• २० कात्तिक २०८२, बिहिबार

बाँकेमा खाद्यले २३ गतेबाट धान खरिद गर्ने

blog

किसानको खेतमा बिक्रीका लागि तयार भएको धान । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक २० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले जिल्लामा कात्तिक २३ गते आइतबारबाट धान खरिद गर्ने जनाएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले दिनुभएको जानकारी अनुसार बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले आगामी आइतबारबाट दुई ठाउँबाट धान खरिद सुरु गर्ने निर्णय गरिएको बताउनुभयो । 

उहाँले कारकाँदोस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय र नेसनल ट्रेडिङको कार्यालयमा धान खरिद गरिने बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले एक सूचना प्रकाशित गरेर किसानहरूले धान बिक्री गर्न आउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिएको छ । 

उक्त जानकारीअनुसार किसानले धान ल्याउँदा पानीले नभिजेको, सफा, केलाई सुकाई फ्रेस रहेको एकै किसिमको धान ल्याउनु पर्ने, धान ल्याउँदा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य पेस गर्नुपर्ने, धानको भुक्तानी बैँक खातामा गर्नुपर्ने भएकाले किसानको बैँक खाता प्रमाणित हुने चेक प्रतिलिपि ल्याउनुपर्ने र आफ्नो पालो आएमा मात्रै बिक्री गर्नुपर्ने बताइएको छ । 

सो सूचनामा सरकारले तोकेको मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने समेत जनाइएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएकाले सोही बमोजिमको तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो । 

कम्पनीले धान खरिदमा ढिलाइ गर्दा धेरै किसानले बजारमा व्यापारीलाई बाध्य भएर कम मूल्यमा धान बिक्री गरेको बताएका छन् । व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा करिब हजार रुपियाँ कममा धान खरिद गर्दा किसानलाई समस्या परेको उनीहरूको गुनासो छ ।