• २० वैशाख २०८३, आइतबार

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

blog

तस्बिरः अनुप प्रधान

काठमाडौँ, वैशाख २० गते ।बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् ।

बङ्गलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले नेपाली फोटोपत्रकारलाई अवार्ड प्रदान गर्नुभयो ।समारोहमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रबन्ध सम्पादक अर्शाद होसैन, बङ्गलादेश फेडरल युनियन अफ जर्नालिस्टका महासचिव कादेर गोनी चौधरी र बङ्गलादेश फोटो जर्नालिस्ट एसोसिएसनका अध्यक्ष एकेएम मोहसिन लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा रहेको नेपाली टोलीका सदस्यहरूलाई सो अवसरमा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्यहरू मुकुन्द कालिकोटे, अनुप प्रधान र हरिस सिंह नगाल रहेका छन् ।

यसैगरी, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा र साधारण सदस्य रामशरण ‘अजय’ महर्जनलाई पनि सम्मान प्रदान गरिएको छ ।सोही अवसरमा बङ्गलादेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २७ जना उत्कृष्ट फोटोपत्रकारलाई समेत अवार्डद्वारा पुरस्कृत गरिएको थियो । 

नेपाल र बङ्गलादेशबीचको २१ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध, “ब्युटीफुल नेपाल” फोटो प्रदर्शनी तथा फोटोपत्रकारिता सम्बन्धी सेमिनारमा सहभागी हुन पुगेको नेपाली टोलीको सम्मानमा बङ्गलादेश फोटो जर्नालिस्ट एशोसिएसन र अवार्ड सम्मान समितिले पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले दुई राष्ट्रबीचको पत्रकारितामा सहकार्य, अनुभव आदानप्रदानका साथै पर्यटन, सांस्कृतिक एवं व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।