राजन रावत
हुम्ला, कात्तिक २० गते । सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहण अगाडि बढाउने कार्य अन्यौलमा परेको छ । सो कार्यका लागि आवश्यक बजेटको व्यवस्था यस आर्थिक वर्षमा गरिएको भए पनि त्यसका लागि आवश्यक पर्ने डिपिआर तयार पारिए तर स्वीकृत नगरिएको कारण काम अगाडि बढाउन समस्या देखिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारका लागि डिपिआर तयार पारेको तर त्यसलाई स्वीकृत नगरिएको कारण आवश्यक विमानस्थल विस्तारको काम अगाडि बढाउन समस्या भएको जग्गा खरिद समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
बजेटको व्यवस्था गरी अख्तियारी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखालाई आएको विमानस्थल विस्तारका लागि जग्गा खरिद व्यवस्था अगाडि बढाउन लागिएको बेला प्राधिकरण केन्द्रका अधिकारीले डिपिआर स्वीकृत नभएको कारण सो कार्य अगाडि नबढाउन जानकारी गरेपछि सो कार्य अन्यौलमा परेको उहाँले बताउनुभयो ।
जग्गा खरिद कार्य अगाडि बढाउनु भन्दा डिपिआर पारित गराउने कार्य गर्न ती अधिकारीले सुझाव दिनु भएको उहाँँले बताउनुभयो । प्राधिकरणको सिमकोट शाखाले जग्गा खरिद कार्य अन्तिम चरणमा पुर्याएर सूचना प्रकाशन गर्ने अवस्थामा पुगेको थियो । उहाँले अब डिपिआर पारित गराउनु मुख्य काम बाँकी रहेको र त्यो कार्य गरउने कार्यमा लाग्न आवश्यक देखिएको उहाँले बताउनुभयो ।
यसअघि लामो समयदेखि बजेटको अभावका कारण रोकिएको सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्यका लागि प्राधिकरणले गत साउन ३० गते आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनीयोजित गरि कार्य अघि बढाउन आदेश दिएको थियो । बिमानस्थल बिस्तारका लागि साठी दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्नेछ । जग्गाको नाँपजाच समेत भई सकेको छ । विमानस्थल बिस्तारका लागि आवश्यक पर्ने जग्गाको मुल्य जिल्ला दररेट अनुसार प्रतिबर्ग मिटर छ हजार दुई सय रुपियाँ रहेको छ । सो क्षेत्र भित्र नौ वटा भवन समेत अधिग्रहण हुनेछन ।
यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पुरा गरि सकेको थियो । यो काम सम्पन्न भए हाल बिमानस्थलको लम्बाईमा तीन सय मिटर बृद्धि हुने छ । पर्यटकीय सिजनमा उडानको चाप पनि ब्यवस्था हुनेछ । हाल सिमकोट बिमानस्थलको लम्बाई घेरवार सहित सात सय मिटर लम्बाई रहेको छ भने रन वे साँढे छ सय मिटर लम्बाई छ । अब विस्तारपछि बिमानस्थलको लम्वाई घेरवारसहित एक हजार दश मिटर लम्बाई रहने छ भने साँढे नौ सय मिटर लम्बाई रन वेको हुनेछ ।
विमानस्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य राखिएको छ । हाल चौधदेखि अठार सिटे साना जहाज बिमानस्थलमा अवतरण गर्दै आएका छन् । कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश विन्दुका रूपमा रहेको सिमकोट विमानस्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने विश्वास गरिएको छ ।