• १३ पुस २०८२, आइतबार

वीपी राजमार्गबाट लागुऔषधसहित युवक पक्राउ

blog

बर्दिवास ३ गौरीडाँडास्थित बीपी राजमार्गबाट लागुऔषधसहित पक्राउ परेका कारोवारी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, पुस १३ गते ।
प्रहरीले बर्दिवास नगरपालिका–३ गौरीडाडाँस्थित वीपी राजमार्गबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–२ पाटु टोलका २५ वर्षीय पारस राणा मगरलाई १६५ बोतल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त कमाण्डमा खटिएको ट्राफिकसहितको सुरक्षा टोलीले शनिबार मगरलाई पक्राउ गरेको छ ।

जनकपुरबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१३ नम्बरको यात्रुबाहक हायस गाडीलाई रोकी तलासी गर्दा मगरले बोकेको झोलाभित्रे टेपले  र्‍याप गरी लुकाइछिपाई राखिएको लागुऔषध ‘कोडाइन फस्फेट ट्रिपोलिडाइन सिरप’ फेला परेको ब्युरो प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो ।

बरामद लागुऔषधसहित मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शनिबारनै बर्दिवासस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । बर्दीबास प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।