लेखनाथ समाचारदाता
लेखनाथ, चैत १५ गते । कास्कीको पोखरा महानगरको वडा १२, रामघाटमा रहेको अमरसिंह नमुना माध्यमिक विद्यालयमा तीन हजारभन्दा बढी अध्ययन गर्छन् । महानगरकै ग्रामीण क्षेत्रमा विद्यार्थी नहुँदा कतिपय सरकारी स्कुल गाभिएका बेला यहाँ भने प्रवेशका लागि बर्सेनि प्रवेश परीक्षा लिनुपर्ने अवस्था छ ।
विद्यालयले स्थापनाको ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार मनाएको छ । विद्यार्थी सङ्ख्या बढ्दै गएपछि विद्यालयले पूर्वाधारसमेत थप्दै लगेको व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला बताउनुहुन्छ । विद्यालयमा भौतिक पूर्वाधार विकासका लागि यो वर्ष भारतीय दूतावासले २० करोड रुपियाँ अनुदान दिने भएको छ ।
“सो रकमबाट विद्यालयको नयाँ भवन निर्माण नयाँ चाँडै थाल्छौँ,” अध्यक्ष कोइरालाले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अमरसिंह देशकै उत्कृष्ट सामुदायिक विद्यालय भएको उल्लेख गर्नुभयो । यो स्कुललाई गण्डकी प्रदेश सरकारले रेक वर्ष पाँच लाख रुपियाँ सहयोग गर्दै आएको छ ।
मन्त्री थापाले विद्यालयको चौतर्फी विकास र गुणस्तर सुधारका लागि सरकारले पहल जारी राख्ने जनाउनुभयो । “उत्कृष्ट शिक्षाको गुणस्तर कायम गरी नमुना बनेको यो स्कुलको भौतिक संरचनाको निर्माणमा प्रदेश सरकारले यथोचित साथ दिनेछ,” उहाँले भन्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले यहाँ अध्ययन गर्न विद्यार्थीको भीड लाग्ने गरेको उल्लेख गर्दै विद्यालयले आफ्नो साख जोगाइराख्नुपर्नेमा जोड दिनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्रीले यो विद्यालयमा पढेका विद्यार्थी चिकित्सा क्षेत्रमा प्रशस्त भेटिने सुनाउनुभयो ।
“अमरसिंहका विद्यार्थीको उपस्थिति चिकित्सा क्षेत्रमा राम्रो छ, अब विद्यालयले समयसापेक्ष व्यावसायिक शिक्षामा पनि ध्यान दिनु जरुरी छ,” उहाँले भन्नुभयो । विद्यालयमा दृष्टिविहीन विद्यार्थीले पनि अध्ययन गर्दै आएका छन् । दृृष्टिविहीन विद्यार्थीको शैक्षिक सुधारका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा प्राडा खत्रीको जोड छ ।
सोही अवसरमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले विद्यालयमा तयार भएको आकस्मिक उपचार कक्ष सुरुवात गर्नुभयो । वडा कार्यालयले पोखरा–१२ का सरकारी स्कुलमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बिमा गरिदिन थालेको छ ।
“सरकारी स्कुलमा अभिभावकको आकर्षण बढाउन र स्वास्थ्यको पहुँच विस्तारका लागि अभिभावकहरुको बिमा गरिदिन थालेका छौँ,” उहाँले भन्नुभयो । समारोहमा विद्यालयले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गर्नुका साथै विभिन्न व्यक्तित्वलाई दीर्घसेवा सम्मान पनि गरेको छ ।