काठमाडौँ, असोज ८ गते । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि लैनचौरस्थित केशरमहलमा कार्यकक्ष र आवास एकै साथ व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार मन्त्री पुन मङ्गलबार साँझदेखि नै केशरमहलमा बस्न थाल्नुभएको छ । सिंहदरबारभित्र रहेको मन्त्रालयको भवन असोज २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि तत्कालका लागि मन्त्रालयको काम केशरमहलबाट सुरु गरिएको हो ।
मन्त्री पुनले सोमबार केशरमहलको कार्यकक्षबाटै कार्यभार समाल्नुभएको थियो । कार्यभार सम्हाल्ने क्रममा उहाँले काम जहाँ हुन्छ, त्यहीँ सुत्ने आफ्नो बानी रहेको बताउँदै मन्त्री पदमा रहुन्जेलसम्म आफूलाई सुत्ने, बस्ने व्यवस्था पनि केशरमहलमै मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री हुनुअघि उहाँ कीर्तिपुरस्थित राष्ट्रिय अविष्कार केन्द्रमा बस्दै आउनुभएको थियो । मन्त्री नियुक्त भएपछि सोमबार पनि उहाँ केन्द्रमै बस्नुभएको थियो । मन्त्रीकै निर्देशन अनुसार मङ्गलबारदेखि भने केशरमहलमै कार्यालयसहित आवासको पनि व्यवस्था मिलाइएको हो ।
मन्त्रालयमा मन्त्री पुनका लागि कार्यकक्षनजिकै एउटा सुत्ने कोठा तथा एउटा भान्साको व्यवस्था गरिएको छ । साथै उहाँको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीका लागि पनि आवास व्यवस्था मिलाइएको मन्त्रालयका उपसचिव सुशीला अधिकारीले बताउनुभयो ।
केशरमहलमा शिक्षा मन्त्रालयले ठाउँ उपलब्ध गराएको भए पनि आवासका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा सजावटका काम भने सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको हो । सोही कार्यालयले आवासका लागि आवश्यक पर्ने खाट, लत्ताकपडा तथा भान्साका लागि आवश्यक सामग्री मिलाएको हो ।
पुनले हालसम्म सचिवालयमा कर्मचारी नियुक्त गर्नुभएको छैन । हाललाई भान्सामा काम गर्नका लागि मन्त्रालयकै कार्यालय सहयोगी खटाइएको छ । शिक्षा मन्त्रालयकै स्वामित्वमा रहेको केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमनको कार्यालय रहेका छन् । हाल ती कार्यालयको स्थानलाई खुम्च्याएर मन्त्रालयका लागि पनि स्थान जुटाइएको हो । जसकारण हाललाई काम चल्ने गरी मात्रै मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारीका लागि स्थानको प्रबन्ध मिलाइएको छ ।
शिक्षा मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो । जेनजी समूहको आगजानी तथा तोडफोडबाट बिग्रेका सिंहदरबारको भवन प्रयोग गर्न मिल्ने भएपछि फेरि त्यहीँ सर्ने मन्त्रालयका सचिव चूडामणि पौडेलले बताउनुभयो ।
मन्त्रीद्वारा तीन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्ट मङ्गलबार मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न निर्देशन दिइएको मन्त्री पुनले बताउनुभएको छ ।
यससँगै मन्त्री पुनले मङ्गलबारै सबै विश्वविद्यालयलाई परीक्षा सकिएको बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिँदै समयमै परीक्षाफल प्रकाशन नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिदिनेसमेत बताउनुभएको छ । हाल केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउने गरेका छन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुख नकाटी) सफा सुन्दर बगैँचासहित फुटपाथ बनाउन निर्देशन दिनुभएको छ ।