जेनजी विद्रोहपछि एमर्जेन्सी ल्यान्डिङ गर्न निर्वाचन गर्नु परेको हो । उत्पन्न सङ्कटकालीन परिस्थितिलाई नागरिक तहबाट व्यवस्थापन गर्न चालिएको गैरसैनिक कदमलाई सेनाले पनि बुद्धिमत्तापूर्ण ढङ्गले सहयोग गरेको देखिएको छ । कहीँ कतैबाट जनता र देशलाई हानी नपुगोस् र लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध पार्ने काम नहोस् भन्ने सम्बन्धमा देखाइएको सजगतालाई सम्मान गर्नु पर्छ । फागुन २१ का लागि घोषित निर्वाचन जेनजी विद्रोहको सरल व्यवस्थापनको साधन हो भन्न सकिन्छ ।
जनताले सुशासनको अभाव व्यहोरेकै हो । काम कारबाही सकारात्मक नतिजामुखीभन्दा प्रचारमुखी र व्यक्तिमुखी भएको प्रति जनअसन्तुष्टि बढेको हो । दण्डहीनताको मौलाउँदो वातावरणप्रति दलभित्रै मौनता, उदासीनता र किंकर्तव्यविमूढताको जालो नलागेको भए र गतिशील रूपमा लोकतान्त्रिक नवीकरण र शुद्धीकरणका प्रक्रिया चालु हुन सकेको भए जेनजी विद्रोह र यससँग गाँसिएको जनधनको क्षति हुने थिएन । जब नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक एवं गौरवमय भूमिका खेलेर स्थापित भएका दलमा नैतिक, वैचारिक एवं सैद्धान्तिक स्खलन छर्लङ्गै देखिने गरी बढ्यो, जेनजी विद्रोह प्रकटीकरणको माध्यम बन्यो । समस्याका जरा कहाँ कहाँसम्म फैलिसकेका रहेछन् भनेर गहिराइ पहिल्याउँदै उत्खनन गर्न नेपालको भदौ २३ र २४ को जेनजी विद्रोहले सङ्केतस्वरूप चिनो लगाइदिएको छ । प्राकृतिक चाप एउटा संवेगप्रधान उमेर समूहबाट उत्सर्जन भयो । तैपनि, यससम्बन्धी ‘मिसरिडिङ’ समग्रतामा दलीय नेतृत्व तहमा कायम रहँदा प्रत्योत्पादक हुने देखिन्छ ।
नेपालको संविधान २०७२ को भाग २९ को धारा २६९ मा दलसम्बन्धी छुट्टै प्रावधान राखिएको छ । यस धाराले इङ्गित गरे अनुसार दलसँग जनहितका लागि मार्गदर्शक सिद्धान्त र वैचारिक स्पष्टता हुनु पर्छ ताकि त्यस अन्तर्गत जनता सङ्गठित हुन सहज होस् । सो धाराको उपधारा ४ (क) मा दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने बताइएको छ । सोही उपधाराको (ख) मा कम्तीमा पाँच वर्षमा एक पटक सबै तहमा प्रत्येक पधाधिकारीको निर्वाचन हुने व्यवस्था गर्नुपर्ने औँल्याइएको छ । यस अर्थमा दल लोकतान्त्रिक चरित्रको हुनुपर्ने परिकल्पना स्पष्टतः संविधानले अँगालेको छ । यसको निहितार्थ नेपालको संविधान पछ्याउँछौँ र लोकतन्त्र जनताको जीवनमा फलाउन–फुलाउन व्रिmयाशील हुन्छौँ भनेर राज्यकै अर्को स्वायत्त संवैधानिक निकाय निर्वाचन आयोगमा दर्ता भएको कुनै पनि दलले नेपाली जनताको मनोनैतिक, सामाजिक–सांस्कृतिक, आर्थिक र राजनीतिक प्रगतिका निम्ति समर्पित भएर काम गर्नु पर्छ भन्ने हो ।
जनहितको प्रयोजनबाट उत्प्रेरित कुनै पनि मान्यताप्राप्त लोकतान्त्रिक दलले कम्तीमा पनि अत्यावश्यक क्षेत्रका मूलभूत मुद्दा विस्तृत रूपमा परिभाषित गर्नुका साथै व्याख्या र विश्लेषणसहित तिनलाई आफ्नो केन्द्रीय समितिबाट नीति र रणनीतिका रूपमा पारित गरेर तिनकै जगमा जनतालाई सङ्गठित र सहभागी बनाउनुपर्ने हुन्छ । यही विषयमा स्थापित दल मात्र होइन, भर्खर देखा परेका प्रियतावादी स्वभावका दलसमेत चिन्तनशील हुनु जरुरी छ । अझ स्पष्ट रूपमै दलसम्बन्धी संविधानको धारामा दल लोकतान्त्रिक चरित्रको हुनुपर्ने र आन्तरिक लोकतन्त्रको अभ्यासलाई आवश्यकताको रूपमा किटान गरिएको कारणले कुनै पनि सङ्गठित राजनीतिक दल जनजीवनमा लोकतन्त्रलाई लागु गर्ने जीवन्त औजार हो भन्ने अर्थ लाग्छ । त्यसैले प्रत्येक दलले आफ्नो मातहत सङ्गठित जनसमुदायलाई मानसिक रूपमा प्रगतिशील चिन्तन गर्ने क्षमता र आलोचाकीय चेत भर्ने काम गर्नुपर्ने हुन्छ । के त यस सम्बन्धमा सन्तोषजनक प्रगति भएको छ त ? के हामीले एक दलले अर्को दललाई भलिभाँती गालीगलौज गर्ने संस्कारलाई चिन्तनयुक्त एवं समालोचकीय खुराक प्रस्तुत गर्ने संस्कृतिले प्रतिस्थापित गर्न सक्यौँ त ? यो पनि त अबको सन्दर्भमा आत्मसमीक्षा गर्नुपर्ने विषय होला नि ? यसैले, जेनजी विद्रोहका सम्बन्धमा सामान्यतः दलीय नेतृत्व तहमा विद्यमान मिसरिडिङ नहट्ने हो भने अहिलेसम्म प्रधान शक्तिका रूपमा स्थापित राजनीतिक दल आउँदा दिनमा कुन रूपमा प्रस्तुत होलान् वा कुन अवस्थामा रहलान् भन्ने प्रश्न विशेषतः अगुवा पङ्क्तिमा र फ्यान–फलोवरको चित्तमा उठ्नु पर्छ ।
देशले आमविद्रोहको झट्का व्यहोरेको छ, यद्यपि यसको पहलकर्ता जेनजी पुस्ता बने । यस विद्रोहको शान्तिपूर्ण र सजग व्यवस्थापनबाट कोही पन्छिन मिल्दैन । झन् मतदाता त लोकतान्त्रिक न्यायाधीश भएकाले जेनजी विद्रोहको व्यवस्थापनमा उनीहरूको भूमिका अपरिहार्य र निर्णायक हुन्छ नै । मतदाता चनाखो हुन नसके बारम्बार थाङ्नामा सुत्ने नियति दोहोरिरहन्छ भन्ने नजिर हामीकहाँ चहकिलो नै छ । लोकतन्त्रका पहरेदारका रूपमा भूमिका खेल्ने काम मतदाताले गर्नुपर्ने हुन्छ । हुन त कलिलै उमेरदेखि मानसिक र नैतिक गुणस्तरयुक्त पुस्ता निर्माण गर्ने नीति र रणनीतिबिना नेपाली समाजमा लोकतन्त्रको अभ्यास एक्कासि उच्च गुणस्तरयुक्त बन्ने होइन । तैपनि राष्ट्रिय राजनीतिलाई शुद्धीकरण गर्ने एउटा सहज मौका निर्वाचन पनि हो । दण्डहीनतालाई न्यूनीकरण गर्न मतदाताले उम्मेदवार छनोटदेखि नै चासो राख्नुपर्ने हुन्छ । यी कुरा सचेत मतदाताका लागि त छर्लङ्ङ होलान् नै । धरातलीय यथार्थ अर्कै भेटिन्छ । विशेषतः घटीबढीको कुरा मात्र हो, नेपालका सबै भौगोलिक क्षेत्रका राजनीतिक, आर्थिक तथा सामाजिक सूचाङ्कको पिँधमा रहेका मतदाता हरेक पटक सबभन्दा धेरै जिल्याइने पात्र बन्ने गरेका छन् ।
जेनजी विद्रोहको अहिंसात्मक व्यवस्थापनमा मतदाताको अपरिहार्य र निर्णायक भूमिका खोजिरहँदा जेनजी विद्रोहले चाहेको प्रमुख कुरा भ्रष्टाचारको दुव्र्यसनबाट मुलुकलाई मुक्त गर्नु हो भन्ने कुरा बुझाउन मेहनत गर्नुपर्ने हुन्छ । संचारपक्षीय दृष्टिबाट हेर्दा नेपाली मतदाताको उल्लेखनीय हिस्सामा सूचना प्रशोधन गर्ने, सूचना चाल्ने र मनोगत सूचनाबाट वस्तुगत सूचना छान्ने क्षमता विल्कुल अपर्याप्त छ । ऐतिहासिक परिणामको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने संस्कृतिको न्यून विकास भएको छ । यस्तो स्थितिमा नेपाली समाजमा धारणा अगुवाको ठुलो भूमिका हुन्छ । मिडिया र विज्ञवृत्तबाट प्राप्त सूचनालाई उपयुक्त व्याख्या–विश्लेषण गरेर मतदातालाई छर्लङ्ग बनाउने महत्वपूर्ण भूमिका धारणा अगुवाको हुन्छ । सार्वजनिक मुद्दाबारे बुझाइदिने धारणा अगुवा को हुन् भन्ने पूर्वपरिभाषा हुँदैन । सन्दर्भ विशेषले धारणा अगुवा फरक फरक प्रकृतिका हुन सक्छन् । जस्तैः सामाजिक अगुवा तथा अभियन्ता, स्थनीय तहका शिक्षक–शिक्षिका, मिडियाका सहजकर्ता, मिडियामा अन्तर्वार्ता दिने विज्ञ, स्तम्भकार आदिले सूचनाको व्याख्या–विश्लेषण गरेर सर्वसाधारणलाई बुझाउन सक्छन् । त्यस्तै, सामाजिक सञ्जाल प्रभावक, समाजसेवी, सामुदायिक अगुवा पनि धारणा अगुवा बन्न सक्छन् । यस प्रकार, धारणा अगुवाले सुशासन र विकास–लक्षित जेनजी विद्रोहको शान्तिपूर्ण व्यवस्थापनमा मतदाताको अपरिहार्य र निर्णायक भूमिका रहन्छ भन्ने बुझाउन आवश्यक छ ।
नेपाली मतदाता केका लागि मतदान गर्ने भन्नेमा सचेत भएर बस्नु पर्छ । संरचनागत, संस्थागत, नीतिगत एवं कार्यान्वयनात्मक रूपान्तरणका साथै संविधान संशोधनतर्फ मुलुकलाई डो¥याउने एजेन्डाको खोजमा मतदाता हुनु पर्छ । माथि इङ्गित गरिएका प्रकृतिका एजेन्डालाई मतदाताले जोड दिन सकेनन् भने कालेको ठाउँमा गोरेलाई जिताएर मात्र जेनजी विद्रोहको सही व्यवस्थापन हुन सक्दैन । अबको निर्वाचनपछि पनि मुलुक यथास्थितिमै जकडिन पुग्यो भने नेपाली समाजमा नैराश्य झनै बढ्न जान्छ र विभाजनकारी शक्तिलाई थप बल पुग्न जान्छ । सकारात्मक रूपान्तरणको पथ अँगाल्नु नै सबै दलका निम्ति श्रेष्ठ उपाय हो । नेतृत्वले आफूलाई नबदले मुलुक बदलिँदैन ।
आफूलाई बदल्न सोचमा परिवर्तन आवश्यक छ । सोचको परिवर्तनले चरित्र र व्यवहारको परिवर्तनलाई दिग्दर्शन गर्छ । दलहरूले विगतको तुलनामा नतिजा–केन्द्रित एवं कर्मवीर उम्मेदवार दिने अपेक्षा गर्नु नराम्रो होइन । ‘मतदातालाई राम्रो व्यक्ति छान्ने मौका नदिने हो भने चुनाव निरर्थक अभ्यास मात्र हुन्छ’ भन्ने बिपी कोइरालाको प्रख्यात उक्ति स्मरण गर्न सकिन्छ ।