चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २० गते । ताप्लेजुङस्थित ‘सुपर काबेली खोला–ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि सात लाख कित्ताभन्दा बढी सेयर निष्कासन गर्न लागेको हो ।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार कम्पनीले कुल सात लाख १८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । प्रतिवित्ता १०० रुपियाँ अङ्कित मूल्य रहेको उक्त सेयर आगामी वैशाख २९ गतेदेखि निष्कासन गरिने जानकारी जनसम्पर्क अधिकृत ढुङ्गानाले दिनुभयो ।
यस निष्कासनबाट कम्पनीले सात करोड १८ लाख १२ हजार ५०० रुपियाँ पुँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ । ढुङ्गानाका अनुसार यसअघि नै आयोजनाको मुख्य प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट भइसकेको छ ।
यसअघि आयोजनाको मुख्य प्रभावित क्षेत्र सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनका लागि चार लाख ६८ हजार ७५० कित्ता सेयर निष्कासन गरिएको थियो । त्यस्तै, आयोजना प्रभावित क्षेत्रअन्तर्गत सिरीजङ्घा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ लिम्बुदिन र वडा नं. ६ मेहेलेका बासिन्दाका लागि पनि चार लाख ६८ हजार ७५० कित्ता सेयर नै निष्कासन गरिएको थियो । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुर र पाथीभरा याङवरक गाउँपालिकाका केही वडाहरू पनि प्रभावित क्षेत्रमा समेटिएका थिए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ९३ हजार ७५० कित्ता सेयर पनि बाँडफाँट भइसकेको जनसम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
काबेली खोलाको पानी उपयोग गरी उत्पादन गरिएको १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली–ए’ जलविद्युत् आयोजनाको विद्युत् यसअघि नै राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ ।