विश्वमा पत्रिका प्रकाशन आरम्भ भएको करिब दुई शताब्दीपछि मात्रै नेपालमा पत्रकारिताको जग बसेको थियो । १९५५ सालमा पहिलो पटक ‘सुधासागर’ नामको पत्रिका प्रकाशन आरम्भ भएपछि नेपालमा पत्रकारिताको औपचारिक सुरुवात भएको मानिन्छ । यद्यपि त्योभन्दाअघि नै भारतबाट नेपाली भाषामा ‘गोरखा भारत जीवन’ नामको नेपाली भाषाको पत्रिकाको सुरुवात भइसकेको थियो तर पनि नेपालबाटै प्रकाशन भएका कारण ‘सुधारसागर’ लाई पहिलो पत्रिका मानिएको छ ।
‘सुधासागर’ लाई साहित्यिक पत्रिकाका रूपमा प्रकाशन आरम्भ भएको मानिन्छ । यस विषयमा विभिन्न पुस्तकमा उल्लेख गरिएको भए तापनि योभन्दा बढी जानकारी यस पत्रिकाका बारेमा हालसम्म पाउन सकिएको छैन । यस अर्थमा नेपालमा छापा माध्यमको मात्रै होइन, पत्रकारिताको जग बसाल्ने श्रेय गोरखापत्र र यसका सहप्रकाशनलाई नै जान्छ । नेपालमा मात्रै होइन, विश्वमा पनि आधुनिक पत्रकारिताको जग छापा माध्यमले नै बसालेको थियो । अर्थात् विश्वमा आधुनिक पत्रकारिता छापा माध्यमको सुरुवातबाटै उदाएको हो भन्नेमा दुईमत छैन ।
गोरखापत्रको शताब्दी लामो गौरवमय इतिहासले गर्दा पनि हुन सक्छ, पत्रिका भनेकै गोरखापत्र नै हो भन्ने बुझाइ गाउँसहरमा यदाकदा अझै पनि सुन्न पाइन्छ । यद्यपि अहिले हाम्रोसामु सात सयभन्दा बढी दैनिक पत्रिका प्रकाशन भइरहेका छन् भने साप्ताहिकसमेत गणना गर्दा एक हजारको हाराहारी पुग्छन् । तैपनि गोरखापत्रको महत्व भने सदाबहार छ । सतही रूपमा हेर्दा यो पनि अन्य आमपत्रिका जस्तै हो भन्ने धेरैलाई लाग्न सक्छ । यहाँको सम्पादकीय नीति, समाचार संरचना, शैली र प्राथमिकतालाई मिहिन ढङ्गले केलाउने हो भने अन्य सञ्चार माध्यमको भन्दा गोरखापत्रको फरक स्वरूप सहजै देख्न सकिन्छ ।
नेपालको पहिलो नियमित प्रकाशनका रूपमा विसं १९५८ वैशाख २४ गतेबाट ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको थियो । अर्धसाप्ताहिक पत्रिकाका रूपमा विसं २००० असोज २९ गतेदेखि सुरु भएको थियो । त्यतिखेर सातामा मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुँदै यस पत्रिका २००३ पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । दैनिक रूपमा भने गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि प्रकाशन हुन थालेको थियो । विसं १९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक संस्था मानिन्छ । यसलाई नेपाली पत्रकारिताको जिउँदो इतिहाससमेत भन्ने गरिएको छ । नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको महत्वपूर्ण योगदान रहेको छ भन्नेमा फरक मत भेट्न मुस्किल छ ।
नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र नभएर एउटा युगको जीवन्त प्रतिनिधिसमेत बनेको छ । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिकाका रूपमा गोरखापत्र रहेको छ । सवा शताब्दी लामो यात्रा पार गर्न लागेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रवर्धनमा महìवपूर्ण योगदान छ । यद्यपि संस्थाले इतिहासका थुप्रै आरोहअवरोहको सामना नगरेको भने होइन ।
गोरखापत्र दैनिकसँगै २०२५ साल जेठ महिनादेखि साहित्यिक विषयवस्तुलाई मात्रै समेटेर मासिक रूपमा मधुपर्कको प्रकाशन आरम्भ भएको थियो । त्यस्तै २०४५ साल वैशाखदेखि युवालाई लक्षित गरेर मासिक रूपमा युवामञ्च नामको अर्को पत्रिका पनि गोरखापत्र संस्थान अन्तर्गत प्रकाशन भइरहेको छ । त्यसबाहेक २०४७ सालदेखि बालबालिकालाई लक्षित गरेर अर्को मासिक पत्रिकाको प्रकाशन आरम्भ भएको थियो, ‘मुना’ । म्यागाजिन शैलीमा प्रकाशन हुँदै आएका यी तिनै वटा मासिक पत्रिका अहिले पनि विषयगत रूपमा अग्रस्थानमै छन् ।
यस हिसाबले हेर्दा गोरखापत्र र यसका सहप्रकाशन मुलुकको राजनीतिक, साहित्यिक, आर्थिक तथा प्रशासनिक दर्पण जस्तै बनेका छन् । विद्वान्, विज्ञ, विद्यार्थी तथा आमसर्वसाधारणको जिज्ञासाको तृप्ति गर्न यी प्रकाशन समर्थ भएका छन् भन्दा अत्युक्ति हुन्न । यही गरिमाका कारण गोरखापत्र र यसका प्रकाशनलाई केन्द्रित गरेर विद्वान् तथा विद्यार्थीबाट शोध तथा अध्ययन पनि प्रशस्तै भएका छन् । यसरी गरिएको शोध र अध्ययनको सङ्ख्या किटान गर्न मुस्किल छ तर भाषा, साहित्य, कला तथा सामाजिक विषयमा आधारित रहेर अध्ययन अनुसन्धान गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाको अभिलेखमा थुप्रै सामग्री भेटिन्छन्, कुनै डिजिटल फम्र्याटका रूपमा त कुनै भौतिक प्रतिका रूपमा ।
त्रिभुवन विश्वविद्यालयसँगै जन्मिएको मुलुकको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, २०२६ सालमा स्थापना भएको केशर पुस्तकालय, भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, २०१४ सालमा स्थापना भएको र नेपाल सरकारकै मातहतमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, सोसल साइन्सलगायतका पुस्तकालयमा गोरखापत्र र यसका प्रकाशनलाई आधार मानेर तयार पारिएको सामग्री सङ्गृहीत गरेको भेटिन्छन् ।
त्रिवि अन्तर्गत नै रहेको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक अन्य शैक्षिक संस्थाले पनि पछिल्ला दिनमा संस्थान अन्तर्गतका प्रकाशनलाई आधार मानेर खोज तथा अध्ययन गरेको पाइन्छ । राष्ट्रिय अभिलेखालय, संस्थानमातहतमै रहेको पुस्तकालय गएर गोरखापत्रलाई नै अध्ययन मानेर पुस्तक, जर्नल तथा ऐतिहासिक दस्ताबेजलाई पुनर्ताजगी गर्ने क्रम पनि पछिल्ला वर्षमा बढेको पाइन्छ ।
मार्टिन चौतारीमा ४३ अभिलेख
सामाजिक संस्था मार्टिन चौतारीमा मात्रै गोरखापत्रलाई आधार मानेर गरिएको अध्ययनको ४३ वटा अभिलेख रहेको छ । यद्यपि यिनै सामग्रीलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले पनि सङ्ग्रह गरेको छ । एकै प्रकारको सामग्री फरक फरक संस्थाले फरक फरक तरिकाबाट सङ्गृहीत गरेर राखेको पाइन्छ ।
‘नेपाली साहित्यको विकासमा गोरखापत्रको योगदान ः विसं १९५८ देखि १९९१ सम्मको अध्ययन’ शीर्षक राखेर गरिएको अध्ययन सम्भवतः गोरखापत्र संस्थानलाई आधार मानेर गरिएको सबैभन्दा पुरानो र गहन अध्ययन हुनु पर्छ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका लागि लक्ष्मीकान्त पन्थीद्वारा गरिएको यस अध्ययनलाई मार्टिन चौतारीको पुस्तकालयको अभिलेखमा भेट्न सकिन्छ । उक्त अध्ययनमा नेपाली साहित्यको विकास र त्यसको उत्थानमा गोरखापत्रको योगदानलाई मिहिन ढङ्गबाट केलाइएको छ ।
त्यस्तै ‘इन्भेन्टरी म्यानेजमेन्ट : अ केस स्टडी अफ गोरखापत्र कर्पोरेसन’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका लागि सुरेन्द्र श्रेष्ठले अर्को अध्ययन गर्नुभएको छ । यस अध्ययन २०४४ सालमा गरिएको थियो । एमबिए तहको शोधका लागि गरिएको उक्त अध्ययनमा गोरखापत्र संस्थानले संस्थान सञ्चालनको तरिका, संस्थानभित्र उत्पादन हुने सामग्रीको व्यवस्थापन तथा यसका प्रकाशनको वितरण शैलीका बारेमा अध्ययन गरिएको छ । नेपालमा दैनिक पत्रिकाका रूपमा गोरखापत्र मात्रै रहेको त्यतिखेरको अवस्थामा गरिएको यस अध्ययनले नेपालमा छापा माध्यमको दायरालाई थप फराकिलो बनाउन सहयोग पु¥याएको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागद्वारा गरिएको ‘प्रोफिट प्लानिङ इन मिडिया प्रिन्टिङ बिजनेस : अ केस स्टडी अफ गोरखापत्र संस्थान’ शीर्षकमा अर्को अध्ययन गरिएको छ । सञ्चार माध्यम सञ्चालन गर्नु सामाजिक सेवासहितको व्यापार हो भन्ने सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै समग्र आर्थिक तथा प्रशासनिक पक्षलाई सबल बनाउन गोरखापत्र संस्थानले गरेको प्रयासलाई यस अध्ययनले समेटेको छ । त्यस्तै ‘गोरखापत्र ः पत्रिकाको गौरवमय इतिहास’, ‘गोरखापत्रका एक सय एक निबन्ध’, ‘गोरखापत्र : सय वर्षका कविता’ ‘गोरखापत्र : बजेट परिशिष्टाङ्क, २०२६।०२७’ ‘गोरखापत्रमा छापिएका नेवारी लेख’ गोरखापत्रलाई नै आधार मानेर गरिएको शोधका केही उदाहरण हुन् ।
गोरखापत्रको माध्यमबाट नेपाली भाषा साहित्यको विकासमा योगदान दिने महिला साहित्यकारलाई केन्द्रित गरेर गरिएका अध्ययन पनि थुप्रै भेटिन्छन् । यस हिसाबले भन्ने हो भने गोरखापत्रलाई आधार मानेर गरिएको शोधले मुलुकको शैक्षिक, आर्थिक, प्रशासनिक तथा भाषिक र सांस्कृतिक उत्थानमा पनि योगदान पु¥याएको पुष्टि हुन्छ । गोरखापत्रको सम्पादकीयमा प्रयुक्त भाषाको सम्बन्धमा पनि छुट्टै अध्ययन गरिएको छ ।
आर्थिक समाचारका विषयवस्तु
२०४६ सालको बहुदलीय जनआन्दोलनको सफलतासँगै मुलुकमा खुलेका अन्य छापाका सञ्चार माध्यमबाट प्रकाशित भएका विषयवस्तुसँग तुलना गरेर पनि गोरखापत्र माथि प्रशस्तै अध्ययन भएका छन् । नेपाली अखबारमा आर्थिक समाचारका विषयवस्तुबारे गोरखापत्र दैनिक र कान्तिपुर दैनिकसँग तुलना गरेर गरिएको अध्ययन, नेपालको अखबारमा विकास समाचारको विषयवस्तु, क्षेत्र र अभ्यास शीर्षकमा गरिएको अध्ययन पनि यसका केही उदाहरण हुन् । मुलुकका तीन वटा पत्रिकामा प्रकाशन भएका समाचारलाई तुलना गरेर गरिएको योसहित अन्य अध्ययनले सञ्चार माध्यमले समाचारका विषयवस्तुको प्राथमिकता निर्धारण गर्ने तरिकाका बारेमा यस्ता अध्ययनले उधिन्ने प्रयास गरेका छन् ।
त्रिवि पुस्तकालयमा सङ्गृहीत
त्रिवि पुस्तकालयमा सङ्गृहीत भएको ‘इन्भेन्टरी म्यानेजमेन्ट : अ केस स्टडी अफ गोरखापत्र कर्पोरेसन’ ‘नेपाली साहित्यको विकासमा गोरखापत्रको योगदान’ ‘गोरखापत्रको इतिहास’ आदि शोध तथा अनुसन्धानका अन्य उदाहरण हुन् । गङ्गाधर कट्टेलले १९९२ देखि २००७ सालसम्मका गोरखापत्रको अध्ययनलाई समेटेर २०३६ सालमा प्रकाशन गर्नुभएको नेपाली साहित्यमा गोरखापत्रको योगदान, २००७ देखि २०१६ सालसम्मको गोरखापत्रको अध्ययनमा आधारित रहेर रघुनाथ पोखरेलले नेपाली साहित्यमा गोरखापत्रको योगदानको विषयमा आधारित रहेर २०४६ सालमा अध्ययन गर्नुभएको अध्ययन, २०३१ देखि २०४० सालसम्मको गोरखापत्रलाई आधार मानेर गरिएको गोरखापत्रको शनिबारीय परिशिष्टाङ्कसम्बन्धी अध्ययन, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका विद्यार्थीद्वारा गरिएको ‘कोड मिक्सिङ इन दी गोरखापत्र एन्ड कान्तिपुर कम्प्यारेटिभ स्टडी’ पनि गोरखापत्रमाथि गरिएको अध्ययनका अन्य उदाहरण हुन् ।
शोधकर्ता तथा अध्येताका लागि यी सामग्री खोज्नु झन्झटिलो र बोझिलो हुनु स्वाभाविक हो तर बर्सौं पुराना सामग्री अध्येतासामु प्रस्तुत गरिदिएर गोरखापत्र र यसका प्रकाशन धन्यवादका पात्र बनेका छन् । यी अध्ययनले पनि पुष्टि गर्छ कि गोरखापत्रको राष्ट्रियता र राष्ट्रभाषाप्रतिको भूमिका सराहनीय थियो र छ । भाषाको प्रयोग गर्दा गोरखापत्रलाई प्रमुख आधार मान्ने पाठकको सम्बोधनका लागि गोरखापत्रबाट अझै केही योगदान हुनुपर्ने आवश्यकता यी अध्ययनले देखाएका छन् ।
अमेरिका, युरोप तथा अन्य विकसित मुलुकमा अभिलेखलाई राज्यको अमूल्य सम्पत्तिका रूपमा लिइन्छ र यसको संरक्षणका लागि राज्यस्तरबाट ठुलो धनराशि खर्च भएको पाइन्छ । विगतमा गोरखापत्रको प्रकाशकीय र सम्पादकीयले नै त्यतिबेलाको पत्रकारिताको स्वरूप निर्धारण गर्ने कामसमेत गरेको थियो । पछिल्लो समय गोरखापत्र दैनिकले बहुभाषिक पत्रकारिताको अभ्याससमेत सुरु गरिसकेको छ । विसं २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृभाषा) को प्रकाशन सुरु भई हाल ४५ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् । विश्व पत्रकारिताको इतिहासमा गोरखापत्रले आरम्भ गरेको यो नयाँ अभ्यासलाई निरन्तरता दिनु आवश्यकता छ ।
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ शोध सामग्रीका रूपमा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।