• १४ पुस २०८२, सोमबार

महामन्त्री शर्माको गीतमा देशप्रेमको सन्देश

blog

काठमाडौँ, पुस १४ गते । चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् । रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा, समावेशिता, देशप्रेम, राष्ट्रभक्ति शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ ।

चलचित्र भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आह्वान गरिएको चलचित्र हो, निर्देशक कोइरालाले भन्नुभयो, “देशको समसामयिक घटनाक्रम अनि राजनीतिक विषयमा आधारित कथावस्तु भए पनि चलचित्र पूर्ण व्यावसायिक ध्येयले निर्माण गरेका हौँ । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौँ ।”

जेनजी आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरेलगायतको अभिनय छ । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नुभएको हो ।