टोपलाल अर्याल
रेसुङ्गा, कात्तिक २० गते । अलपत्र मुख्य खेल मैदान चिदीचौरको निर्माण कार्य पुनः सुरु भएको छ । खेल मैदान अलपत्रको विषयमा गोरखापत्र अनलाइनमा गत साउन ३० गते 'भद्रगोल चिदीचौर खेल मैदानः निराश स्थानीय र खेलाडी' शीर्षकमा समाचार प्रकाशन भएको थियो । चिदीचौर सदरमुकाम तम्घासको मुटुमा पर्छ ।
यो चिदीचौर खेल मैदानले कैयौँ राष्ट्रिय खेलाडी हुर्काएको छ । खेलका दृष्टिकोणले मात्रै नभएर मेला र उत्सवहरूको हिसाबले चिदीचौर खेल मैदान महत्त्वपूर्ण छ । यो खेल मैदानमा आफै पानी उम्रने समस्या छ । पानीसहितको मैदान व्यवस्थापनको काम गर्न सम्झौता भएर अगाडि बढेको काम निर्माण व्यवसायीले निरन्तरता नदिएपछि अलपत्र परेको थियो । जसका कारण पछिल्लो आठ नौ महिना चिदीचौरमा कुनै खेल हुन सकेन ।
लामो प्रयासपछि निर्माण व्यवसायी खोजेर काम अगाडि बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले अब समयमै खेल मैदान निर्माणको काम सकिनेमा आफू आशावादी रहेको बताउनुभयो । खेल मैदान निर्माणका लागि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले एक करोड रुपियाँको लागतमा गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ ।
ठेक्का पाएको रामेछाप कन्स्ट्रक्सनले बहुवर्षे ठेक्का भन्दै म्याद सकिने २०८२ असार कुरेर बसेको थियो। जसको कारण चिदीचौर खेल मैदानमा राष्ट्रपति रनिङ् शिल्ड गर्न नसक्दा रुरुक्षेत्र गाउँपालिका–४, घ्युबेँसीमा गरिएको थियो । बर्सेनी छात्रा फुटबल प्रतियोगिता गरिरहेको पुल्चोक युवा क्लबले सातौँ प्रतियोगिता चिदीचौर खेलमैदानकै कारण रेसुङ्गा नगरपालिका–७, उनायचौरमा गर्यो ।
फोर्टिन स्टार युवा क्लबले प्रतियोगिता नै गर्न सकेन । यो वर्ष प्रतियोगिता नभए पनि पुनः काम सुरु भएकाले खुसी लागेको फोर्टिन स्टार युवा क्लब अध्यक्ष नारायण आचार्यले बताउनुभयो । उहाँले अब कुनै कारण काम रोकिन नहुनेमा जोड दिनुभयो ।