• १५ चैत २०८२, आइतबार

सप्तरीमा ११औँ दिनाभद्री जन्मोत्सव मनाइयो

blog

११औँ दिनाभद्री जन्मोत्सव र्‍यालीमा सहभागीहरु । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, चैत १५ गते । नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीको आयोजनामा ११औँ दिनाभद्री जन्मोत्सव आइतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजविराजमा वृहत् र्‍याली प्रदर्शन गर्दै मुसहर समुदायमाथि हुने विभेद अन्त्य गर्नुपर्ने माग गरिएको हो । 

प्रदर्शनमा सहभागीहरूले समुदाय अझै पनि आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रूपमा पछाडि परेको उल्लेख गर्दै राज्यको ध्यानाकर्षण गराएका थिए । संघले गरिबी, अशिक्षा, भूमिहीनता तथा अवसरको अभावका कारण मुसहर समुदाय समस्यामा परिरहेको जनाइएको छ ।

यसैबीच, जन्मोत्सव कार्यक्रम राजविराज नगरपालिका–५ बलानन्द टोल र वडा २ योगिया बस्तीमा तीन दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइने जानकारी दिइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा समुदायका अगुवाहरूको सहभागिता रहने जनाइएको छ ।

संघले १८ बुँदे मागअघि सार्दै निःशुल्क तथा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सुनिश्चितता, सुरक्षित आवास व्यवस्था तथा सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेको छ । साथै, स्वास्थ्य सेवा तथा बीमाको पहुँच विस्तार र मुसहर आयोग गठनको मागसमेत गरिएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारी प्रक्रियालाई सरल, सुलभ र पारदर्शी बनाउनुपर्ने, सीपमूलक तालिमको पहुँच बढाउनुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान गर्नुपर्ने तथा प्राविधिक शिक्षामा समान अवसर सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ ।

र्‍यालीमा सहभागीहरुले  बेरोजगार युवालाई भत्ता वा रोजगारीको व्यवस्था गर्नुपर्ने, ५० वर्षमाथिका मुसहर नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने तथा दिनाभद्री मन्दिरलगायत धार्मिक स्थलहरूको संरक्षण र विकास गर्नुपर्ने माग गरिएको छ। संघले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।