कविराज घिमिरे
हिले, कात्तिक १० गते । सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ ।
आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई ५ अर्ब बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिंहले सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
गाउँपालिकाको २० प्रतिशत र खेतान फाउन्डेसनको तर्फबाट ८० प्रतिशत लागत साझेदारी रहनेगरी भएको सम्झौताको काम आगामी पाँच वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । यो सहयोगबाट गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवनसहित स्वास्थ्य, पूर्वाधार, रोजगार, पर्यटन र ऊर्जाको क्षेत्रमा काम हुनेछ ।
सहयोग कार्यान्वयनपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, पर्यटन र ऊर्जाको क्षेत्रमा उल्लेख्य फाइदा पुग्ने विश्वास पालिकाको छ । पालिका अध्यक्ष मनोज राईका अनुसार पाँच अर्ब बराबरको सहयोग आगामी पाँच वर्षभित्रमा भित्रिसक्ने छ । यो लगानीपछि पालिका रोजगारीका अवसर, शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा धेरै फाइदा पुग्ने राईको भनाइ छ ।
कोसी प्रदेश सरकारको समन्वयमा पालिकाले यो सहयोग पाउन लागेको हो । सम्झौता कार्यक्रम धनकुटा पुग्नु भएका मुख्यमन्त्री कार्कीले प्रदेशकै पछि परेको पालिकाको रूपमा रहेकाले यो सहयोगको लागि सहिदभूमि गाउँपालिकालाई सिफारिस गरिएको बताउनुहुन्छ । यो कार्यक्रम पहिलेबाटै सुरु हुने भए पनि कोरोना महामारीका कारण अहिले आएर सुरु गरिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
यस्तै, सोही कार्यक्रममा खेतान फाउन्डेसन र ह्युम्यान प्राक्टिस फाउन्डेसनबिच कोसी प्रदेशका हिमाली ३ र पहाडी ८ जिल्लामा ३ अर्बको लगानीमा माध्यमिक विद्यालय भवन, आइसिटी तालिम लगायतमा खर्च गर्ने सम्झौता भएको छ । जसमा खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिंह र ह्युम्यान प्राक्टिस फाउन्डेसन म्यानेजिङ डाइरेक्टर पेर्निले क्रुसे मड्सेनले हस्ताक्षर गर्नुभएको हो । कोसी प्रदेशका ११ जिल्लामा हुने काम प्रदेश सरकार तथा खेतान फाउन्डेसन र ह्युम्यान प्राक्टिस फाउन्डेसनबिच लागत साझेदारी रहने छ ।
अहिले ३ अर्बबाट सुरु भएको सहयोग दीर्घकालमा बढाएर १८ अर्बसम्म पु¥याउन सकिने ह्युम्यान प्राक्टिस फाउन्डेसनका काउन्टी डाइरेक्टर शिव रायमाझीले जानकारी दिनुभयो ।
सुरुमा तीन अर्बबाट सहयोग सुरु भए पनि पछि आबश्यक्ताको आधारमा लगानी बढ्न सक्ने उहाँको भनाइ छ । सहयोगपछि सहिदभूमि गाउँपालिकाको चौतर्फी र कोसी प्रदेशको पहाडी र हिमाली जिल्लाका पालिकालाई शिक्षातर्फ फाइदा पुग्ने कोसी प्रदेश सरकारले जनाएको छ ।