नेपालमा सहस्रौँ वर्षदेखि मनाइँदै आइरहेका अनेकौँ चाडपर्वमध्ये सर्वश्रेष्ठ, सर्वोत्तम र सर्वतोमुखी चाड तिहार हामीमाझ आइरहेको छ । सफासुग्घर घरमा मात्र लक्ष्मी आउँछिन् भन्ने धार्मिक मान्यता अनुरूप घरआँगन यस बेला लिपपोतले सुन्दर बनाइएका हुन्छन् ।
दीपावलीका अवसरमा बिजुली बत्ती, मैनबत्ती र दियोको झकिझकाउ र सजावटले धरती नै स्वर्ग जस्तो आभास हुन्छ । यस पर्वले बाल, युवा, वृद्ध सबैमा नवउत्साह र खुसीको उमङ्ग थप्छ । यसरी एकातिर बाहिरी चमकले बालबालिकालगायत सबैलाई मनोरञ्जन दिइरहेको हुन्छ भने अर्कोतिर गृहिणीहरू स्वादिला सेलपुरी र विविध प्रकारका मिष्ठान्न बनाउनमा तल्लीन रहन्छन् ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन धुमधामले मनाइने पर्व तिहार दसैँपछिको अर्को महत्वपूर्ण चाड हो । तिहार पर्व काग, कुकुर, लक्ष्मी, गाई, गोरु, गोवद्र्धन र भाइको पूजा गरी मनाइन्छ । पञ्चक लाग्नेबित्तिकै दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्तोस्वरूप शुद्ध पान, फूल एवं सगुन सुपारीले निम्ता गर्छन् ।
तिहार पर्व कसरी सुरु भयो भन्ने सन्दर्भमा विभिन्न आख्यान छन् । असुर कुलका राजा बलिले तीन पाउ भूमि माग्ने वामनावतार भगवान् विष्णुलाई सन्तुष्ट पारेपछि बलि राजालाई सुतल नामक लोकको राजा बनाएर विष्णुले वरदान माग्न भन्दा बलिले चार महिना आफूलाई दर्शन दिन सुतलमा बसिदिनुपर्ने वर मागे । वामनरूपी विष्णुले आषाढशुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म बलिको पालेघरमा गएर सुत्ने तथा कार्तिक कृष्ण पक्षको अन्तिम पाँच दिन बलि राजाले तिनै लोकको राज्य भोग गर्न पाउने वरदान पाए ।
यसपछि बलिको राज्य भन्ने चिनाउन पाँचै दिन दीपावलीले घर, मन्दिर, प्रमुख बाटो आदि झकिझकाउ पार्नुपर्ने, यसो गरेमा लक्ष्मी खुसी भएर दीपावलीको उत्सव मनाउनेको घर घरमा बस्ने, यमराज पनि खुसी हुने मान्यता रहन गयो । त्यस बेलादेखि नै प्रत्येक वर्ष तिहारका पाँच दिन बलिराजाको राज्य मान्ने प्रथा चल्यो ।
इन्द्रादि दस दिक्पालले बलिराजालाई राज्य गर्न छाड्नुपर्ने हुँदा यमराजले पनि वर्षको पाँच दिन बिदा पाउने भए । बिदाको दिनमा कहाँ के गरेर बस्ने भनेर विचार गर्दा उनले सधैँ दाजु आउनु भएन भनेर पीर गर्ने बहिनी यमुनाको घरमा गएर पाँच दिन गुजार्ने विचार गरे । यसरी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरी बसेको अवसरमा बहिनी यमुनाको सद्व्यवहारबाट प्रसन्न भएका यमराजले उनलाई मनले चिताएको वरदान माग्न आग्रह गरेपछि यमुनाले हरेक वर्ष यिनै दिनमा मलाई भेट्न आउनुहोस् भनी वरदान मागिन् ।
साथै यमुनाले हरेक चेलीबेटी र माइतीबिचको सम्बन्ध तथा प्रेम सदैव अटल र अमर रहोस्, चेलीबेटीको पूजाआजाको प्रभावबाट दाजुभाइको आयु, आरोग्य र कीर्ति वृद्धि होस् भनी आशीर्वाद पनि मागिन् । यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउने, चेलीबेटी र नारीको सदैव उन्नति हुने तथा कीर्ति फिँजिने वरदान प्रदान गरी यमलोक प्रस्थान गरेको सन्दर्भ यस चाडसँग जोडिएको छ ।

तिहारको पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाउने चलन छ । अरू बखतमा मानिसलाई अजम्बरी हुने मौकाबाट वञ्चित हुने गरी अमृतको घडा घोप्ट्याइदिने चाण्डाल भनी अशुद्ध चरो कागलाई यस दिन ‘यमदूत’ र ‘यमराजको सन्देशवाहक’ को प्रतीक मानी ठुलो सम्मान दिएर पूजा गरिन्छ । बिहान दुनो या बोतामा खानेकुरा राखी कागलाई खुवाउने गरिन्छ । पहिले पहिले परेवाले जस्तै कागले पनि सन्देश वाहकका रूपमा चिठीपत्र आदानप्रदान गर्ने काममा सघाउ पु¥याउँथ्यो भन्ने मान्यतासमेत छ ।
यसबाहेक कागले हाम्रो नजिक रही घरवरिपरिका फोहोरमैला, सडेगलेका, मरेका मुसादेखि विभिन्न वस्तु खाई वातावरण स्वच्छ राख्न मद्दत गरिरहेका हुन्छन् । साथै अप्रिय वा विनाशको घटना हुन थाल्यो भने कागले सङ्केत पनि दिने मान्यता रहिआएको छ ।
यमपञ्चकको दोस्रो दिन अर्थात् चतुर्दशीका दिन नरक चतुर्दशी एवं कुकुर तिहार पर्दछ । यस दिन अङ्गस्नान र बत्ती बगाउने कामले पहिलो स्थान राख्दछ । यस दिन अरुणोदयअगाडि नै प्रत्युषकालमा तिलको तेलले स्नान गर्दा यमलोकमा जानु पर्दैन भन्ने कथन छ । यद्यपि कात्तिक महिनामा तेल लगाउनु हुँदैन तर पनि यो तिथिमा शरीरमा तेल लगाएर स्नान गरिन्छ । जो व्यक्ति यस दिन सूर्याेदयपछि स्नान गर्दछ उसका शुभकार्य नष्ट भएर जान्छन् भन्ने मान्यता छ ।
तेलमर्दन गरेर सकेपछि नदी, तलाउमा तथा ती स्थानमा नमिले मात्र घरमा स्नान गर्ने अनि यमराजको नाममा नदीमा बत्ती बगाउने विधान छ । यस दिन तोकिएका कृत्य सम्पन्न गरी यमराजलाई खुसी पारेर नरकको भय हटाउन सकिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै गरी कुकुरलाई पनि यस दिन ‘यमदूत’ एवं ‘भैरवको वाहन’ को प्रतीक मानी अनेक खानेकुरा खुवाई माला लगाएर पूजाआजा गरी यो पर्व मनाइन्छ ।
वास्तवमा कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । मानिसको मृत्युपछि यमद्वारबाट प्रवेश गर्न कुनै व्यवधान नपरोस् भनी कुकुरको पूजा गर्ने प्रचलन ल्याइएको हो । कुकुर इमानदार घरपालुवा पशु हो । मानिसले आफू जङ्गली अवस्थामा रहँदादेखि नै कुकुर पाल्न थालेको विश्वास गरिन्छ ।
हाम्रा पौराणिक गाथामा पनि कुकुरसँग मनुष्यको सम्बन्ध जोडिएका प्रसङ्ग छन् । महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ ।
तिथिको उतारचढावका कारण यसै दिन लक्ष्मीपूजाको दिन परेको छ भने भोलिपल्ट कार्तिक कृष्ण औँसीमा गाईतिहार पर्व परेको छ ।
लक्ष्मीपूजाको रात सारा संसारमा लक्ष्मी डुल्छिन् र उज्यालो नभएको घरमा उनी जाँदिनन् भन्ने लोकोक्ति अनुसार प्रत्येक गृहस्थीले आआफ्ना घर लिपपोत गरी शुद्ध पारी तिहारका अरू दिनभन्दा यस दिन बढी बत्ती र अनेक सुगन्धी धूप बाल्दछन् । यसका साथै लक्ष्मीको स्वागतका लागि घरको दैलोसँघार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भ¥याङ आदि ठाउँमा दियो, पाला वा केराका सुप्लामा घिउ, तेल हाली बत्ती बालेर झलमल्ल पारी दीपावली गरिन्छ । यसैले वर्षको चार रात्रिमध्ये यो रातलाई सुखरात्रि भनिन्छ ।
लक्ष्मीपूजाको प्रसङ्गमा यस दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । समुद्रकी छोरी, विष्णुकी शक्ति लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्ने तथा जुवा पनि खेल्ने चलन छ । यस दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पनि पूजा गरिन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने मान्यता छ ।
धन प्राप्त गर्ने उद्देश्यले धनवान्देखि धनहीन सबैले यस दिन भक्तिपूर्वक लक्ष्मीको पूजा गर्छन् । यो रात लक्ष्मी आकाशमा विचरण गर्ने र आफ्ना भक्तलाई ऐश्वर्य प्रदान गर्ने हुनाले मानिसहरू रातभर जाग्राम बस्न तम्सन्छन् पनि ।
लक्ष्मीपूजाको साँझ समूह समूहमा जम्मा भई घर घर गएर सामूहिक रूपले भट्याएर भैली खेलिन्छ । भैली खेल्दा बलि राजाले पठाएको भनेर बलिराजाको स्मरण गर्ने गरिन्छ । भैली खेल्ने परम्पराको पनि एउटा किंवदन्ती छ । असुर कुलका राजा बलिले एक पटक तिनै लोकमा राज्य गर्दथे । त्यस बेला एक ठुलो यज्ञ (अश्वमेध यज्ञ) गरी जसले जे मागे पनि दान दिने व्रत लिएर उनी बसेको बेलामा वामन रूपमा ब्राह्मण भेषधारी विष्णु उपस्थित भएर आफूलाई तीन पाउन जमिन चाहिएकाले माग्न आएको खुलासा गरे । दानवीर बलिराजाले त्यो सहजै स्वीकार गरे ।
अन्ततः विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी, अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । विष्णुले खुसी भएर बलिराजालाई सुतल नामक लोकको राजा बनाइदिएर वरदान माग भने । बलिले विष्णुलाई म मत्र्यलोक जान चाहन्छु भनी वरदान मागे । विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मत्र्यलोकमा आउन पाउने वरदान दिए । उनी मत्र्यलोक आउने भनेपछि पाँच दिन मत्र्यलोक झकिझकाउ बनाउँदै नाचगान गरी देउसीभैलो खेल्न सुरु गरिएको हो भन्ने किंवदन्ती छ । यसैले भैलो खेल्दा ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाएको’ भन्दै बलिराजाले पठाएको प्रसङ्ग जोड्दै उनको गाथा गाउने गरिन्छ ।
तिहारको तेस्रो दिन अर्थात् औँसीको दिन गाईको पूजाआजा गरिन्छ । गाईको हरेक अङ्गमा तेत्तिसकोटी देवीदेवतासहित धनलक्ष्मीको बास हुन्छ भन्ने मान्यतास्वरूप गाईलाई गौमाताका रूपमा पूजा गरिन्छ । गाईको दूध अत्यन्तै पौष्टिक हुन्छ । बालबच्चादेखि सबैलाई गाईको दूधबाट बन्ने दही, घिउ आदि पदार्थ उत्तिकै पौष्टिक हुन्छन् । गाईको गहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ । शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ ।
पञ्चामृतमा पनि मह तथा सक्खरका अतिरिक्त अरू तीन वस्तु गाईकै दूध, दही तथा घिउ मिसाइन्छ । गाईको मलले माटोको उर्वराशक्ति बढाउँछ, त्यसैले पनि कृषकले गाई पाल्छन् । यसरी गाईप्रति कृतज्ञता ज्ञापन गर्न यस दिन गाईको पूजा गरिन्छ । पूजा गर्दा टीका तथा मालाको अतिरिक्त चामलको पिठोको छाप बनाएर गाईको शरीरभरि लगाइदिएर गाईको ढोग गरी यो पर्व मनाइन्छ । सक्नेले यस दिन गाईको टाङ्मुनि छिरेर आशीर्वाद पनि लिने गर्दछन् ।
यमपञ्चकको चौथो दिन गोरु तिहार, हलतिहार वा गोवद्र्धन पूजा गरेर यो पर्व मनाइन्छ । पौराणिक कथानुसार गोकुलनजिकै गोवद्र्धन पर्वत थियो । श्रीकृष्ण गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । श्रीकृष्णले एकदिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवद्र्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा बताउँछन् र सबै जना त्यसै गर्न राजी हुन्छन् । अनि गोवद्र्धन पर्वतको पूजा सुरु गरिन्छ ।
आफ्नो सट्टा गोवद्र्धन पर्वतलाई पूजा गरेको देखेर इन्द्रलाई खपिनसक्नु रिस उठ्छ । रिसाएका इन्द्रले गोकुलमा असिनापानीको मूसलधारे वर्षा गराउँछन् । गोकुलका ग्वाला बिलखबन्दमा पर्छन् । अनि श्रीकृष्णले गोवद्र्धन पर्वतलाई दाहिने हातको कान्छी औँलाले उचालेर सबै गोकुलवासीलाई आश्रय दिन्छन् । लगातार सात दिन, सात रातसम्म पानी ओइ¥याउँदा पनि गोकुलका गोपाललाई गलाउन नसकेपछि अन्त्यमा आफ्नो हार मानी आफूले गरेको गल्तीका निमित्त इन्द्र श्रीकृष्णसमक्ष झुक्दछन् र क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवद्र्धन पूजा आरम्भ भएको हो । त्यस दिन घर घरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।
त्यसै दिन नेपालीले सालभरि हलो तानी अन्न उब्जाएर मानिसको पालन गर्ने गोरुको पनि पूजा गर्दछन् । यसरी प्रकृतिलाई संरक्षण तथा जोतखन गर्ने हिसाबले गोरु र बहरको पूजा गरिएको हो । यसै दिन दानी बलिराजाको पनि पूजा गरिन्छ । राजा बलिले विष्णुलाई यसै दिन शिर नै दिएका थिए । शिर समर्पण गर्ने बलिले विष्णुबाट जति वरदान र ऐश्वर्य पाएका थिए त्यस्तै तिमी पनि दान गरेर आशीर्वाद थाप भन्ने देउसीको कथन छ । यसैले देउसीरेहरू यस दिन बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउँदा ‘देउसीरे’ भन्ने गर्दछन् ।
यमपञ्चकको पाँचौँ दिन भाइटीका पर्दछ । तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यस पर्वलाई दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मानका साथमा पूजा गरेको धार्मिक महìव र भावना यस पर्वमा अन्तर्निहित छ । यस दिन दिदीबहिनीले यमुनासँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने विधान छ । दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् । सप्तरङ्गी टीकाको साथ दुबो, मखमली तथा सयपत्री र गोदावरी फूलको माला लगाइदिन्छन् । सो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ ।
उनीहरूले टीका लगाइसकेपछि दाजुभाइलाई मिठाई, फलफूल एवं वस्त्र आदि प्रदान गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई विभिन्न उपहार, वस्त्र तथा दक्षिणा दिन्छन् । समग्रमा तिहार पर्वले आपसी मेलमिलाप, सद्भाव, स्नेह, प्रेम र प्रकृति पूजा सिकाउँछ ।
–युवामञ्च