• ६ चैत २०८२, शुक्रबार

सभापतिको राजीनामाबारे निर्णय लिँदै कांग्रेस

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, चैत ६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हो । सभापति गगनकुमार थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाउनुभएको छ । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुने छ ।

विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले गर्नुहुने छ । उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा हुने छ । उहाँले भन्नुभयो, “एउटा लोकतान्त्रिक पार्टीले जीवनमा निर्वाचनको हारजितलाई स्वाभाविक रूपमा लिनु पर्छ । स्वीकार गरेर आगामी कार्यदिशा तय गर्नु पर्छ ।” सभापति थापाले राजीनामा बुझाएपछि कांग्रेसमा नयाँ बहस सुरु भएको छ तर केन्द्रीय कार्यसमितिको निर्णयपछि सभापति थापा पुनः जिम्मेवारीमा फर्किने सम्भावना कायम छ । उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जानकारी दिनुभयो ।