• १९ कात्तिक २०८२, बुधबार

वीर सपुत दिपा चन्द रजवार

blog

नेपालका वीर सपुतहरूको इतिहास पर्गेल्ने क्रममा बैतडी जिल्लाको नाम पनि आउँछ । बैतडीका स्थानीय जनमनमा देवत्व स्वरूप ग्रहण गरी आफूलाई अमर बनाएका योद्धाबाट बैतडेली सपुतहरूको महिमागान हुने गर्छ ।  वर्तमानसम्म बैतडी जिल्लाले थुप्रै अमरवीर जन्माएको छ । तिनै वीरमध्ये एक ऐतिहासिक व्यक्तित्वको नाम हो– दिपा चन्द रजवार ।

हालको सुर्नया गाउँपालिका–५, स्वालीमा उनको जन्म भएको थियो । सन् १८१४ मा भएको नालापानी युद्धमा गोरखाली सेना अङ्ग्रेजकाविरुद्ध युद्ध लड्न पश्चिमको बाटो हुँदै अगाडि बढेको थियो । पाटनको सुङौणकोटभित्रका दिपा चन्द रजवारलाई गोरखाली सेनाले अङ्ग्रेजविरुद्धको नालापानी युद्धमा लड्नका लागि बोलायो । उनमा बलवान् र लडाकु स्वभाव थियो । यिनी युद्धमा सरिक भइदिए भने अङ्ग्रेजसित लड्न र युद्ध जित्न सजिलो हुने अनुमान गोरखाली सेनाको थियो । उनी निडर र साहसी योद्धा थिए ।

बोलाइएपछि उनी अङ्ग्रेजका विरुद्ध नालापानी युद्धमा गोरखाली सेनासँगै जान तयार भए । उनी युद्ध अवधिमा आवश्यक पर्ने सातु सामल, हातहतियारलगायतका सामग्री तयार पार्न लागे । 

युद्धमा मरिन्छ कि बाँचिन्छ भनेर उनको घरपरिवार र आफन्तहरू चिन्तित भए । उनलाई युद्धमा नजान आफन्तले आग्रह पनि गरे तर उनले कसैको सुन्न चाहेनन् । उनी विवाहित तर निःसन्तान थिए । आफ्नी रानीले जति नै बिलौना गरे पनि उनी नालापानी जाने आफ्नो निर्णयमा अडिग रहे । 

उनले घर छाडेर युद्ध जाने बेलाको चैत यसरी गाउने गरिन्छ :

रण जिती आउला पुइ पुत पाउँला

पाटन मन्दिरमा हिङला चढाउँला 

सुबेत खेतको भात पकाइ खाउँला

स्वालीमा फर्केर महल बनाउँला 

काटी हाल्यो केलणी फटकी झालो पात

छाण रानी मेरा चिउणीको हात । ।


यो चैत बैतडेली भाषामा गाउने गरिन्छ । यसको भाव यस्तो हुन्छ : जब दिपा चन्दले आफ्नो घर छाड्न लागे तब उनकी रानीले रुँदै युद्धमा नजान भनेर आग्रह गर्न लागिन् । “हाम्रो कुनै सन्तान छैन । निःसन्तान छौँ ।” भन्दै रोक्न थालिन् । रानीको यस्तो आग्रहपछि उनले आफ्नी रानीलाई सम्झाउँदै भने “तिमी चिन्ता नगर रानी । म युद्ध जितेर आएपछि सन्तान पाउँला । पाटनको मन्दिरमा हिङलो (ठुलो फलामको पिङ) चढाउँला । सुबेत (ठुलो खेत) खेतको धान कुटेर भात खाउँला । स्वाली गाउँमा ठुलो महल बनाउँला । रानी मेरो चिउँडो नसमाऊ र हात छाड । मलाई युद्धमा जान देऊ ।”

उनी गोरखाली सेनासँगै नालापानीको युद्ध लड्न गए । उनका साथमा उनका सहयोद्धा भगुवा दमाईं, सुना पातर (दमाईं), झुले दमाईं र लक्ष्मण सिंह पनि युद्ध लड्न गएका थिए । नालापानीमा उनी उच्च मनोबलका साथ लडे । उनले युद्धमा विजय हासिल गर्दै छन् भन्ने खबर आउन थाल्यो । यो सुनेर घरमा सबै खुसियाली मनाउन थाले । 

सुर्नया गाउँपालिका वडा नं. ५ बस्ने ७७ वर्षका दलबहादुर चन्दको भनाइमा उनी दुश्मनलाई सिध्याउँदै अगाडि बढ्न थालेका थिए । एकपछि अर्को सफलता हासिल गरिरहेको त्यो खबर एउटा चिठीमार्फत गाउँमा पुग्यो । गाउँवासी खुसीले गदगद भए । उनले चिठीमा लेखेको खबर थियो, “युद्ध जित्नेवाला छौँ । बडादसैँका लागि घटस्थापनाको दिन घर पुगिन्छ । तबसम्म उदयदेव मन्दिरमा चढाउनका लागि हिङलो बनाइराख्नु ।” 

बाजागाजाको बन्दोबस्त पनि मिलाइराख्नु भनेर चिठीमा लेखिएको थियो । त्यसको केही दिनपछि अर्को चिठी आयो । अर्को चिठीमा “युद्ध चलेकै छ एक दुई दिन ढिला हुने भयो हामी घटस्थापनामा आउन नभ्याउने हुनाले महाअष्टमीको दिन मैतोडा पाटनमा आइपुग्छौँ ।” लेखिएको थियो ।

गाउँलेले त्यसै अनुसारको चाँजोपाँजो मिलाए । महाअष्टमीका दिन दिपा चन्द रजवारको भव्य स्वागत गर्न बाजागाजासहित गाउँका सबै मानिस खसरपाटा भन्ने स्थानमा पुगेका थिए । त्यतिबेला अर्को खबरले सनसनी फैलियो । रणमैदानमा बहादुरी देखाउँदै गर्दा दिपा चन्द रजवारले वीरगति प्राप्त गरेको खबर आयो । उनको साथमा गएका भगुवा दमाईं, सुना पातर, झुले दमाईं, लक्ष्मन सिंह सबैले सहादत प्राप्त गरेको खबर फैलियो । 

उनले मन्दिरमा चढाउने भनेर तयारी गराएको हिङलो चढाउने काम अधुरो रह्यो । त्यो हिङलाको साङ्लो आज पनि उदयदेव मन्दिरको आँगनमा रहेको खिराको रुखमा बेरेर राखिएको छ । 

स्थानीय बासिन्दा करन दमाईं भन्छन्, “त्यस खबरले उनको घरपरिवार मात्र नभएर सारा गाउँ नै शोकमा डुब्यो । उनका आफन्त कैयौँ दिन लगाएर नालापानी पुगे । उनले लडाइँ लड्ने क्रममा प्रयोग गरेका हातहतियार ढाल, तरबार, खाणा (भाला) शिरको पाक(पगरी) लिएर उनीहरू फर्किए । ती सबै हातहतियार सुर्नयाको लिस्किटा भन्ने स्थानमा राखिएका छन् । 

अहिले उनलाई उनका परिवार तथा आफन्तजनले देवताका रूपमा पूजाआजा गर्छन् । उनले देवत्व ग्रहण गरेका छन् । दिपा चन्द रजवार मन्दिर निर्माण गरिएको छ । उनका आफन्तजन र परिवारबाट इष्टकुलदेवताका रूपमा उनी पुजिन्छन् । त्यस मन्दिरमा नौ दिनसम्म नवरथा चल्छ । नवौँ दिन ठुलो जात्रा लाग्छ । त्यस दिन बाजागाजा बजाउने र देउडा खेलेर धुमधामका साथ जात्रा मनाइन्छ । 

–युवामञ्च