• ६ जेठ २०८१, आइतबार

गणेशमान सिंह स्मृति वाटिका, औपचारिक उद्घाटनको तयारी

blog

भक्तपुर (कटुञ्जे), भदौ ३१ गते । साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उद्घाटन हुने भएको छ  । २०४६ सालका जनआन्दोलन कमाण्डर लौह पुरुष गणेशमान सिंहको १२ फिट अग्लो  ढलौटबाट निर्मित सालिकको अनावरणसँगै आगामी असोज २ गते वाटिकाको पनि उद्घाटन हुन लागेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथबरसिंह बस्नेतले जानकारी दिनुभयो । उक्त प्रतिमा स्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गर्नुभएको थियो । 

यसअघि गत चैतमा नै उद्घाटन गर्ने तयारी गरे पनि केही प्राविधिक कारणले गर्न नसकिएकोमा असोज २ गते स्वर्गीय सिंहको स्मृति दिवसका अवसरमा सालिक अनावरण र वाटिका उद्घाटन गर्न लागिएको उहाँले बताउनुभयो ।  

हालको सूर्यविनायक नगरपालिकाको वडा नं–५ र ६ मा पर्ने ऐतिहासिक र धार्मिक महत्व बोकेको सुवर्णेश्वर डाँडामा लौह पुरुषको स्मृतिमा वाटिका निर्माण गर्ने अवधारणा  तत्कालीन गाउँ विकास समितिका अध्यक्ष स्वर्गाीय रामेश्वर ढुङ्गेलले अगाडि सार्नुभएको थियो । कुल १७४ रोपनी १५ आना जग्गामा फैलिएको वाटिकामा पश्चिमतर्फ पर्ने ऐतिहासिक महत्वको  सुवर्णेश्वर मन्दिर परिसरलाई समेत समेटिएको छ । वाटिका निर्माण परियोजनाको सम्पूर्ण कार्य पूरा गर्नका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ । 

वाटिकामा लालिगुराँसलगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रो जस्ता जङ्गली फल र विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चराचुरुङ्गीको अध्ययन गर्न सकिने भएकाले खोज तथा अनुसन्धान गर्नेहरूका लागि यो उत्तिकै महत्वपूर्ण स्थल हुन सक्ने समितिका सदस्य पुरुषोत्तम लुइँटेलले बताउनुभयो । 

यो वाटिकाले अरनीको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । यो वाटिकाबाट उपत्यकाका कान्तिपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर र शङ्करापुरसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ  ।