• १० कात्तिक २०८२, सोमबार

पर्यटक आकर्षित गर्दै छेडेदह ताल

blog

खप्तड छेडेदह गाउँपलिकाको वडा ४ र ७ मा रहेको पर्यटकीय छेडेदह ताल ।

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक १० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बिचमा रहेको छेडेदह ताल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।यसको चारैतिर अग्ला भु–भाग र बिचमा समथल रहेको यो ताल हेर्दा जोकोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो पर्यटकका लागि आकर्षण केन्द्रबिन्दु बनेको हो ।

पर्यटकीयस्थलको रुपमा रहेको यो ताल यहाँको खप्तड छेडेदह गाउँपालिकाको मात्र नभइ यसले पूरै जिल्लाको शोभा र महिमा बढाउने सम्भावना रहेको पछिल्लो समय यहाँको खप्तड छेडेदह गाउँपालिका पनि यसको संरक्षण तथा प्रवर्धन कार्यमा जुट्दै गएको छ । यहाँ हिउँदको महिना तीर्थालुहरु आउने गर्छन् । वर्खाको समय यहाँका विभिन्न ठाउँदेखि आन्तरिक तथा बाह्य पर्यटकहरु आएर रमाइलो गर्ने गर्छन् ।  

त्यति मात्र होइन, यो ताल अहिले यहाँका अधिकांश विद्यालय समूह क्लबहरुको पिकनिकका लागि सङ्गमस्थलको रुपमा रहेको छ । उनीहरु यहाँ आउने र यसैमा पिकनिक खाने र त्यसपछि तालको छेउछाउमा गएर देउडा खेल्ने नाचगान गरेर रमाइलो गर्ने फोटो खिच्ने गरेको छेडेदह तालको नजिक रहेको होटल व्यवसायी बिमल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यो ताल बारेमा खासै कसैलाई चासोको विषय जस्तो लाग्दैन थियो । पछिल्लो समय यो तालको छेउमा सडक सुचारु भएसँगै धेरैको आउजाउ हुन थालेपछि अहिले यहाँ बाहिरदेखि समेत पर्यटक आउनेगरेका छन् ।”

यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै जाने हो भने यहाँ आउने गरेको आन्तरिक तथा बाह्य पर्यटकबाट यहाँका स्थानीयहरुको आर्थिक अवस्था परिवर्तन हुन सक्ने रावतले बताउनुभयो । 

बाजुराको बडिमालिका, कालाजाग्रा, बुढीनन्दा र रानीसैनजस्तै यो ताल पनि एक पर्यटकीयस्थलको रुपमा रहेको छ । तर पनि यसलाई अहिलेसम्म राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन् । 

यो झण्डै एक हजारभन्दा बढी रोपनी जमिनसम्म फैलिएको छ । यसको चारैतिर अग्लो भुभाग र बिचमा समथल रहेकाले यो तालमा पानी कहिल्यै पनि सुक्दैन । वर्खाको समय आकाशको पानी जम्मा हुने भएकाले ताल ठुलो र हिउँदमा अलि  सानो हुने गर्छ । 

ताल कति गहिरो छ भन्ने कुरा अझ पत्ता लागेको छैन् । यसको लम्बाइ चौडाई अन्दाजी एक हजार रोपनीसम्म फैलिएको हुनसक्ने सम्भावना भए पनि यसको गहिराइ भने एकिन नभएको रावतले बताउनुभयो ।

प्रकृतिको एक उपहारको रुपमा रहेको यो ताल पहिला देखि नै संरक्षणको पर्खाइमा छ । पछिल्लो समय पालिकाले प्रत्येक वर्ष थोरै भए पनि रकम लगानी गर्दैआएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताउनुभयो ।