• १५ चैत २०८२, आइतबार

दुई वडा कार्यालय भवन निर्माण सुरु

blog

निर्माणाधीन वडा ४ को वडा कार्यालय भवन । तस्बिरः शिवकुमार रिजाल

शिवकुमार रिजाल

मनहरी (मकवानपुर), चैत १५ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको निर्माण हुन बाँकी रहेका २ वटा वडा कार्यालय भवन निर्माण सुरु भएको छ ।

वडा ३ र ४ को भवन निर्माण कार्य आरम्भ भएको मनहरी गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारको अघिल्लो कार्यकालमै अधिकाँश वडा कार्यालयहरु निर्माण कार्य सुरु गरिएको थियो । तर वडा ३ मा पर्याप्त बजेट अभाव र वडा नं ४ मा जग्गाको व्यवस्थापन नहुँदा निर्माण हुन सकेको थिएन । 

वडा ४ को भवन निर्माणका लागि उपलब्ध हुने जग्गाको बारेमा यसअघिको कार्यकाल अनिर्णित हुँदा समयमै भवन नबनेको वडाध्यक्ष प्रकाश थापाले बताउनुभयो । वडा भेगबाट बीचभागमा पर्ने स्थानमा जग्गा खोजी गर्ने क्रममा ढिलाइ र समझदारी नहुनाले समयै भवन निर्माण हुन नसकेको उहाँको भनाइ छ । 

चालू आर्थिक वर्षमा ४ नं वडाको बीच भूभागमा पर्ने नरसिंह टाँडी भन्ने स्थानमा दाताहरुले दिएको २ कट्ठा जग्गामा भवन निर्माण धमाधम थालिएको हो । स्थानीय पदमबहादुर थापाबाट १ कट्ठा र गोकर्ण थापाबाट थप एक कट्ठा जग्गा दान भएपछि भवन निर्माण कार्य अघि बढेको हो । १ करोड ६४ लाख लगानीनमा निर्माणाधीन भवन साढे २ तल्लाको रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अमिरा सप्तलक्ष्मी जेभी निर्माण कम्पनीले भवन निर्माण कार्य आरम्भ गरी पहिलो तल्ला ढलाको तयारी गरेको जनाएको छ । 

यसअघि मनहरी गाउँपालिकामा १, २, ५, ६, ७ र ९ नं वडाको कार्यालय भवन निर्माण भइसकेको छ । वडा ८ भने साबिक मनहरी गाउँ विकास समिति सञ्चालन भएको पुरानै बलियो भवन भएकाले निर्माण गर्न नपर्ने बताइएको छ । वडा ३ पनि साबिक हाँडीखोला गाउँ विकास समिति सञ्चालन भएको भवनमै सञ्चालित छ ।