• २१ फागुन २०८०, सोमबार

रगतको आहालमा कोही पानी पानी भन्दै थिए ....

blog

काठमाडौँ, कात्तिक १७ गते । खोइ त्यो घटनामा म कसरी बाँचेँ । भन्नै सक्दिनँ । बङ्करभित्र पनि आक्रमण भएपछि किचन बङ्करमा लुक्न गएका थियौँ । मैले त्यहाँ राखिएका चामलका बोराको छेको लागेर आँखा चिम्म गरेर भगवान्लाई सम्झिरहेँ । सायद त्यहीँ भगवान्ले हात थापे होलान् र हमास आतङ्कवादीको आँखा म माथि परेन । मभन्दा ठिक अघिल्तिर रहेको साथी विपिनलाई उनीहरूले घिसार्दै लगे । कञ्चनपुरका विपिन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । ऊसँगै लुकेका अरू केही थाई साथीहरूलाई पनि घिसार्दै लगे । 

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमियामा ठिक एक महिनाअघि भएको हमासको हमालमा परेर सामान्य घाइते भई स्वदेश फर्किनुभएका टीकापुरका वीरेन्द्र चौधरीले त्यो समय आफू र आफ्ना साथीले भोगेका त्रासदीपूर्ण क्षणलाई सम्झँदै भन्नुभयो । चौधरीसँग सामान्य घाइते भएका वीरेन्द्र चौधरी र प्रमोद केसीले पनि बुधबार आफूसँगै इजरायल पुगेका र त्यहाँ हमासको आक्रमणमा परी मृत्युवरण गर्न पुगेका आफ्ना १० साथीलाई श्रद्धाञ्जली अर्पण गर्दै त्यो त्रासदीपूर्ण क्षण स्मरण गर्नुभयो । नेपालस्थित इजरायली दूतावासले आयोजना गरेको श्रद्धाञ्जली सभामा देखाइएको हमास आक्रमणको भिडियो हेर्दै आफूहरू कहाँ र कसरी लुकेर बाँच्न सफल भइयो भन्ने बताउनुभयो । 

धनबहादुर चौधरीले त्यो कहालीलाग्दो क्षण स्मरण गर्दै भन्नुभयो– “हामी बिहान सुतिरहेकै समयमा आक्रमण सुरु भयो । गोला बारुद र बमहरू खस्न थालेपछि हामी १७ जना नै बङ्करमा लुक्न गयौँ । बङ्कर सुरक्षित हुन्छ भन्ने विश्वास थियो । करिब ८ बजे हामी लुकेको बङ्करबाहिर नै बम पड्कियो । आतङ्ककारीले बङ्करभित्रै बम फाले । एउटा बम विपिनले समाएर अर्कोतर्फ हुत्याइदिए । आतङ्ककारी बङ्करभित्र नै पसेर अन्धाधुन्दा गोली चलाउँदा पाँच जना घाइते भए । कसैको खुट्टा, कसैको छातीमा गोली लागेको थियो । केहीबेरमा इजरायली प्रहरीले उद्धार गरेर किचन बङ्करमा पु¥यायो ।  म भित्र गएर पल्टिएँ । खुट्टामा बारुदको छर्राले घाउ नै घाउ भएको थियो । रगत बगिरहेको थियो । अरूको अवस्था पनि त्यस्तै थियो रगतको आहालमा कोही पानी पानी भन्दै थिए । बाहिर एम्बुलेन्स आयो भनेर गएको साथी पनि पुनः गोली खाएर फर्कियो । उसले पनि पानी मागिरहेको थियो । मैले जसोतसो पानी दिएँ, केहीबेरमा उसको श्वास बन्द भयो । म आफू बाँच्न बगेको रगत रोक्न सङ्घर्ष गरिरहेँ । बेलुका ५ बजे इजरायली सेनाले उद्धार गरेर घाइते साथीहरूलाई अस्पताल पु¥यायो । सामान्य घाइते भएका हामीलाई भने अर्को बङ्करमा राखियो । 

सल्यानका प्रमोद केसीको स्मरण पनि उत्तिकै दर्दनाक छ । बङ्करभित्र पनि हामी असुरक्षित भएकाले कसरी बच्ने भन्ने चिन्तामा थियौँ । म किचनको बेसिनको तल्लो भागलाई आफ्नै ज्याकेटले पुछेर लुकिरहेँ । जहाँ निकै गन्ध आउँथ्यो । आक्रमणकारी भित्र पसेर गोली चलाए तर म लुकेको स्थानमा सोझो गोली लागेन र बाँचेँ । आतङ्ककारी गएपछि ममाथिको बेसिनमा राखेको बम पड्कियो । धन्न तल्लो भागलाई केही भएन । त्यहाँ उनीहरूले अश्रु ग्यास पनि हानेर गएपछि श्वास फेर्न झन् कठिन भयो । मैले बेसिनको पाइपमा मुख जोरेर श्वास फेरेँ ।  उनीहरू फर्केपछि साथीहरूले मसँग पानी देऊ भनिरहेका थिए । मलै बेसिनको तल्लो भागको पाइप दाँतले टोकेर थोपा थोपा पानी चुहिने बनाएर जम्मा गर्दै साथीहरूलाई दिएँ । केही साथीले पानी पिउनसम्म भ्याए, केहीले पिउनै नपाई ज्यान गुमाइसकेका थिए । त्यो रात उद्धार भएर अर्को स्थानमा गए पनि म रातभर दराजभित्र लुकेर उभिएरै बसेँ, पछि तेल अबिबमा पुगेपछि मात्र बाँच्ने आशा पलायो । 

उनीहरूसँग गएका गणेशकुमार नेपाली, पदम थापा, प्रवेश भण्डारी, राजेशकुमार स्वर्णकार, राजेश फुराला, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, दिपेशराज विष्ट र आनन्द साहको निधन भएको छ । तीन जना घाइतेको इजरायलमा नै उपचार भइरहेको  नेपालस्थित इजरायली राजदूत हनाना गोडेरले बताउनुभयो । सिक र कमाउ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि गत असोजमा मात्र इजरायल पुगेका विद्यार्थी भोग्नुपरेको यो नियतिप्रति दुःख व्यक्त गर्दै उनीहरूलाई सदैव इजरायलको साथ रहने बताउनुभयो । मृतक पाँच जनाको शव एक÷दुई दिनभित्र नेपाल आइपुग्ने पनि उहाँले जानकारी दिनुभयो ।