• ७ जेठ २०८१, सोमबार

सामुदायिक विद्यालयका प्रअको भत्ता वृद्धि

निजीलाई सरकारीसरह तलब दिन निर्देशन

blog

काठमाडौँ, असार १५ गते ।  काठमाडौँका सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता वृद्धि भएको छ । महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकको भत्ता बढाएको हो । 

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार माध्यमिक तह (कक्षा नौदेखि १२) का प्रधानाध्यापकको मासिक भत्ता दुई हजार रुपियाँ पुगेको छ । त्यस्तै आधारभूत तह (कक्षा एकदेखि आठसम्म) का प्रधानाध्यापकलाई मासिक एक हजार रुपियाँ भत्ता दिने निर्णय भएको छ । 

सङ्घीय सरकारले भने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका विद्यालयका प्रधानाध्यापकलाई क्रमशः पाँच सय, तीन सय र दुई सय रुपियाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ । सरकारले दिएको उक्त भत्तामा आफूहरूले थपेर दिन लागिएको महानगरपालिकाले जनाएको छ । 

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता बढाउने विषय महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा समेत उल्लेख गरेको थियो । बजेटमार्फत महानगरपालिकाले शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा नियमित क्रियाकलापका लागि एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रुपियाँ रकम विनियोजन गरेको छ । 

शिक्षा क्षेत्रका लागि छुट्याइएको यो रकम क्षेत्रगत रूपमा सबैभन्दा धेरै हो । आउने आर्थिक वर्षदेखि महानगरपालिकाले शिक्षकको तलब भत्ता पनि मासिक रूपमै उपलब्ध गराउने भएको छ । मासिक रूपमा शिक्षकलाई तलब भत्ता उपलब्ध गराउन महानगरपालिकाले ३० करोड रुपियाँको शोधभर्ना कोष स्थापना गरेको छ । सङ्घीय सरकारले भने शिक्षकलाई हालसम्म चौमासिक रूपमा तलब भत्ता दिँदै आएको छ ।

सरकारीसरह दिन निजीलाई निर्देशन

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई सरकारीसरह तलब भत्ता उपलब्ध गराउन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । सरकारी नियम अनुसार सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक तह, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकको मासिक सुरुको तलब क्रमशः ४३ हजार ६८९, ३४ हजार ७३० र ३२ हजार ९०२ रुपियाँ रहेको छ । 

निजी विद्यालयमा पनि सोही अनुसार तलब उपलब्ध गराउन निर्देशन दिँदै महानगरपालिकाले तलब भत्ता दिन आनाकानी गर्ने विद्यालयबारे उजुरी दिन शिक्षक तथा कर्मचारीलाई महानगरपालिकाले अनुरोध गरेको छ । शिक्षकबाट बेनामे उजुरी नलिने बताउँदै शिक्षा अधिकारी कोइरालाले भन्नुभयो, “आफ्नै नाम लेखेर उजुरी दिएका शिक्षकको रोजगारी सुरक्षाको सुनिश्चित हामी गरिदिन्छौँ । आफैँले पढाएको विद्यालयबारे उजुरी दिँदा रोजगारी गुम्ला कि भन्ने चिन्ता शिक्षकले गर्नु पर्दैन ।” काठमाडौँ महानगरपालिकाभित्र ५०४ वटा निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

कक्षा ११ को शुल्क प्रस्ताव पेस गर्न निर्देशन

यसै गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ मा विद्यार्थीसँग लिइने शुल्क विवरण पेस गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयले विद्यार्थी भर्ना गर्दा एक प्रकारको शुल्क तोक्ने र भर्ना भइसकेपछि थप शीर्षकमा मनपरि शुल्क लिने गरेको गुनासो आएपछि महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । 

महानगरपालिकाले दिएको निर्देशन अनुसार कक्षा ११ को पढाइ सञ्चालन गरिरहेका विद्यालयले विद्यार्थीसँग शुल्क लिने शीर्षक, कुन शीर्षकमा कति शुल्क लिने हो भन्ने विषय स्पष्ट खुलाउनुपर्ने छ । विद्यार्थीले भर्ना हुनुअघि नै शुल्कबारे स्पष्ट जानकारी पाऊन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको महानगरपालिकाले जनाएको छ । 

गोकर्णेश्वरले माग्यो स्पष्टीकरण

आफूले दिएको निर्देशन अवज्ञा गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ४३ वटा विद्यालयलाई स्पष्टीकरण सोधेको छ । चालु शैक्षिक सत्रमा प्रयोग गरेको पाठ्यपुस्तक, विद्यार्थीसँग लिइएको शुल्क, छात्रवृत्तिलगायतका विवरण पेस गर्न उक्त नगरपालिकाले आफू मातहतका सम्पूर्ण संस्थागत विद्यालयलाई निर्देशन दिएको थियो । 

तर, उक्त निर्देशनको अवज्ञा गर्दै अहिलेसम्म ४३ वटा विद्यालयले कुनै पनि विवरण पेस नगरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणि शर्माले जानकारी दिनुभयो । सोमबार फेरि पत्राचार गरेर यसअघि नगरपालिकाले माग गरे अनुसारको विवरण पेस नगर्नुको कारणसहित सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिइएको शर्माले बताउनुभयो ।

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।