काठमाडौँ, वैशाख २० गते । गोरखापत्र संस्थान मैत्रीपूर्ण आन्तरिक फुटसल प्रतियोगिताको उपाधि प्रशासन विभागले जितेको छ । पक्नाजोलस्थित कुमारी फुटसलमा आइतबार भएको प्रतियोगिताको फाइनलमा प्रशासन विभागले कम्प्युटर विभागलाई सडन डेथमा ३–२ गोलले हरायो । प्रतियोगितामा पुरुषतर्फ गोरखापत्र सम्पादकीय टोली तृतीय भएको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकर हुँदै सडन डेथमा पुगेर सकिएको थियो । गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित आन्तरिक फुटसल प्रतियोगितामा महिलातर्फको उपाधि गोरखापत्र अनलाइन विभागले जितेको छ ।

अनलाइन प्रकाशनले दि राइजिङ नेपाललाई ४–१ गोलले हरायो । अनलाइन विभागको जितमा लिलादेवी अधिकारीले दुई गोल गर्नुभयो । श्रृजना खत्री र उषा बरै मगरले एक एक गोल गर्नुभयो । दि राइजिङ नेपालका लागि रेनुका ढकालले सान्त्वना गोल गर्नुभयो ।
प्रतियोगितामा पुरुषतर्फ गोरखापत्र सम्पादकीय, दि राइजिङ नेपाल, गोरखापत्र अनलाइन, प्रशासन र कम्प्युटर विभाग गरी पाँच टोलीबिच लिगकम नआउटका आधारमा प्रतिस्पर्धा गराईएको थियो । लिगका शीर्ष दुई टोली प्रशासन र कम्प्युटर विभागबिच फाइनल भिडन्त भएको थियो ।
यसअघि प्रतियोगिताको गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले बल प्रहार गरी उद्घाटन गर्नुभएको थियो । विजेता टोली र खेलाडीलाई गोरखापत्र प्रकाशनको वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।
प्रथम हुने टोलीलाई नगद १० हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै, द्वितीय हुनेलाई नगद ७ हजार, तृतीय हुनेलाई नगद ३ हजार र महिला प्रथम हुने टोलीलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
