, विस्तार र विलयका असली जानकार हुनुहुन्थ्यो र तीबारे रुचिकर भाषामा निरन्तर लेखिरहनुभएको थियो । त्यसबारे त्यति सरल र सम्प्रेष्य भाषामा अब कसले लेख्ला ? कसले हाम्रो जिज्ञासा मेटाउला ? 

स्मृतिको रिलमा सुरेश किरणको स्मित मुस्कान, अनुपम कविता र रैथाने स्वादयुक्त वाचन निरन्तर घुमिरहेछ । कविताका हरफबाटै कविले केही सोधिरहे झैँ लाग्छ–

तिम्रो ढोकामा ठिङ्ग उभिएको युवक

जो हात फैलाइरहेको छ

तर, केही मागिरहेको छैन

सोच, ऊ के मागिरहेको छ ?