• २० वैशाख २०८३, आइतबार

माटो परीक्षणपछि किसानलाई सहज

blog

माटो परिक्षण गर्दै प्राविधिक ।तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, वैशाख २० गते । माटोको स्वास्थ्य अवस्था नबुझी खेती गर्दै आएका तनहुँको भिमाद नगरपालिकाका किसानले अब माटोको प्रकृति अनुसार सन्तुलित मल र बाली छनोटको परामर्श पाउने भएका छन् ।

भिमाद नगरपालिका कृषि विकास शाखाको आयोजना तथा माटो परीक्षण प्रयोगशाला, गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा भर्खरै माटोको परीक्षण सकिएसँगै त्यसकै आधारमा खेती गर्न पाउने भएका छन् ।

दुई दिने शिविरमा नगरपालिकाका वडा नम्बर ५, ७, ८, र ९ का १५० वटा नमुनाको परीक्षण गरिएको र त्यसको रिर्पोट आइसकेको र चाँडै नै किसानलाई परामर्श दिइने नगरपालिकाले जनाएको छ ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले किसानलाई माटो सुहाउँदो खेती गर्दा बढी उत्पादन हुने हुँदा लागत घटाउन परीक्षण फलदायी भएको बताउनुभयो ।

 प्रमुख सुवेदीले भन्नुभयो, “अन्धाधुन्ध रासायनिक मल प्रयोग गर्दा माटो बिग्रने र लगानी खेर जाने समस्या थियो । अब किसानले जमिनको आवश्यकता बुझेर मात्र मल हाल्न पाउनेछन् ।” 

किसानलाई सहज होस् भनेर  प्राविधिक आफै किसानको बारीमा हालै पुगेर परीक्षणको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जानकारी दिनुभयो ।

शिविरमा प्राविधिक टोलीले माटोको अम्लीयपन, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा जाँच गरी सुधारका उपाय सिकाएका थिए ।माटो परीक्षणको नतिजा प्रदान गरेपछि किसानहरू अब कुन बाली लगाउने र माटो कसरी सुधार्ने भन्नेमा प्रस्ट हुने सूचना प्रविधि अधिकृत आशिष सुवेदीले जानकारी दिनुभयो ।