• ७ मंसिर २०८१, शुक्रबार

अस्पताल प्राङ्गणमै प्रसूति गराइयो : घाइते नौ जनाको उपचार हुँदै

blog

जिल्ला अस्पताल बझाङको प्राङ्गणमा प्रसूति गराउँदै स्वास्थ्यकर्मी । तस्बिर : जिल्ला अस्पताल बझाङ

अविनाश चौधरी

धनगढी, असोज १६ गते । बच्चा जन्माउनका लागि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी एक महिलाको अस्पताल प्राङ्गणमा  प्रसूति  गराइएको छ । तल्कोट गाउँपालिका-१ की २० वर्षीया मनीषा ऐरीको अस्पताल प्राङ्गणमा  प्रसूति गराइएको हो । प्रसव व्यथाले उहाँ छट्पटाई रहेकी बेला आज भूकम्प गएपछि त्रसित स्वास्थ्यकर्मीले उहाँलाई अस्पतालको प्राङ्गणमा सार्नु भएको थियो । मनीषाको ‘नर्मल डेलिभरी’ भइसकेको अस्पतालका डा. इन्द्र शाहले जानकारी दिनुभयो । सुत्केरी र नवजात शिशुलाई बाहिर नै राखिएको छ । 

डा. शाहका अनुसार भूकम्प गएपछि अस्पतालमा उपचाररत सबै बिरामीलाई बाहिर राखिएको थियो । “आधा बिरामी अहिले पनि बाहिरै छन्”, उहाँले भन्नुभयो । यस्तै, भूकम्पले संरचना भत्किँदा घाइते भएकाहरू पनि उपचारका लागि अस्पतालमा भर्ना हुनेक्रम जारी रहेको छ । अहिलेसम्म नौ जना घाइते भर्ना भइसकेको डा. शाहले जानकारी दिनुभयो ।

आज दिउँसो २ः४० बजे बझाङको तल्कोट आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केल र त्यसपछि आधा घण्टाको फरकमा चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले बझाङमा धेरै भौतिक संरचना भत्किएको छ । त्यस्तै, घरहरू चर्किएका छन् । भूकम्पको धक्का प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत महसुस भएको थियो ।