काठमाडौँ, फागुन ५ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्र छपाइ कार्य सकिएको छ । मतपत्र छपाइ गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार प्रत्यक्षतर्फका निर्वाचन प्रणालीको मतपत्र छपाइ कार्य सोमबार सकिएको छ ।
यसअघि जनक शिक्षाले छुट्टाछुट्टै रूपमा नमुना मतपत्र र समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छापेको थियो । प्रत्यक्ष, समानुपातिक र नमुनासमेत गरेर चार करोड २१ लाख थान मतपत्र छापिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि दुई करोड तीन लाख २३ हजार थान, समानुपातिक निर्वाचन प्रणालीका लागि दुई करोड आठ लाख ३० हजार थान र दस लाख थान नमुना मतपत्र छापिएको छ । नमुना मतपत्र प्रत्यक्ष र समानुपातिकतर्फका लागि पाँच÷पाँच लाख थान छापिएको थियो ।
केन्द्रले सबै प्रकारका मतपत्र छाप्न ४० दिन लगाएको थियो । सुरुमा ४२ दिनको कार्ययोजना बनाइएको भए पनि दुई दिनअघि नै छपाइ सकिएको केन्द्रले जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रका २५० कर्मचारी खटिएका थिए । केन्द्रका अत्याधुनिक चार वटा छापाखानाबाट दैनिक १० लाखदेखि १२ लाख थान मतपत्र छपाइ भएको थियो ।
छापिएकामध्ये नमुना मतपत्र यसअघि नै जिल्लाहरूमा पठाइसकिएको छ भने प्रत्यक्ष र समानुपातिक प्रणालीको मतपत्र भने ढुवानी भइरहेको छ । हालसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि आवश्यक पर्ने मतपत्र ढुवानी भइसकेको छ । अन्य प्रदेशका मतपत्र प्याकिङको काम भइरहेको छ । अबको १० दिनभित्र सबै जिल्लामा सम्पूर्ण मतपत्र पु¥याइने प्रबन्ध सञ्चालक पौडेलले बताउनुभयो ।
केन्द्रले सुरुमा दुर्गम तथा टाढाका जिल्लाका मतपत्र छपाइ गरेको थियो भने काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ पछिल्ला दिनमा गरेको थियो । ढुवानी गरिएका मतपत्र नेपाली सेनाको सुरक्षामा सम्बन्धित जिल्लामा पठाइएको हो । सेनाले सम्बन्धित जिल्लामा पठाएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने छ र आवश्यकता अनुसार त्यसको सुरक्षा पनि सेनाले नै दिने छ ।
मतपत्र छपाइमा २६ करोड
निर्वाचन प्रयोजनका लागि मतपत्र छपाइका लागि २६ करोड रुपियाँ खर्च भएको छ । जनक शिक्षाका अनुसार निर्वाचन आयोगले जनक शिक्षालाई उक्त रकम उपलब्ध गराएको हो । यो रकम मतपत्र छपाइका लागि आवश्यक पर्ने कागज, मसी लगायतका सामग्री खरिद गर्न प्रयोग गरिएको हो ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार मतपत्र छपाइमा प्रयोग गरिएका कागज र मसीमध्ये केही निर्वाचन आयोगले उपलब्ध गराएको हो भने केही केन्द्र आफैँले जोहो गरेको हो । मतपत्र छपाइ गर्न पाएका कारण यस पटक केन्द्रको आम्दानीमा वृद्धि भएको पनि जनक शिक्षाले जनाएको छ ।