काठमाडौँ, चैत ६ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजेका लागि निर्धारण गरेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँगको छलफलपछि सचिवालयले शपथको मिति र समय तोकेको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजे हुने तय भएको जानकारी दिनुभयो । संविधानको धारा ८८ ले सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था गरेको छ । प्रवक्ता गिरीका अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउनुहुने र लगत्तै ज्येष्ठ सदस्यले नवनिर्वाचित २७४ सदस्यलाई शपथग्रहण गराउनुहुने छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले चैत १२ गते राष्ट्रपति कार्यालयमा शपथग्रहण गर्ने र सोलगत्तै सिंहदरबारमा नवनिर्वाचित बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथग्रहण गराउनुहुने छ । प्रवक्ता गिरीले भन्नुभयो, “ज्येष्ठ सदस्यको नाम टुङ्गो लागेको छैन । सचिवालयले नागरिकता प्रमाणपत्र जाँच गरेर उमेर गणना गरी ज्येष्ठ सदस्य पुष्टि गर्ने छ । शुक्रबार अपराह्नसम्म ज्येष्ठ सदस्यको टुङ्गो लाग्छ ।”
निर्वाचन आयोगले बिहीबार मात्रै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घीय संसद् सचिवालयलाई पठाएको छ । आयोगले शपथको मिति तोक्न आयोगको प्रतिवेदन पर्खेको थियो ।
सिंहदरबारमा भएको छ दलका प्रतिनिधिसँगको छलफलमा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल, राप्रपाका ज्ञानबहादुर शाही र श्रम संस्कृति पार्टीका प्रतिनिधि सहभागी थिए ।
चैत तेस्रो सातादेखि संसद्को बैठक
निर्वाचन आयोगले राष्ट्रपति पौडेललाई निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेपछि राष्ट्रपति कार्यालयले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने छ । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ ।
आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाएकाले संविधानको सो व्यवस्थाबमोजिम राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने बाटो खुला भएको छ । शपथग्रहणलगत्तै संसद्को अधिवेशन आह्वान र प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु हुने छ ।
प्रवक्ता गिरीका अनुसार संसद् अधिवेशन बोलाउनेबारे राष्ट्रपतिको कार्यालयसँग अनौपचारिक छलफल र समन्वय भइरहेको छ । चैत १२ गते नवनिर्वाचित सदस्यले शपथग्रहण गरेपछि राष्ट्रपतिबाट सोलगत्तै अधिवेशन आह्वान हुन सक्ने छ । सचिवालय स्रोतका अनुसार चैत १६ गते नवगठित प्रतिनिधि सभाको पहिलो बैठक बस्ने छ । अहिले नै तय भइसकेको छैन तर १६ गते बैठक बस्ने गरी आन्तरिक तयारी भइरहेको सचिवालय स्रोतले उल्लेख ग¥यो ।
शपथग्रहणपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने छ । संविधानको धारा ७६ (१) बमोजिम अबको प्रधानमन्त्री नियुक्त हुने छन् । सो धाराले राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद्को गठन हुने व्यवस्था गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमनिर्वाचन २०८२ मा बहुमत प्राप्त गरेको छ । सो धाराबमोजिम रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने छन् । शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री र सरकार गठनका लागि दाबी पेस गरेपछि राष्ट्रपतिले सो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुहुने छ ।
नवयुवा पुस्ताको आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गते राजीनामा दिनुभयो । राष्ट्रपति पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागु हुने गरी आमनिर्वाचन २०७९ बाट गठित प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गर्नुभयो ।