भक्तिविलास पोखरेल
गाईघाट, चैत ३० गते । उदयपुरको त्रियुगा नगरपालिका-९, राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान करिब ९ः३० बजे त्रियुगा नगरपालिका-९, झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स. १० प. ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा. ५ ख. ६१७ नम्बरको टिप्परले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा नं. ९ डाँडाटोल बस्ने ३५ वर्षीय हरी दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा बिहान ९ः५० बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईले बताउनुभयो ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेशकुमार देवको टोली खटिएर उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिप्पर चालक त्रियुगा नगरपालिका वडा नं. ७ होक्से बस्ने २८ वर्षीय आशिष माझीलाई टिप्परसहित नियन्त्रणमा लिइएको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।