• १५ चैत २०८२, आइतबार

सिमेन्ट उद्योग प्रभावितद्वारा सडक कालोपत्रेको माग गर्दै ज्ञापनपत्र

blog

सडक कालोपत्रे गर्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै स्थानीय । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, चैत १५ गते । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण प्रभावित घोराही उपमहानगरपालिका–१७ असारेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। 

टिप्परका कारण जीर्ण बनेको घोराही–मुर्कुटी सडकखण्ड कालोपत्रे गर्नुपर्ने माग गर्दै असारे टोल विकास सस्थाले जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिकाको कार्यालय, सडक डिभिजन कार्यालयसँगै घोराही उपमहानगरपालिका–१७ वडा कार्यालयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् । 

घोराही–मुर्कुटी सडकखण्डअन्तर्गत चल्ने सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण घोराही–१७ डवरीदेखि बंगलाचुली गाउँपालिकासम्मको करिव १५ किलोमिटर सडक जीर्ण भएको भन्दै स्थानीयले गुणस्तरीय सडक कालोपत्रे गर्नका लागि माग गर्दै ज्ञापनपत्र बुझाएको असारे टोल विकास संस्थाका अध्यक्ष रामबहादुर पुन बताउनुहुन्छ । टिपरका कारण सडक जीर्णसँगै धुलोले स्वास्थ्य र कृषिमा समेत असर गरेको भन्दै अध्यक्ष रामबहादुर पुनले जतिसक्यो सडक कालोपत्रेका लागि पहल गरिरिन माग गर्नुभएको छ । 

घोराही–मुर्कुटी सडकखण्डअन्तर्गत बंगलाचुली गाउँपालिकाको तापा र स्यूजामा रहेको चुनखानीबाट घोराही सिमेन्ट उद्योग, सोनापुर सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र अग्नी सिमेन्ट उद्योगका लागि  टिपरले चुनढुंगा बोक्ने गरेका छन् । 

टिपरका कारण सडक जीर्ण भएको भन्दै स्थानीय शुक्रवारदेखि आन्दोलित रहेका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतवार जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, घोराही उपमहानगरपालिकासँगै घोराही–१७ नम्वर वडा कार्यालयमा ज्ञापनपत्र बुझाइएको घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले जानकारी दिनुभएको छ । उक्त सडकमा दैनिक एक सय बढी सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परहरु चल्ने गरेका छन् ।