• १५ वैशाख २०८१, शनिबार

तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

blog

काठमाडौँ, असोज ५ गते । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ।

आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सुशासन महाशाखाका प्रमुख सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकार चौबिसै घण्टा सञ्चालनमा आएसँगै गुनासो तेब्बरले बढेको जानकारी दिनुभयो। उपाध्यायका अनुसार दैनिक औसत ५० टेलिफोन र ४० वटा सामाजिक सञ्चार माध्यमबाट गुनासो आउने गरेकोमा पछिल्लो समय औसत १५० टेलिफोन र १२० वटा सामाजिक सञ्चारबाट गुनासो आउन थालेको छ। हेलो सरकार चौबिसै घण्टा सुरु भएको पछिल्लो १७ दिनमा मात्र दुई हजार ६५० वटा गुनासो टेलिफोनबाट दर्ता भएका छन्।

सोही अवधिमा फेसबुक, इमो, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालबाट थप एक हजार ८०८ गुनासो दर्ता भएका छन्। महाशाखाले यसरी आएका गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएको छ। 

हेलो सरकारमा सबैभन्दा बढी गुनासो त्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डबाट प्रदान गर्ने समकक्षता पाउन झेल्नु परेको झन्झट, लोडसेडिङ अन्त्य भए पनि बत्ती जाने समस्या, व्यक्तिगत लेनदेनबाट हुने ठगी, वैदेशिक रोजगारीका नाममा ठगी भएका गुनासा बढी रहेको महाशाखाले जनाएको छ।

त्यसै गरी अनलाइनमार्फत हुने ठगी, बैङ्किङ कसुर, सहकारी ठगीका गुनासा पछिल्लो समय ह्वात्तै बढेका छन्। शिक्षा तथा निजामती विधेयकबारेका गुनासो, सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, विकास निर्माण मापदण्ड पूरा नभएका गुनासा बढेका छन्। सरकारले सुरु गरेको स्वास्थ्य बिमाबाट स्वास्थ्य सेवा र भुक्तानी नपाएको, नागरिकता पाउन बेहोर्नुपर्ने झन्झट, सरकारी कार्यालयमा फोन नउठ्ने गुनासो हेलो सरकारमा बढ्न थालेको पाइएको छ। त्यसै गरी अदालतबाट भएका फैसला कार्यान्वयनमा ढिलाइ, नेपाल प्रहरी, स्थानीय निकायबाट हुने कामकारबाही, सडक, सिँचाइ, यातायात, स्वास्थ्य र सरकारी तथा गैरसरकारी कामका गुनासो बढी छन्। 

महाशाखाले तत्काल सम्बोधन गर्नुपर्ने खालका अत्यावश्यक र समय लाग्ने प्रकृतिका गुनासो वर्गीकरण गरी समाधानका लागि तदारुकता दिने गरेको महाशाखा प्रमुख उपाध्यायले बताउनुभयो।

यसबिचमा मकवानपुर र ओखलढुङ्गाबाट उपचारका लागि काठमाडौँ आएका बिरामीले सरकारी अस्पतालमा उपचारका लागि शøया नपाएको गुनासो हेलो सरकारमार्फत समाधान भएको महाशाखाले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा विदेश जाँदा लिनुपर्ने श्रम स्वीकृति र विदेशमा पुगेपछि श्रम सम्झौताविपरीत काम लगाएको भन्ने उजुरी पनि महाशाखाको पत्रचारपछि समाधान भएको छ।

हेलो सरकारमा कतिपयले मोबाइल कसरी रिचार्ज गर्ने, राहदानीको फाराम कसरी भर्ने तथा बिजुली कति बेला जान्छ, आउँछ ? भन्ने जस्ता सामान्य प्रकृतिका सोधपुछ गर्ने क्रम पनि बढेको छ। तीमध्ये ५९ प्रतिशत गुनासो महाशाखामार्फत समाधान भइसकेको महाशाखाले जनाएको छ। पछिल्ला १२ वर्षमा टेलिफोन र प्रत्यक्ष गरी ३७ हजार १७२ वटा गुनासो दर्ता भएकोमा २२ हजार एक उजुरी हेलो सरकार कक्षबाटै फस्र्योट भएका र २८७ वटा उजुरी स्वयम् निकायले समाधान गरेको पाइएको छ। 

महाशाखाले सात हजार १५७ प्रकारका उजुरीबारे अनुसन्धान भइरहेको जनाएको छ । पाँच हजार ६१५ वटा उजुरी हेरिएको भए पनि समाधानको प्रक्रियामा पुगेका छैनन्। त्यसै गरी दुई हजार ११२ उजुरी भने सम्बन्धित निकायले कुनै कारबाही नै नगरी थन्क्याएका छन्। सबैभन्दा बढी गुनासो प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित तीन हजार ५२३, राष्ट्रिय सूचना प्रविधि केन्द्रका दुई हजार ९३६, नेपाल विद्युत् प्राधिकरणका एक हजार ७७६ वटा दर्ता भएका छन्। त्यसै गरी त्रिभुवन विश्वविद्यालय, सडक विभाग र महानगरपालिकासँग सम्बन्धित गुनासो बढी छन्।