• ७ जेठ २०८१, सोमबार

सुदूरपश्चिममा एक वर्षमा दुई ठूला भूकम्प : जोखिम कायमै

blog

काठमाडौं, असोज १६ गते । सुदूरपश्चिम प्रदेशमा एक वर्ष नवित्दै दुईवटा ठूला भूकम्प गएका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार यस प्रदेशमा एक बर्षको अन्तरालमै ६ रेक्टरस्केल माथिका दुईवटा ठूला भूकम्प गएका छन् । 

आज मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा  बझाङ चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको छ । गत साल कार्तिक २३ गते सुदूरपश्चिम प्रदेशकै डोटीमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

आज बझाङमा अन्य चार वटा पराकम्पहरु पनि गएका छन् । भूकम्पबाट केही घरहरु भत्तिएका छन् भने घाइतेहरू अस्पताल आउने क्रम जारी छ । भूकम्पविद् अधिकारीका अनुसार ठूलो भूकम्प गएपछि त्यसको केही समयसम्म नै पराकम्पहरु गइरहन्छन् । 

उहाँका अनुसार पश्चिम नेपाल भूकम्पीय जोखिममा परेको क्षेत्रअन्तर्गत पर्दछ । 

यस क्षेत्रमा करिब ५०० बर्ष अघिबाट भूकम्पीय शक्ति सञ्चित रहेकाले भूकम्पको जोखिम बढी रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “नेपालको सुदूरपश्चिम क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र हो । यहाँ करिब ५०० वर्षअघिदेखि भूकम्पीय शक्ति सञ्चित छ । त्यसैले भूकम्पको जोखिम उच्च नै छ ।” 

दैनिक औषत १० वटा साना भूकम्प गइरहन्छन् 

वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालमा दैनिक औषतमा १० वटा स–साना भूकम्पहरु मापन भइरहन्छन् । 

नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममै रहेकाले यहाँ साना भूकम्पहरु गइरहन्छन् । 

उहाँले भन्नुभयो, “नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममै रहेकाले यहाँ दैनिक औषत १० वटा स–साना भूकम्पहरु मापन भइरहेका हुन्छन् । तर हामीलाई ४ रेक्टरमाथिका भूकम्पहरु जाँदा मात्र महशुुस हुन्छ ।” 

विशेषगरी नेपालको पूर्वी, मध्य र पश्चिम नेपाल भूकम्पीय उच्च जोखिममा रहेको छ । 

गोरखा र यसबाट पश्चिमतर्फको भाग भारतको देहरादुनसम्म नै भूकम्पीय जोखिम रहेको उहाँको भनाइ छ । 

१ रेक्टरमा ३२ गुणा शक्ति फरक पर्छ 

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम क्षेत्रमा स–साना भूकम्पहरु जाँदैमा ठूलो जोखिम भने नहट्ने बताउनुहुन्छ ।

एक रेक्टर स्केलको फरक पर्दा ३२ गु्णा बढी भूकम्पीय शक्ति आवश्यक पर्ने भएकाले स–साना भूकम्पले जोखिम हट्दैन ।

उहाँले भन्नुभयो, “भूकम्पमा एक रेक्टर स्केलको फरक पर्दा ३२ गुणा बढी शक्तिको फरक पर्छ । जस्तै, ६ रेक्टर स्केलको भूकम्प र ७ रेक्टरको भूकम्पमा तुलना गर्दा ७ रेक्टरको जाँदा ६ को भन्दा ३२ गुणा बढी शक्ति आवश्यक पर्छ ।” 

तर दुई रेक्टर स्केलको फरक परेको खण्डमा भने एक हजार गुणा शक्ति आवश्यक गर्ने उहाँ बताउनुहुन्छ । 

त्यसैले पश्चिम क्षेत्रमा ठूलो मात्रामा सञ्चित रहेको शक्ति खर्च हुनका लागि स–साना भूकम्प हजारौँ जानु आवश्यक पर्छ ।

यो पनि पढ्नुहोस

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

बझाङको भूकम्पले बैतडीका घर चर्किए

बझाङमा ५.३ रेक्टरको भूकम्प

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।