• २१ वैशाख २०८१, शुक्रबार

रेकर्ड नरहने इनकग्निटो मोड

blog

हामीले मोबाइल तथा कम्प्युटर उपकरणमा गुगल क्रोम, इन्टरनेट एक्सप्लोरर, मोजिला फायरफक्सलगायतका वेब ब्राउजरको सहायताले वेबसाइट खोल्ने गर्छाैं। ब्राउजरको सहायताले वेबसाइट खोल्ने वा कुनै कुरा खोज्ने प्रक्रिया वेब ब्राउजिङ हो। तपाईंले नियमित रूपमा इन्टरनेट चलाउनुहुन्छ भने वेब ब्राउजिङ गर्ने सामान्यतया दुई वटा तरिका हुन्छन्। पहिलो तरिका भनेको सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउने र अर्को भनेको ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने।

तपाईंहरूमध्ये कतिपयले ‘इनकग्निटो’ मोडका बारेमा सुन्नुभएको होला। यो सबै ब्राउजरमा हुने सुरक्षा फिचर हो। ‘इनकग्निटो’ मोड ब्राउजरमा हुने एक यस्तो सेटिङ हो जसको प्रयोग गर्दा ब्राउजरले इन्टरनेटमा खोजी गरेका कुनै पनि वेब पेजको रेकर्ड राख्दैन।

तपाईंले सामान्य रूपमा ब्राउजरमा केही कुरा सर्च गर्नुभयो भने ब्राउजरको हिस्ट्री, कुकिजलगायतमा तपाईंले खोजेका वेब पेज र सामग्रीको सम्पूर्ण रेकर्ड रहन्छ। यसरी सिधै ब्राउजरमा कुनै कुरा खोज्दा ब्राउजर डिफल्ट मोडमा खुल्छ। तपाईंले सर्च गरेका सबै कुरा सङ्ग्रह भएर रहन्छन्। ती सङ्ग्रह भएका सबै कुरा त्यस उपकरणको प्रयोगकर्ता जोसुकैले पुनः हेर्न वा खोल्न सक्छन्। हामीले कहिलेकाहीँ इन्टरनेटमा गोप्य कुरा पनि खोजिरहेका हुन्छौँ। यस्तो बेला तपाईंले इन्टरनेटमा खोजेका कुरा अरू प्रयोगकर्ताले थाहा नपाऊन् भन्ने चाहनुहुन्छ भने यस्तो अवस्थामा ‘इनकग्निटो’ मोडमा काम गर्नु पर्छ।

सबैजसो वेब ब्राउजरमा प्रयोगकर्ताको गतिविधिको रेकर्ड राख्ने फिचर हुन्छ। जसमा प्रयोगकर्ताले सर्च गरेका वेबसाइटको नाम, पासवर्डलगायतका कुरा सङ्ग्रह भएर रहन्छन्। कतिपय अवस्थामा यो फिचर निकै उपयोगी हुन्छ भने कुनै समयमा यो फिचर प्रयोगकर्तालाई नचाहिने पनि हुन सक्छ। त्यसैले प्रयोगकर्ताले यस्तो फिचर केही समयका लागि निष्क्रिय  बनाउने विकल्प हुन्छ, जसलाई हामी ‘इनकग्निटो मोड’ भन्छौँ।

हरेक ब्राउजरमा ‘इनकग्निटो’ मोड हुन्छ तर सबै ब्राउजरमा यही नाम हुन्छ नै भन्न सकिँदैन। ‘इनकग्निटो’ मोड फिचरको काम उही भए पनि ब्राउजर अनुसार यसको नाम फरक फरक हुन्छ। गुगल क्रोममा ‘इनकग्निटो’, माइक्रोसफ्ट एजमा ‘प्राइभेट मोड’, सफारीमा ‘प्राइभेट ब्राउजिङ’ र फायरफक्समा ‘प्राइभेट मोड’ को नाम दिइएको छ।

त्यसो भए ‘इनकग्निटो’ मोड कहिले प्रयोग गर्ने त ? यसको सरल जवाफ छ, जब तपाईंले वेब ब्राउजरमा कुनै सामग्री खोज्दै हुनुहुन्छ र यस्ता सामग्री ब्राउजरमा सेभ नहोस् र अन्य कुनै प्रयोगकर्ताले थाहा नपाऊन् भन्ने चाहनुहुन्छ। यो फिचर तपाईंलाई निकै काम लाग्न सक्छ। यदि तपाईंले आफ्नो कम्प्युटर वा फोन अरूलाई प्रयोग गर्न दिनुहुन्छ भने यो फिचर अन गरेर दिनुहोस्। अथवा तपाईंले सार्वजनिक वा अरूले प्रयोग गर्ने डिभाइस केही समयका लागि प्रयोग गर्दै हुनुहुन्छ भने यो फिचर प्रयोग काम लाग्न सक्छ। अत्यन्तै जरुरी भएका बेला कुनै पनि प्रयोगकर्ताले आफ्नो मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिँदा वा अरूको प्रयोग गर्दा आफूले खोजेका सामग्री तथा सूचना चुहावट हुनबाट बच्न ‘इनकग्निटो’ मोड अर्थात् प्राइभेट ब्राउजिङ ‘प्राइभेट ब्राउजिङ’ को प्रयोग गर्न सक्नु हुन्छ।

यस्तो ब्राउजिङमा हिस्ट्री, क्यास तथा कुकिज केही पनि हटाउनु पर्दैन। यो मोडमा खोजिएका कुरा र चलाइएका विभिन्न डाटा ब्राउजर बन्द भएपछि स्वतः हराउँछन्। यदि तपाईंले यही कुरा सिधै ब्राउजरमा ‘इनकग्निटो’ मोड वा ‘प्राइभेट ब्राउजिङ’ अन नगरेर वेबसाइट खोल्नु भयो वा कुनै कुरा खोज्नु भयो भने ब्राउजरको हिस्ट्रीमा गएर सबै कुरा सङ्ग्रह भएर बस्छन्। यस्ता कुरा हटाउन तपाईंले ब्राउजरको सेटिङमा गएर क्यास तथा कुकिज हटाउनुपर्ने हुन्छ। 


“इनकग्निटो” मोड कसरी अन गर्ने ? 

गुगल क्रोममा ‘इनकग्निटो’

१. क्रोम ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेको तीन वटा थोप्लोमा क्लिक गर्ने र त्यहाँ रहेको ‘Select New Incognito Window’ अप्सनमा क्लिक गर्ने।

२. किबोर्डबाट सर्टकट Shift + ⌘ + N (on mac OS), or Shift + CTRL + N (on Windows/Linux).

माइक्रोसफ्ट एजमा ‘प्राइभेट मोड’

१. माइक्रोसफ्ट एज ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेका तीन वटा थोप्लोमा क्लिक गर्ने र त्यहाँ रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।

२. किबोर्डबाट सर्टकट Shift + CTRL + N.


सफारीमा ‘प्राइभेट ब्राउजिङ’

१. सफारीमा फाइल मेनुमा रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।

२. किबोर्डबाट सर्टकट Shift + ⌘ + N.

फायरफक्समा ‘प्राइभेट मोड’

१. फायरफक्स ब्राउजरको दायाँतर्फ माथि कुनामा रहेका तीन धर्कामा क्लिक गर्ने र त्यहाँ रहेको “New In Private Window.” अप्सनमा क्लिक गर्ने।

२. किबोर्डबाट सर्टकट Shift + ⌘ + P (on mac OS) or Shift + CTRL + P (on Windows/Linux).