• ३० चैत २०८२, सोमबार

मर्स्याङ्दीका किसान सतुवा खेतीमा

blog

मर्स्याङ्दी छिन खोलाका किसानले गरेको सतुवा खेती । तस्बिर :नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत ३० गते । अलैँची खेती गर्दै आएका लमजुङको मर्स्याङ्दी-७, गाउँपालिकाका किसानहरू व्यवसायिक रूपमा सतुवा र टिमुर खेतीतर्फ लागेका छन् ।

सतुवा र टिमुरको मूल्य राम्रो पाउन थालेपछि किसानहरू जडिबुटी खेतीमा पनि अग्रसर भएका हुन् । थोरै श्रम, समय र लगानीमा बढी नाफा हुने भएकाले सतुवा खेती सुरु गरिएको मर्स्याङ्दी छिन खोलाका अगुवा किसान अजय तामाङले बताउनुभयो ।

 उहाँका अनुसार छिन खोलामा मात्र १७ घरपरिवार किसानले सतुवा खेती गरेका छन् । गाउँपालिकाको माथिल्लो क्षेत्रमा सतुवा र तल्लो क्षेत्रमा टिमुर खेती गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अलैँची खेती पनि भइरहेको छ । योसँगै सतुवा र टिमुर खेती पनि गरेका हौँ । सतुवाको बिरुवा र गाना बिक्री राम्रो भएको छ ।”तामाङले मर्स्याङ्दी छिन खोलामा ग्रिन हाउस निर्माण गरेर सतुवा खेती गर्नुभएको छ ।

 दोलखाबाट ८० रुपियाँका दरले ५०० बिरुवा ल्याएर सतुवा खेती सुरु गरेको उहाँले बताउनुभयो । यही बिरुवा उत्पादन गरेर वरपरका किसानलाई बिक्री गर्दै आएको उहाँले बताउनुभयो । बिरुवा रोपेको तीन वर्षमा उत्पादन दिने उहाँले बताउनुभयो ।

ताघ्रिङ, घेम्रु, भुलभुलेका किसानहरू सतुवा खेतीमा लागेका छन् । सिम्पानी, खुदी, भुलभुलेको तल्लो क्षेत्रका किसानले टिमुर खेती सुरु गरेका छन् ।

गाउँपालिका भित्रका ३० जना किसानले लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी दर्ता गरेर ३० रोपनी जग्गामा ३० हजार बिरुवा लगाएर सतुवा खेती सुरु गरेका थिए । 

वडा नं. ४ ताघ्रिङका पूर्व वडाध्यक्ष सुमन गुरुङका अनुसार ताघ्रिङ र भुलभुलेका घरैपिच्छे किसानले सतुवा खेती गरेका छन् । किसानले बनमा उम्रिएका बिरुवा खाजेर पनि सारेका छन् । किसानका अनुसार सुकेको सतुवा प्रतिकिलो २० हजार रुपियाँ मूल्य छ । 

अन्नबालीभन्दा पाँच गुणा आम्दानी हुने भएकाले किसानहरू जडिबुटी खेतीमा उत्साहित छन् । लेकमा वन लसुन खेतीगर्न सके अझ बढी आम्दानी गर्न सकिने मर्स्याङ्दी-८, भुष्मेका किसान होमरास तामाङले बताउनुभयो । वन लसुन प्रतिकेजी ४० हजार रुपियाँ मूल्य छ ।

 अचार, छोप, औषधीलगायतमा प्रयोग गरिने टिमुरको बजार मूल्य पनि उच्च छ । बिरुवा उम्रिएको तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि १०० सम्म बिरुवा उत्पादन हुन्छ । जमिन मुनिको गानो सतुवा हो, यो जडीबुटीका लागि प्रयोग हुन्छ । 

डिभिजन वन कार्यालय लमजुङका वन अधिकृत दीपक पण्डितका अनुसार सतुवा अदुवाजस्तै हो । जति धेरै वर्ष भयो, त्यति धेरै ठुलो र छिप्पिँदै जान्छ । 

चार केजी काँचो सतुवा सुकाउँदै एक केजी बस्छ । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषि, जडीबुटी मर्स्याङ्दी गाउँपालिकाको समृद्धिको आधार भएको भन्दै व्यावसायिक कृषि तथा जडीबुटीका लागि गाउँपालिकाले पनि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । 

कृषकको मिहिनेत अनुसार माग र आवश्यकतालाई सम्बोधन गर्न गाउँपालिका तयार रहेको उहाँको भनाइ छ । किसानको बारीमै पुगेर अलैँची र सतुवा खेतीको निरीक्षण गर्दै गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले लमजुङ जडीबुटी तथा अन्य व्यावसायिक वन पैदावारका लागि प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले तिनलाई स्थानीयको माग र आवश्यकताबमोजिम व्यवस्थित गरिने बताउनुभयो । 

कृषकद्वारा उत्पादित जडीबुटी तथा वन पैदावारको प्रवर्धन गर्न, अवैध वन पैदावार चोरी निकासी नियन्त्रण गर्न प्रदेश सरकारले नीतिगत रूपमै काम गर्ने मन्त्री पौडेलको भनाइ थियो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधीका रूपमा प्रयोग गरिन्छ । 

यसको जरा अदुवाको जस्तै हुन्छ । आर्युवेदका अनुसार पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीका लागि सतुवा खुवाइन्छ ।  

एक हजार आठ सय देखि तीन हजार मिटरसम्मको उचाइमा हुने सतुवाको भारत र चीनमा उच्च माग रहेको किसान बताउँछन् ।