सिराज खान
नेपालगन्ज, वैशाख २० गते । स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गको खजुरा बजार खण्डको एक हजार ८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताको अगुवाईमा सडक फराकिलो पार्ने हस्ताक्षर अभियान सुरु गरिएको रास्वपाका खजुरा गाँउ समितिका नेता विजय गुरुङले बताउनुभयो ।
उहाँले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडि सारेर दुबै तर्फ १–१ मिटर सडक फराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई आग्रह गर्ने गरि हस्ताक्षर सङ्कलन भइरहेको जनाउनुभयो ।
खजुरा बजार क्षेत्रको दाँया र बाँया दुवैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण हुनुपर्नेमा बजार क्षेत्रमा साँघुरो र अव्यवस्थित सडक बन्दै गरेको हुँदा फराकिलो सडक निर्माणका लागि पहल स्वरुप हस्ताक्षर सङ्कलन गर्ने कार्य भइरहेको स्थानीयले जनाएका छन् ।
स्थानीयबासीले स्वतस्फुर्त रुपमा हस्ताक्षर गरेर दवाव सृजना गरिरहेको खजुराका स्थानीय अगुवा सुशील भट्टराईले बताउनुभयो।
उहाँले जनताको हस्ताक्षर लिएर हुलाकी राजमार्ग निर्देशनालयमा डेलिगेसन जाने तयारी गरिएको पनि जानकारी गराउनुभयो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक निर्माणका लागि २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर, कम्तीमा ५ पटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता खारेज गरिएको थियो ।हाल हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा पुगेको सो सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
सडकसँगै हाल पेडारी नाला तथा किरण नालाको पुल निर्माणको काम पनि भइरहेको छ । हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टीकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् ।
साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुको रोजाइ हुलाकी राजमार्ग हुने गरेको जनाइएको छ ।