काठमाडौँ, चैत ३० गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र एपिएफ क्लबका आशिफ शेखले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शतकको कीर्तिमान बनाउनुभएको छ ।
जनकपुरमा भएको खेलमा आर्मीका विनोदले कोशी प्रदेशविरुद्ध अविजित रहँदै सर्वाधिक सर्वाधिक एक सय ८९ रन बनाउनुभयो । उहाँले एक सय ५० बलमा २१ चौका र पाँच छक्का हान्नुभयो ।
विनोद प्रधानमन्त्री कपमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्नुभएको छ । उहाँले यसअघि सुदूरपश्चिमविरुद्धको खेलमा पनि शतक प्रहार गर्नुभएको थियो । पहिले ब्याटिङ गर्ने क्रममा आर्मीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ६२ रन बनायो ।
यस्तै वीरगन्जमा एपिएफका ओपनर आशिफ शेखले अविजित दुई सय आठ रन बनाउँदै दोहोरो शतकको कीर्तिमान रच्नुभयो । उहाँले एक ४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्नुभयो ।
आशिफको सानदार ब्याटिङसँगै एपिएफले मधेश प्रदेशविरुद्ध निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ९० रनको योगफल खडा गरेको छ ।
प्रधानमन्त्री कपको इतिहासमा यो सर्वाधिक ठुलो योगफल हो । यसअघि नेपाल पुलिस क्लबको नाममा तीन सय ५५ रनको योगफल रहेको थियो ।