• २० कात्तिक २०८२, बिहिबार

एमालेको ११ औं महाधिवेशन

कहाँ–कहाँबाट कसरी आउँदैछन् २१२७ प्रतिनिधि

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक २० गते । नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी मङ्सिर २७–२९ सम्म काठमाडौँमा हुने महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने पार्टीले प्रष्ट पारेको छ ।  

पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट पारेर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको सङ्ख्याअनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानीमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसम्बन्धी व्यवस्था, पार्टी सदस्यको सङ्ख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ’ डा. अधिकारीले भन्नुभयो,  ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा सङ्गठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’

एमालेले पठाएको अपानीमा केन्द्रीय कमिटी, तीन वटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचितसहित ४६४ जना प्रतिनिधि रहने छन् । जसअनुसार केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोग २९, निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुने छन् । 

यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेशसहित) का कमिटीबाट कम्तिमा दुई जना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले सङ्घीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १३५ जना प्रतिनिधि सहभागी हुने छन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनिका एक जना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्ने छन् । 

सङ्घीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानीमा भनिएको छ  ‘न्यूनतमा १ हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८–८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने छन् । सोभन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने छन् ।’ 

अपानीका अनुसार स्वदेशका विशेष जिल्ला अन्तर्गत १ हजार २०० जनासम्म पार्टी सदस्य बराबर कम्तिमा एक महिलासहित तीन जना निर्वाचित प्रतिनिधि रहने छन् । (सदस्य सङ्ख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो सङ्ख्यामा कम्तिमा एक तिहाइ महिला सुनिश्चित गर्ने) यसरी विशेष जिल्ला अन्तर्गत करिब ४७ जना निर्वाचित प्रतिनिधि सङ्ख्या रहने जनाइएको छ। 

एमाले महाधिवेशनमा दलित आरक्षण अन्तर्गतका प्रतिनिधि कम्तिमा ८१ जना रहने छन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीन जना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तिमा एक जना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । 

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जसअनुसार हरेक भूगोलका सात वटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तिमा तीन जना महिलासहित ७ जनाका दरले प्रतिनिधिहरू निर्वाचित भएर आउने छन् । 

एमालेका प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तिमा तीन जना महिलासहित १० जना, अमेरिका, क्यानाडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिलासहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानीमा जनाइएको छ । 

केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरू मध्येबाट एक–एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । यस्तै, केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ। पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसूची एक र महासङ्घीय संरचनामा भएका जनसङ्गठनबाट कम्तिमा तीन जना महिलासहित ७ जना प्रतिनिधि हुने छन् । 

यस अन्तर्गत खेलकुद महासङ्घ, किसान महासङ्घ, अनेरास्ववियु, युवा सङ्घ नेपाल लगायतका ११ जनसङ्गठन छन् । अनुसूची २ अन्तर्गतका १२ वटा जनसङ्गठनबाट कम्तिमा दुई महिलासहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ ।  ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसङ्गठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन्’ पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भन्नुभयो । 

यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको सङ्ख्या २ हजार ०२६ जना हुने छन् । ्एमालेको विधानअनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जसअनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको सङ्ख्या २ हजार १२७ हुने एमालेले जनाएको छ ।